दुई गाविसको सचिव एउटै भएपछि राहत वितरणमा समस्या

इनेप्लिज २०७२ वैशाख २४ गते ५:३३ मा प्रकाशित

गोरखाबजार, २४ वैशाख । दुई गाविसको सचिव एउटै भएपछि गोरखाको विभिन्न ठाउँका भूकम्प पीडितहरुलाई राहत वितरण गर्न समस्या भएको छ ।

विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक र सँगै रहेको अर्को प्रभावित गाविस लाप्राक गाउँको सचिव एउटै भएकाले राहत वितरणमा ढिलाइ भएको हो ।

साथै निजी क्षेत्रबाट त्यहाँ पु¥याइएका राहत सामग्री सबै वडामा दामासायीरुपमा वितरणमा समस्या भएको हो । त्यस्तै प्रभावकारीरुपमा पीडितलाई राहत सामग्री वितरण भए÷नभएको अनुगमन समेत हुन नसक्दा भूकम्प पीडित भोकभोकै खुल्ला आकासमुनि बस्न बाध्य छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सेनाले भन्नुभयो, “गाविस सचिव एउटै हुँदा राहत वितरण प्रक्रियालाई प्रभावकारीरुपमा अघि बढाउन समस्या भएको छ ।” विपत्तिका बेला एउटै गाविस हेर्न धौ–धौ परेको छ । दुईवटा कसरी भ्याउने ?’ लाप्राक–बारपाक गाविस हेर्दै आउनु भएका चेतप्रसाद अम्गाइँले प्रश्न गर्नुभयो ।

यी दुवै गाविसमा ठूलो परीमाणमा धनजनको क्षति भएको छ । बारपाकमा ६८ जना र लाप्राकमा २५ जनाले ज्यान गुमाएका थिए भन्ने सयौँ घाइते छन् ।

त्यस्तै सिम्जुङ–घ्याच्चोक गाविस शेखरनाथ न्यौपानेले हेर्दै आउनुभएको छ । दुवै गाविस भूकम्पबाट पीडित गाविस हो । सिम्जुङका ३४ जनाले भूकम्पमा परी ज्यान गुमाएका थिए । सयौंँ घाइतेको उद्धार गरियो । घ्याच्चोक भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको छिमेकी गाविस हो । यी दुवै गाउँमा अझै पर्याप्त राहत सामग्री पु¥याउन सकिएको छैन ।

त्यस्तै गाविस सचिव नवराज खनालले घ्याल्चोक र भूम्लिचोक गाविस हेर्दै आउनुभएको छ । यी गाविस पनि भूकम्पबाट धेरै भौतिक संरचनाको क्षति भएको गाविसमध्ये पर्छन् ।

उत्तरी गोरखाका वेदप्रकाश ढकालले सामागाउँ र ल्हो गासी हेर्दै आउनुभएको छ । गाविस सचिव रामप्रसाद पौडेलले नाम्जुङ र पन्दुङ गाविस हेर्दै आउनुभएको छ । यी गाविस पनि भूकम्पले धेरै भौतिक संरचना ध्वस्त बनाएको गाविसअन्तर्गत पर्छ ।

प्रतिक्रिया