आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०७:११
वासिङटन डिसी 20:26

महाविनाशलाई पुनःनिर्माणको अवसरको रुपमा उपयोग गर्नुपर्ने: नेता पौडेल

इनेप्लिज २०७२ वैशाख २२ गते ११:१५ मा प्रकाशित

ramchandra-paudelलम्जुङ, २२ वैशाख । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट विस्थापित भएकालाई दीर्घकालीन पुनर्वासका लागि एकीकृत बस्ती विकास कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले अब पालको सट्टामा कम्तीमा पनि जस्ता पाताको व्यवस्था गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । अहिले अल्पकालीन राहतका लागि पालहरु वितरण गरिए पनि अब दीर्घकालीन पुनर्वासतर्फ सोच्ने बेला भइसकेको बताउनुभयो ।

भूकम्प प्रभावितका बारेमा बुझ्न लम्जुङ पुग्नुभएका उपसभापति पौडेलले अहिलेको शोकलाई शक्तिमा बदल्ने सङ्कल्प गर्न सबैलाई आग्रह गर्नुभयो । मुलुकलाई अल्पविकसितबाट विकसित कसरी गर्ने भन्ने बारेमा छलफल गरिरहेका बेला आएको विपत्तिले जनतालाई कसरी जोगाउने भन्नेतर्फ केन्द्रित हुनुपरेको उपसभापति पौडेलको भनाइ थियो ।

उहाँले अब सबै राजनीतिक पार्टी, सङ्घसंस्था र विदेशी निकायले एकजुट भएर सरकारलाई सहयोग गरेर पुनःनिर्माणको अभियानमार्फत विनाशलाई अवसरका रुपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

उपसभापति पौडेल तनहुँ, लम्जुङ र गोर्खा जिल्लाका भूकम्पपीडित र राहत वितरणको अवस्था बुझ्नका लागि केही दिनदेखि ती जिल्लाको भ्रमणमा हुनुहुन्छ । पौडेल लम्जुङपछि गोरखा जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया