शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १४:२२
वासिङटन डिसी 03:37

संविधान निर्माण र पुनःनिर्माणमा सबै दललाई एकताबद्ध हुन नेता नेपालको आह्वान

इनेप्लिज २०७२ वैशाख २६ गते ८:३५ मा प्रकाशित

madhav-nepalकाठमाडौँ, २६ वैशाख । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भूकम्पका हिसाबले नेपाल उच्च जोखिमको मुलुक भए पनि त्यसलाई सामना गर्ने आवश्यक रणनीति र संयन्त्र बनाउन नसक्दाको परिणति ठूलो जनधनको क्षति भोग्नुपरेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिँदै उहाँले भन्नुभयो–“यद्यपि यस पटकको भूकम्पले राजनीतिक दल र सर्वसाधारण जनतालाई एकताको पाठ सिकाएको छ, त्यो अत्यन्तै प्रशंसनीय छ । ”
राज्यका संयन्त्रले समन्वय गरेर अघि बढ्ने मामिलामा कमजोरी देखिएकाले राहत वितरणमा एकरुपता नदेखिएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको आवश्यकता र मागलाई सम्बोधन गर्ने हिसाबले राहत र पुनःस्थापनाका काम अघि बढाउनुपर्ने औँल्याउनुभयो ।

दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संविधान निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत राजमार्ग निर्माण तथा भूकम्पपछि पुनःनिर्माण गर्दा व्यवस्थित रुपमा बस्ती बसाल्ने काममा सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया