अति प्रभावित गाउँमै पुगेन सरकारी राहत

इनेप्लिज २०७२ वैशाख २२ गते ४:०० मा प्रकाशित

sena 3मुस्ताङ, २२ वैशाख । घमी गाविसका भूकम्पपीडितले अझै सरकारी राहत पाउन सकेका छैनन् । विनाशकारी भूकम्पका कारण घमी गाविसका घिलिङ गाउँ बढी प्रभावित बनेको छ ।

त्यस गाउँमा रहेको ४० घरमध्ये १९ पूर्ण र ६ आंशिक रुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले समेत घमी गाविसलाई बढी प्रभावित क्षेत्र घोषणा गरेको छ । भूकम्पका कारण क्षति पुगेको दुई हप्तासम्म पनि स्थानीयले राहत पाउन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । घिलिङ गाउँ पुग्न जिल्ला सदरमुकामबाट एक दिन सवारी यात्रा गर्नुपर्छ ।

माटोबाट निर्मित सबै घर भत्किएपछि त्यहाँका सर्वसाधारण अहिले खुल्ला आकाशमुनि बास बस्न बाध्य छन् भने कोही आफन्तको आश्रय लिएर बसिरहेका छन् । उनीहरुले तत्कालै गास र बासको व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेको प्रमुख शेचरनको भनाइ छ । “यहाँको अवस्था दयनीय छ, कहाँ राहत माग गर्ने भन्ने पनि थाहा छैन”–शेरचनले भन्नुभयो–“यस्तो ठाउँमा राज्यले राहत वितरण गर्न ढिलाइ गरिरहेको छ ।”

प्रमुख जिल्ला अधिकारी नरहरि बरालले भौगोलिक रुपमा विकट भएका कारण समयमै राहत वितरण टोली पुग्न नसकेको बताउनुभयो । “त्यहाँको यकिन विवरण ल्याउन पनि अलि ढिला भयो, अब सबै आइसकेको छ”–प्रजिअ बरालले भन्नुभयो–“अब छिट्टै टोली पठाउनेछौँ ।” हिँडेर जाने सम्भव नभएका कारण सवारी साधन सञ्चालन नहुँदा समस्या परिरहेको उहाँको भनाइ छ । जिल्ला विपद् व्यवस्थापन समितिले पूर्ण क्षति भएकालाई रु पाँच हजार र आंशिक क्षति पुगेकालाई रु तीन हजार राहत वितरण गरिरहेको छ ।

प्रतिक्रिया