मदन भण्डारी स्मृति गोल्डकप फुटबलको तयारी
झापा, २३ वैशाख । जननेता मदन भण्डारीको स्मृतिमा चौथो अन्तर्राष्ट्रिय मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिता बैशाख अन्तिम साताबाट हुने भएको छ । आयोजक मदन भण्डारी स्मृति प्रष्ठिानले पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २७ देखि ३ गतेसम्म अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो । फुटबल प्रेमीहरूको बाहुल्यता रहेको उर्लाबारीमा प्रतिष्ठानको आयोजनामा वर्षेनी प्रतियोगिता आयोजना गर्दा उर्लाबारीलाई शोभायमान बनाउन एउटा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीलाई उर्लाबारी मंगरबारेको मैदानमा उतारेर प्रतिष्ठानले आफूलाई खेलकुदीय भूमिको रूपमा स्थापित गराउन सफल भएको देखिन्छ । स्थानीय सालबारी सामुदायिक वन क्षेत्रको खेलमैदानमा हुने फुटबल प्रतियोगितामा भारतका दुई टिम र नेपालका ६ टिम गरी ८ टिमको सहभागिता रहने छ । यसले गर्दा खेल एकदमै रोमाञ्चक हुने खेलप्रेमीहरूको विश्वास छ । प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी, दमक फूटबल क्लब, सशस्त्र प्रहरीको पाथीभरा गण लखनपुर, चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं, झापा ११, आयोजकका साथै भारतका दार्जिलिङ ११ र कञ्चनजंघा फूटबल क्लब सिलगुडी सहभागि हुने भएका छन् । खेल आयोजना बारे जानकारी गराउँदै गोल्डकप आयोजक समितिका संयोजक भूपालसिंह जिमीले फूटबलको विकासमा योगदान पु¥याउँदै व्यवसायिक फूटबल खेलाडी उत्पादनमा सहयोग गर्ने, स्थानीय पर्यटन विकास, प्रवद्र्धन र समृद्ध समाज निर्माणका लागि सहयोग गर्ने, युवा जनशक्ति विकास, अनुशासन गतिशिल बनाउने उद्देश्य रहेको बताउनुभयो । उहाँले वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट त्रसित मानिसहरुको मनस्थितिलाई खेलले सामान्यीकरण गर्ने र मनोरञ्जन प्रदान गरी सामाजिक अन्तरघुलनमा सहयोग गर्ने बताउनुभयो । एमालेका पूर्व महासचिव एवं जननेता स्व. मदन भण्डारीको स्मृतिमा चार बर्ष अघिदेखि प्रत्येक बर्ष आयोजना हुँदै आएको गोल्डकपमा यसपटक पूर्वका हजारौं दर्शकले खेल हेर्ने आयोजकको अनुमान छ । यसबर्ष पुरस्कारको राशीमा पनि बृद्धि गरिएको छ । गोल्डकपको विजेताले नगद एक लाख ५० हजार र उपविजेताले एक लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव रूद्रबहादुर तामाङले बताउनुभयो । गतबर्ष विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार दिइएको थियो । आयोजकले खेल सञ्चालनबाट १६ लाख ५० हजार आम्दानी हुने र १४ लाख २५ हजार खर्च हुने अनुमान गरेको छ । गोल्डकपबाट बचत भएको रकम भूकम्प पीडित राहत कोषमा जम्मा गरिने तामाङले बताउनुभयो । गोल्डकपको तयारी तीब्र पारिएको जनाउँदै आयोजक समितिका सहसंयोजक पुष्प ढकालले खेल व्यवस्थापनको जिम्मा फूटबल क्लब मंगलबारे र सालबारी एकता क्लबलाई दिइएको बताउनुभयो । खेल मैदानको स्तरोन्नतिको काम भइरहेको आयोजक समितिका सदस्य एवं फूटबल क्लब मंगलबारेका अध्यक्ष सञ्जिब बुढाथोकीले बताउनुभयो । उहाँले मञ्च बनाउने तथा मैदान सम्याउने काम भइरहेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मदन भण्डारी स्मृति प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रोमनाथ ओली, सचिव युवराज भट्टराई, कार्यकारी निर्देशक निरज थापा लगायतको उपस्थिति थियो । यसैबीच, आयोजकले १६ बर्ष मुनिको राष्ट्रिय टिमका खेलाडी रूपेश तामाङको कप्तानीमा खेलाडी मैदानमा उतार्ने जनाएको छ । जननेता भण्डारीको स्मृति दिवस जेठ ३ गतेको अवसर पारी गोल्डकपको फाइनल खेल हुने जनाउँदै आयोजक समितिले फाइनलको पूर्वसन्ध्यामा जेठ २ गते स्थानीय पत्रकार र आयोजकबीच मैत्रीपूर्ण फूटबल हुने पनि जनाएको छ । गोल्डकपको उद्घाटन युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले गर्ने तथा समापनमा एमाले उपाध्यक्ष एवं प्रतिष्ठानकी संरक्षक विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहने बताइएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया