न्युयोर्कको इम्पाएर र नेपालको धरहरा

इनेप्लिज २०७२ वैशाख २४ गते २:४७ मा प्रकाशित

sanjuphoto

भूकम्प गएको केही दिन अघि मात्र न्युयोर्क शहरको इम्पाएर स्टेट विल्डिङ घुमेको अनुभव मैले मेरा मित्रलाई सुनाइरहेको थिए – “ एक बर्ष ४५ दिन लगाएर बनाइएको १०२ तल्लाको सो भवन आधुनिक युगको सातौ आश्चर्यको प्रतिक हो । समान्य भूकम्पबाट नहल्लीने यो भवनलाई अमेरिकन सोसाइटी अफ सिभिल इन्जनियरिङमा उत्कृष्ट नमूनाको रुपमा लिइन्छ । न्युयोर्क शहरको मेनहेडेनमा रहेको इम्पाएर अमेरिकन आर्किटेक्टको उत्कृष्ट नमूना पनि हो । ”
कुराकानीकै क्रममा नेपालको धरहराजस्तै देखिने अमेरिकाको इम्पाएर भवनबाट खिचेको न्युयोर्क शहरको तस्वीर पनि साथिलाई देखाए । सोही दिन मेरो एक मित्रले प्रश्न गरेका थिए – इम्पाएर त तिमीले चढ्यौ । के नेपालको धरहरा चढेका छौ ? त्यहाबाट देखिने राजधानीको सुन्दर दृश्य हेरेको छौ ? त्यसलाई क्यामेराले कैद गरेका छौ ? साथिको प्रश्नले एकछिन म अकमक्क परे । गाला केही राता भए । टाउको झुकाए । धरहरा चढेको छु भनेर गर्व गर्न सकिन । मैले असहज मान्दै ठट्यौली शैलीमा कुरा मोड्दै भने, ‘ अमेरिकन सस्कृतिको धरोहर इम्पाएर पनि न्ययोर्कको धरहरा नै हो । ’ बास्तवमा राजधानी काठमाण्डौ बसेको २७ बर्ष भइसक्दा पनि मैले धरहरा चढेको थिइन । साथिको प्रश्नले मलाई बारम्वार झस्का दिइरहेको थियो । त्यसकारण पनि मैले धरहरा चढ्ने सोच बनाइसकेको थिए । तर वि.स २०७२ साल बैशाख १२ गते गएको भुकम्पसंगै मेरो धरहरा चढ्ने सपना चकनाचुर भयो । मेरा सपना धरहरासंगै दफन भयो । भूकम्पले ध्वस्त भएको धरहराले फेरी त्यही रुपमा देख्छु कि देख्दिन ? तर म यती मात्र भन्छु साथि ( ‘ मैले धरहरा चढे भनेर अब जीवनमा कहिले उत्तर दिन सक्दिन । ’
राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाले धरहराबाट हाम फालेको कथा स्कुले जीवनमा सुनेको थिए । भीमसेन थापाले वि.स १८८१ सालमा बनाएको नेपालको प्रमुख ऐतिहासिक सम्पदा धरहरा सम्बन्धी पुस्तक, पत्रपत्रिकामा धेरै पढेको छु । पर्यटकलाई धरहरा चढाउन काठमाडौं महानगरपालिका र साइडवाकर्स कम्पनीबीच भएको सम्झौताको सम्बन्धमा पनि लेखेको छु । तर मैले धरहरा चढेको छैन साथी ।

मेरो कार्यालय धरहराबाट केही नजिक न्युरोडमा छ । विगत एक दशक देखि दैनिक सुन्धारा, धरहरा, खिचापोखरी हुदै म कार्यालय जान्छु । बाटोमा धेरै संख्यामा ब्यक्तिहरुले धरहरा चढ्नको लागि लामबद्ध भएर टिकट काटिरहेको देख्थे । केही मेरा आफन्त र साथिलाई पनि धरहरा चढ्न मैले टिकट काटिदिएको छु । सुन्दर ढंगले बनाएको धरहरा छेउको गार्डेनमा पनि धेरै पटक बसेको छु । धरहरा भित्र रहेको मम पसलमा गएर मम पनि खाएको छु । छेउमा रहेको पसलबाट कपडा पनि किनेको छु । तर मैले धरहरा चढेको छैन साथी ।
मेरा मित्रलाई यो भन्न चाहन्छु धरहरा नचढेपनि म धरहरा हेरेरै आनन्दित र खुसी हुन्थे । अग्लो धरहरालाई तलबाटै हेरेर गर्वको महसुस गर्थे । टाढाबाट पनि धरहरा हेरेर मेरो कार्यालय रहेको स्थान पत्ता लगाउथे । अहिले सोही बादो हिड्दा मन खिन्न हुन्छ । धरहरा ढलेपछि मेरो काठमाडौं बुच्चो भएको छ । भूकम्पको कारण धरहरा ढलेपछि केही नभएको जस्तो राजधानी उजाड देखिएको छ । विनाशकारी भूकम्पले धरहरासंगै राजधानी बासीका धेरै सपना पनि ढलेको छ । तर पनि हिम्मत नहारी राजधानी फेरी पुरानै गतिमा अगाडि हिड्न थालिसकेको छ ।

