बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०८:३८
वासिङटन डिसी 21:53

कम छैनन् उद्धार र राहतमा खटिनेका पीडा !

इनेप्लिज २०७२ वैशाख २७ गते १३:०६ मा प्रकाशित

साहिला तामाङ

SONY DSCललितपुर, २७ वैशाख । यही वैशाख १२ गतेको भूकम्पले ल्याएको विपत्लाई मध्यनजर राख्दै सबै सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारी पीडितको उद्धार तथा राहतका लागि अहोरात्र खटिरहेका छन्, तर उनीहरुको पीडा सुन्ने कोही छैनन् ।

विपत् व्यवस्थानमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् निजामती कर्मचारीले आफ्नै पीडालाई लुकाएर भए पनि विपत्का बेला एकभई सहयोग गरिरहेका छन् ।

सन्त नेता एवम् पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई आश्रम सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी जवान भोला तामाङको एउटै प्रण छ, राष्ट्रमा विपत् आएको बेला कटिबद्ध भई सहयोग गर्ने । भूकम्पपीडित बनेकाहरुको उद्धार र सहयोग गर्ने जवान तामाङको प्रण हो यो ।

बिडम्वना सशस्त्रका जवान तामाङले यसो भनिरहँदा घरको चिन्ताले उनको मुहारमा भने चिन्ताका रेसाहरु प्रस्टै देखिन्थे । सिन्धुपाल्चोक हैवुङ–३ का तामाङ आफ्ना दुई घर पूर्णरुपमा ध्वस्त हुँदाको पीडालाई सहेर पनि आफ्नो दायित्वलाई जिम्मेवारीपूर्वक निर्वाह गरिरहेका छन् । तामाङको छ जनाको परिवार पालमुनिको पीडा भोगिरहेको छ ।

“परिवारका सदस्यहरुले के खाएका छन्, के लगाएका छन् केही थाहा छैन”– उनले भने । राहतको नाममा अहिलेसम्म एक थान पाल, दुई पाथी चामल र आधा लिटर खाने तेलबाहेक उनको परिवारले अरु केही पाएको छैन ।

भूकम्पले गाउँलाई नै ध्वस्त बनाएको पत्रपत्रिका एवम् टेलिभिजनमा देखिन्छ, तर आफूले प्रत्यक्ष रुपमा देख्न नपाएको उनको पीडा ज्यूँकात्यूँ नै छ । “के गर्नु, बिदा पाए एक पटक घर गएर सबै वस्तुस्थिति बुझ्न पाउँथे”–उनले दुखेसो गरे ।

यस्तै, ओखलढुङ्गा नर्मदेश्वर गाविस–५ का सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार टोपबहादुर श्रेष्ठको कथा पनि कम दर्दनाक छैन । “राष्ट्रलाई आवश्यक परेका समयमा दिलोज्यान दिएर सहयोग गर्नु हाम्रो कर्तव्य हो, तैपनि घरको याद आउनु त स्वभाविकनै हो”–उनले भने, “भूकम्पले घरलाई ध्वस्त बनाएको छ, तर हेर्न जान पाएको छैन ।”

परिवारले राहतका नाममा बस्नका लागि एक थान पाल, दुई पुरिया बिस्कुट र एक प्याकेट चाउचाउभन्दा अरु नपाएको उनले गुनासो गरे । “राज्यका तर्फबाट दिइने सहयोग त आउला, तर अहिले बस्नका लागि बाँसको कटेरो मात्र पनि बनाउन घर जान पाए हुन्थ्यो”, उनी भन्छन् ।

भूकम्पले घर ध्वस्त भएपछि परिवारका सदस्य पालमुनि दिनरात बिताउन बाध्य भएको खबरले आफूलाई मर्माहत गराएको सशस्त्र प्रहरी हवल्दार श्रेष्ठले गुनासो गरे ।

नुवाकोट कल्याणपुर गाविस–६ का भीमसेन कार्कीको पनि जीवन भोगाइ उस्तै छ । ललितपुरको दक्षिणी भेगमा पर्ने भट्टेडाँडा प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक कार्कीले भूकम्पका कारण ध्वस्त भएको घरमा उद्धार कार्यमा खटिएको तर आफ्नो घर पुग्न नपाएको गुनासो गर्नुभयो । “भूकम्पले घर ध्वस्त भएको छ, तर के गर्ने पहिलो कुरा त राष्ट्रलाई विपत् परेको बेला कसरी बिदा माग्ने”– उनले दुखेसो पोखे ।

यस्तै, रसुवा लहरेपौवा गाविस–९ का सशस्त्र प्रहरी जवान राकेशकुमार घिमिरेले पनि आफ्नो दुःख यसरी पोख्नुभयो, “आफ्नो लहरेपौवा गाउँमा रहेका ३५ घर ध्वस्त भएको सुनेपनि प्रत्यक्ष रुपमा आफूले देख्न पाएको छुइन ।”

प्रतिक्रिया