बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०९:०७
वासिङटन डिसी 22:22

नब्बे सालको भूकम्प झेलेकी गुरुङ भन्नुहुन्छ: यो भैँचालो डरलाग्दो, भाग्यमानी रहेछु काल आएन

इनेप्लिज २०७२ वैशाख २१ गते १२:१५ मा प्रकाशित

रमेश लम्साल

Rss_Images_1430739858425_RL-KTM-sindhupalchowkघोरथली (सिन्धुपाल्चोक), २१ वैशाख । यही वैशाख १२ गते शनिबार ९१ वर्षीया महालक्ष्मी गुरुङ घरमै मकै केलाउँदै हुनुहुन्थ्यो ।त्यही बेला गएको भूकम्पले उहाँलाई नराम्ररी हल्लायो ।

तेजस्विनी उहाँमा श्रवणको समस्या छ, यद्यपि कुप्रिएको शरीर, मलिन अनुहारले अघिल्लो साताको भूकम्पको झझल्को दिन्छ । आफ्नो जीवनकालमा तीन वटा ठूला भूकम्प झेल्नुभएकी उहाँलाई यो वर्षको भूकम्प भयानक लाग्यो र त्यसले उहाँलाई भयभीत बनायो ।

अघिल्लो शताब्दीको भन्दा यसपटकको भूकम्प असाध्यै भयानक लाग्यो महालक्ष्मीलाई । त्यतिबेला पनि चारैतिर हल्लाएको थियो । ‘‘दोलखाको चङ्खुमा थिएँ त्यतिबेला । चारैतिरको डाँडा हल्लिएको थियो । पहिरो गयो, घर भत्किए, मान्छे मरे, तर अहिलेजस्तो धेरै क्षति भएको थिएन त्यतिबेला । गाउँमा घर भत्किए पनि अहिले जस्तो भयानक क्षति भने त्यतिबेला भएको थिएन”, महालक्ष्मी सम्झिनुहुन्छ ।

वैशाख १२ गतेको भूकम्पले धेरैको खुसी लुट्यो । चौपायासमेत अकालमा मरे । देवता रिसाएकाले भूकम्प गएको उहाँलाई लाग्छ । थात थलो खोसिँदा, खुसी लुटिँदा झरेका आँसु अझै ओभाएका छैनन् ।

सिन्धुपाल्चोक घोरथली–९ निवासी उहाँले भन्नुभयो, “यसबीच तीन ठूलाठूला भूकम्प आए । तीनवटै भूकम्पमा सकुशल रहँे भाग्यमानी रहिछु कालले लगेन । १९९० सालमा भूकम्प आउँदा म नौ वर्षको थिएँ त्यतिबेलाको धक्का बिर्सेकी छैन ९० सालमा त दुई–तीन दिनभन्दा बढी भूकम्प आएको थिएन महालक्ष्मीले भन्नुभयो, “मेरी आम्मै अहिले के भा’को । भूकम्प रोकिँदैन त ! ।”
भुईँचालोले उहाँको मात्रै होइन मुलुकका ३९ जिल्ला प्रभावित भएका छन्, त्यसमा ११ जिल्ला बढी प्रभावित भएका छन् । नेपाली सेनाको हेलिकप्टरले उहाँको गाउँ माथि फन्को मार्दा ठमठम हिँडेर स्थानीय सेतीदेवी प्रावि नजिक आउनुभएकी महालक्ष्मी भन्नुहुन्छ, “अहिलेको भन्दा ९० सालको भूकम्प निकै डरलाग्दो थियो । म सानै भएर पनि हुनसक्छ । रुख भुईं छुँदै ठाडो भएका थिए हाम्रो गाउँमा कसैको ज्यान गएको थिएन तर, अहिलेको भूकम्पले धेरैको ज्यान लियो । पापी रहेछ दैव पनि ।”

दश दिनअघिको भूकम्पले शरीर पूरै हल्लाएको र कम्पन धेरै भएपछि घरको थाम समातेर बसेँ । थाम हल्लिँदा बुढ्यौली हात फुत्कियो । ‘‘छोरा नआएको भए भित्रै मर्ने थिएँ । छोरो आइपुग्यो र बोकेर बाहिर निकाल्यो । हामी बारीमा पुग्दा हाम्रो घर ढल्यो । चौपाया मरे ।’’

घोरथलीमा नै अर्की वृद्धा भेटिनुभयो अमृतमाया गुरुङ । ९० सालको भूकम्पमा दुई वर्षको भएको बताउने उहाँले १० दिनअघिको भूकम्पले नराम्ररी हल्लायो । ‘‘कौशीमा बसेर राडी बुन्दै थिएँ । चर्खा चलाउने मेरो सानैदेखिको काम हो । सोही बेला आँधी आएजस्तो गरी आवाज आयो । लौ मार्‍यो भन्न के लागेको थिएँ बाहिरबाट कसैले करायो, ‘आमा भूकम्प आयो ।’ उहाँले स्मरण गर्नुभयो ।

‘‘टाउको ढुङ्गामा बजारियो, त्यसपछि उठ्न खोजेँ तर, सकिनँ रुँदै चिच्याउँदै कौसीबाट तल झरेँ, भर्‍याङ मझेरीमा बजारियो । चुलोभरि ढुङ्गा झरेका थिए । छोरो, नाति, बुहारी, छोरीे कोही देखिन । लौ वंश नै सखाफ पार्‍यो भन्ने लाग्यो । बारीमा पुगेर रुँदै कराउन लागेँ कोही आएनन्, धेरै बेरपछि आमा भन्दै छोरो आयो । त्यो डरलाग्दो दिनको स्मरण गर्नुहुन्छ उहाँ । बस्ने बास छैन, खाने अन्न छैन, हामीजस्ता बूढाबूढीलाई त सरकारले हेर्नु पर्‍यो नि’’ गुरुङ भन्नुहुन्छ ।

ठूलो आश छैन उहाँको सरकारसँग । टाउको लुकाउने एक थान त्रिपाल दिए हुन्छ । गहुँ पाक्दै छ, केही दिनका लागि चामल दिए हुन्छ । घोरथलीकै बुद्धमाया गुरुङलाई भूकम्पले बेहोस बनायो । ‘‘खेताला खोज्न पल्लो गाउँ गएको थिएँ, गत माघमा खनेको सडक भास्सियो । म त कान्लामुनि पो पुगेछु । बेहोस भएछु । धेरै समयपछि होस खुल्यो । गाउँमा सबै चिच्याइरहेका थिए ।’’

भूकम्पले सिन्धुपाल्चोकमा धेरैको घरबास खोसेको छ । करिब ४० हजार घर भत्किएका छन् । भूकम्पबाट अति प्रभावित उक्त जिल्लाका बासिन्दामा उत्साह भर्न सरकारीस्तरमा विशेष प्रयास हुनु जरुरी छ ।

प्रतिक्रिया