१९९० माघ २ गतेको महाभूकम्पले भत्कीएको धरहरा दुई बर्ष पछि राणा प्रधानमन्त्री जुद्धशमसेर पुननिर्माण गराएका थिए । अब धरहरा कुन रुपमा कसरी र कहिले निर्माण हुन्छ भन्न सकिने अबस्था छैन । इटा र बज्र (सुर्की, चून, मास र चाकू ) को मिश्रणबाट धरहरा बनेको हो । त्यसैले पनि ऐतिहासिक सम्पदा धरहरा एकैपटक धेरै संख्यामा पर्यटक चढ्दा खतरापूर्ण नै थियो । मुगलशैली निर्माण भएका २०३ फिटको धरहराको १८८ सिढी चढेपछि बादर्ली आउन्थ्यो । त्यहाबाट राजधानी काठमाडौंको सुन्दर दृश्य हेर्न सकिन्थ्यो । विश्व प्रख्यात ट्राभल अनलाईन ट्रीप एडभाइजरले पनि धरहराबाट राजधानी हेर्दाका सुन्दर अनुभुति प्रस्तुत गर्दथ्यो ।
भिमसेन थापाले महारानी त्रिपुरा सुन्दरकिो सम्झनामा निर्माण गरेका त्यही धरहरा (भीमसेन स्तम्भ) माथि पुग्नेले कयौ सपना सजाएका थिए होलान् । एक समयमा धरहरा माथिबाट विगुल फुकेर समाजिक, प्रशासनिक सूचना र जानकारी पनि दिइन्थ्यो । सोही सूचनाको आधारमा जंगी निजामती कर्मचारी कोटमा वा टुडिखेलमा जम्मा हुन्थे । त्यही अनौठो इतिहास बोकेको राजधानी काठमाडौंको सम्पदा धरहराको मैले चढ्न पाइन । अब म मात्र यो भन्न सक्छु साथि, “ मैले धरहरा चढेको छैन । धरहरा सम्बन्धि अध्ययन गरेको आधारमा यो लेख्दैछु ।”

सन् २००५ देखि पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले स्वदेशी र विदेशी पर्यटनको लागि धरहरा चढ्न खुला गरिएको हो । धरहरा चढ्दा सार्क राष्ट्र बाहेकका विदेशीले ४ डलर, सार्क राष्ट्रका नागरिले एक डलर र नेपालीले ५० रुपिँया तिर्नुपर्दथ्यो । धरहरा चढ्न ५ बर्ष मुनीका बालक र ६५ बर्ष माथिका बृद्धलाई पैसा लाग्दैनथ्यो । भूकम्पले खतरापूर्ण भएपनि धरहरामा दैनिक एक सय देखि दुई सयको संख्यामा मानिसहरु चढ्ने गर्दथे । सार्बजनिक बिदाको दिनमा त करिब तीन सयको संख्यामा धरहरा चढ्न मानिसहरु जाने गर्दथे । अब यो एउटा इतिहासमा नै सीमित हुने भयो । धरहरा अब बन्छ कि बन्दैन भन्न सकिने अबस्था छैन । ध्वस्त भएको धरहरा पुननिर्माण गरिएपनि कहिले र कुन ढाचामा बन्छ तत्काल अनुमान लगाउन सकिने अबस्था छैन । नेपालको धरोहर धरहरा अब जनताले चढ्न पाउछन् कि पाउदैनन् त्यो पनि भविष्यको गर्भमा नै छ । तर अब धरहरा परम्परागत ढाचामा फेरी त्यही कच्चा ढंगले ज्यानमारा रुपमा बन्नु भने हुदैन । अबको धरहरा रड, छड राखेर भूकम्परहित आधुनिक ढाचामा बन्नुपर्छ । धरहरा न्युयोर्कको इम्पाएर भवन जस्तै पर्यटकीय ढाचामा ब्यवसायिक किसिमले बनाउनुपर्दछ । जसले नेपालको सस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई पनि उजागर गरोस् ।
न्युयोर्क इम्पाएर स्टेट विल्डिङको पनि पुरानो इतिहास छ । १७ मार्च १९२९ बाट सुरु भइ ३० अप्रिल १९३१ मा सो भवनको निर्माणको काम सम्पन्न भएको हो । बर्षिक ४० लाख स्वदेशी र विदेशी पर्यटक यो भवनको अवलोकन गर्ने गर्दछन् । प्रत्यक घण्टामा २०० पर्यटक इम्पाएरको अवलोकन गर्न भवन भित्र छिर्छन् । यो भवनमा ६५ सय झ्याल, ७३ वटा लिफ्ट र १८६० खुट्किला छन् । दैनिक २१ हजार कामदारले प्रत्यक्ष रुपमा काम पाइरहेका छन् । अमेरिकामा पेन्टागन पछिको दोस्रो ब्यवसायिक केन्द« रुपमा इम्पाएरलाई लिइन्छ । सन् २०१५ सम्म सो भवन निर्माणमा ६३५ मिलियन अमेरिकन डलर खर्च भइसकेको छ । भवनको इम्पाएर स्टेट रियल्टी ट्रस्टले ब्यवस्थापन गरिरहेको छ । ५२ डलर तिरेपछि पर्यटकले १०२ तलासम्म इम्पाएर अबलोकन गर्न सक्दछन् । निकै कडा सुरक्षा जाच गरी पर्यटकलाई भित्र जान दिइन्छ । इम्पाएर भवनजस्तै शक्तिशाली र विशाल मेरो धरहरा बनोस् अहिले म मात्र यही शुभकामना दिन सक्छु ।

प्रतिक्रिया