चितवनका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन

इनेप्लिज २०७२ वैशाख २३ गते १०:११ मा प्रकाशित

Nepal-Quake-Education-300x148चितवन, २३ वैशाख । भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ ।

जिल्लाका अधिकांश विद्यालयमा सामान्य प्रभाव देखिए पनि नौवटा विद्यालयका कक्षा कोठामा क्षति पुगेपछि दातासँग त्रिपाल मागेर त्रिपालमुनि पढाई थालिएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार छवटा विद्यालयमा दाताले त्रिपाल उपलब्ध गराएका छन् भने अन्य तीनवटा विद्यालयका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ ।

भूकम्पका कारण कोठामा बस्न नमिल्ने भएका कविलासको राष्ट्रिय प्राथमिक विद्यालय भारलाङ, दारेचोकको पन्थ राप्रावि डुडे, माझगाउँ मावि दारेचोक, चण्डिभञ्ज्याङको देवीभञ्ज्याङ राप्रावि कालिखोला, लोथरको गणेश निमावि यौरालीटार र लोथरकै डुङवाङ प्रावि स्याम्राङमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी टु को एरिया नं ३ ले ठूला त्रिपाल उपलब्ध गराएपछि त्रिपालमुनि विद्यार्थीलाई पढाइएको छ ।

मङ्गलपुरको मोहनपुर निमावि, सिद्धिको राप्रावि डौतेस र लोथरको हातीसँुढे प्राविको कक्षा कोठामा पढाउने अवस्था नभएपछि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको जिल्ला शिक्षा अधिकारी आचार्यले बताउनुभयो ।

जिल्लामा रहेका ३८९ विद्यालयमध्ये १२५ वटा विद्यालयमा क्षति पुगेको उहाँले बताउनुभयो । सामान्य रुपमा सबै विद्यालयमा चर्किएको भए पनि १२५ वटा विद्यालय भने कक्षा कोठा, कार्यालय भवन मर्मत नगरी पठनपाठन गराउने अवस्था नरहेको बताउनुभयो । आफ्नै प्राविधिक, भवन निर्माणका प्राविधिक र नगरपालिकाका प्राविधिक लगाएर विद्यालयको भवन परीक्षण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

चर्को गर्मीसँगै त्रिपालमुनि कक्षा सञ्चालन निकै कष्टकर हुन्छ । जिल्लामा आइतबारदेखि कक्षा सञ्चालन सुरु भएको हो । विद्यालय नखुलेसम्म प्रधानाध्यापकले विद्यालयको अवस्था नबुझेका कारण क्षतिको विवरण ढिलो गरी आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया