महोत्तरीको डाम्ही मडैमा आगलागी हुँदा लाखौँको क्षति

इनेप्लिज २०७२ वैशाख २१ गते १०:५३ मा प्रकाशित

aaglagi1गौशाला, २१ वैशाख । महोत्तरीको डाम्ही मडै गाविसमा गएराति भीषण आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।

डाम्ही मडै गाविस–७ बस्ने दाजुभाइ रामपदार्थ साह र रामस्वार्थ साहको गोठमा राति २ बजेको समयमा भएको भीषण आगलागीबाट दुई वटा भैँसी, एक वटा पाडी र एक वटा गोरु जलेर मरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साह परिवारको घरसँगै रहेको गोठमा आगलागी हुँदा चार चौपाया, अन्नपात, लुगाफाटा, दाउरा, भुस र एक थान पलङ्ग पनि सोही आगलागीमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभएको छ ।

लामखुट्टे धपाउन गोठ अगाडि बालेको घुर विस्तारै सल्किन गई गोठमा आगलागी भएर साह परिवारका चार चौपाया, अन्नपात, लुगाफाटा, दाउरा, भुस र दुईवटा गोठ गरी रु पाँच लाख ५० हजार मूल्यको क्षति भएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो ।

साह परिवारको गोठमा भएको आगलागीले भीषण रुप लिइसकेको अवस्थामा मात्रै उनीहरुले चाल पाएका कारण आगलागी नियन्त्रण गर्न नसकिएको र सबैथोक जलेर खरानी भएको पीडित परिवारले बताएका छन् ।

प्रतिक्रिया