कावासोती, २५ वैशाख । विनाशकारी भूकम्पबाट नवलपरासीमा २३२ घर पूर्ण क्षति र एक हजार १५७ घर आंशिक क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
ढिलो गरी तथ्याङ्क सङ्कलन थालिएकाले क्षतिको वितरण आउन समय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो ।
एक हप्ता अवधिमा भूकम्पका कारण मृत्यु भएकी रुचाङ–२ की सीतामाया सारुको पति ओमानसिंह सारुलाई राहत रकम रु एक लाख र किरिया खर्च रु ४० हजार हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
सारुको वैशाख १२ गते भूकम्प जाँदा भिरबाट ढुङ्गा खसेर लागेपछि घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी भूकम्पमा भौतिक क्षतिको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको र विस्थापित परिवारलाई पुनःस्थापन गर्न पहल भइरहेको जानकारी पनि प्रजिअ मैनालीले दिनुभयो ।
राहतका लागि विद्यार्थीबाट मुुठिदान
भूकम्प पीडितहरुका लागि नवलपरासी मनरीस्थित जनता उच्च माविका विद्यार्थीहरुले मुठिदान अभियान सञ्चालन गरी राहत सङ्कलन सुरु गरेका छन् ।
विद्यालयका शिक्षक सञ्जय शर्माका अनुसार प्रत्येक विद्यार्थीहरुले आफ्नो घरबाट एक छाक बराबरको चामल, दाल, आलुलगायतका खाद्य सामग्री मुठिदान गरी राहत सङ्कलन गरेका हुन् ।
सो विद्यालयमा पाँचसयभन्दा बढी विद्यार्थी छन् । विद्यार्थीले आफूहरुले मात्र नभई सरोवल र मनरी गाविसका घरघरमा समेत मुठिदान अभियान सञ्चालन गरी खाद्य सामग्री सङ्कलन गरेको शिक्षक शर्माले बताउनुभयो ।
विद्यार्थीहरुले मुठिदान सङ्कलन गरेपछि अन्य संस्थाहरुले पनि उक्त विद्यालयमा राहत सामग्री उपलब्ध गराएका छन् । विद्यार्थीहरुबाट सङ्कलित राहत र अन्य संस्थाहरु रामग्राम नन्दन परियोजना, न्यारेप र एमएसडिएसले उपलब्ध गराएका १५ क्विन्टल चाम, चारबोरा चिउरा र दुईसय प्याकेट विस्कुट वितरणका लागि गोरखा जान लागिएको शिक्षक शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया