शनिबार, मंसिर २० २०७७
काठमाडौं १४:४४
वासिङटन डिसी 03:59

अध्यक्ष दाहालद्वारा भक्तपुरमा राहत वितरण

इनेप्लिज २०७२ वैशाख २२ गते १५:०१ मा प्रकाशित

11181386_945626862138290_562897598591407911_nकाठमाडौँ, २२ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज भक्तपुरको दधिकोटका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गर्नुभएको छ ।

उहाँले आज स्थानीयवासीलाई सय बोरा चामल, सय थान त्रिपाल र एक हजार ५०० लिटर पिउने पानी वितरण गर्नुभयो । उहाँले भूकम्पका कारण घरबासविहीन भई अस्थायी शिविर बनाइबसेका स्थानीयवासीसँग भेटी विपत्तिको समयमा नआत्तिन र धैर्य गर्न आग्रह गर्नुभएको थियो ।

अध्यक्ष दाहालका स्वकीय सचिवसमेत रहनुभएका एमाओवादीका केन्द्रीय सदस्य चूडामणि खड्काका अनुसार दधिकोटमा अध्यक्ष दाहालले तीन सयभन्दा बढी भूकम्पपीडितलाई भेट गरी समस्या समाधानका लागि हदैसम्मको प्रयत्न गरिने विश्वास दिलाउनुभएको थियो ।

उहाँले भूकम्पपीडितलाई भत्किएको घर बनाउन एकमुष्ठ आर्थिक तथा भौतिक सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभएको थियो ।

यही वैशाख २४ गते बस्ने व्यवस्थापिका–संसद्को बैठकमा भूकम्पपीडितका लागि विशेष सङ्कल्प प्रस्ताव पारित गरी एकीकृत रुपमा काम अगाडि बढाइने समेत जानकारी उहाँले गराउनुभएको थियो ।

अध्यक्ष दाहालले सिन्धुपाल्चोक, ललितपुरको हरिसिद्धि र काठमााडैँको कीर्तिपुरमा यसअघि राहत वितरण गरिसक्नुभएको छ । नेता दाहालको टोली बुधबार राहत सामग्री वितरणका लागि नुवाकोट जाने कार्यक्रम छ ।

प्रतिक्रिया