भत्किएका घर हटाउन दिँदैनन् घरधनी र छिमेकी
किरण भट्टराई
काठमाडौँ, २० वैशाख । भूकम्पका कारण उपत्यकामा भत्किएका घरको व्यवस्थापन प्रमुख चुनौती बन्न थालेको छ ।
भत्किएका घर हटाउन गएको प्रहरी टोलीलाई कतै घरधनीले त कतै घर वरिपरिका छिमेकीले फर्काइदिने गरेका छन् ।
कुलेश्वर–बल्खु खण्डमा हनुमान मन्दिर जाने बाटोमा पाँचवटा घर भत्किएर सो सडकखण्ड अवरुद्ध भएको छ । सडक खुलाउन भत्किएका ती घर डोजर लगाउन गएको टोलीलाई वरिपरिका घरधनीले ती घर भत्काउँदा आफ्नो पनि घर भत्किने भन्दै फर्काइदिए ।
घरमा डोजर र क्रेन लगाउँदा आफ्नो वरिपरिका घर भत्किने भन्दै स्थानीयवासीको विरोध भएपछि भत्काउन लगिएका साधनसहित प्रहरी टोली फर्कियो ।
नेकपा (एमाले)को पार्टी कार्यालय बल्खु नजिकैको एक घर भत्किएर घरका घरमूलीको नै मृत्यु भयो । सो घर भत्किएका कारण सडक अवरुद्धको अवस्थामा पुगेपछि घर पूर्णरुपमा भत्काउन गएको प्रहरी टोलीलाई सो क्षेत्र वरिपरिका केही छिमेकीले फर्काइदिए ।
सो क्षेत्रका बासिन्दा इन्दिवर पण्डित घर भत्काउन आफूहरुको कुनै असहयोग नरहेको तर ठूला डोजरमार्फत भत्काउँदा अन्य घर पनि थर्किने भएकाले साना साधनमार्फत भत्काउन आग्रह गरेको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीका प्रवक्ता पोषराज पोखरेलले सडकखण्ड वरिपरि रहेका घरलाई व्यवस्थापन गर्ने प्रयास जारी रहे पनि घरधनी र छिमेकीको असहयोगका कारण कतिपय स्थानमा समस्या परेको बताउनुभयो ।
पुरानो बानेश्वरको विद्युत् प्राधिकरणको कार्यालय नजिकैको एक घर र दरबारमार्गमा रहेको महेन्द्र सालिक नजिकैको एक घर पनि भत्किएको अवस्थामा रहेका कारण सडक सुचारु हुन अवरोध गरेपछि भत्काउन गएको प्रहरीको टोलीलाई घरधनीले नै फर्काइदियो ।
उनीहरुले घर भत्काएमा भोलि क्षतिपूर्ति पाउन समस्या हुने भन्दै पहिले क्षतिपूर्ति दिन र अनिमात्रै घर भत्काउन दिने भन्दै अवरोध गरेपछि टोली फर्किनुपर्यो ।
भूकम्पका कारण कतिपय घर बाङ्गिएका छन् भने कतिपय घर भत्किएर धराप थापेको स्थितिमा पुगेका छन् । सबै घरको एकैपटक व्यवस्थापन सम्भव नभएकाले पहिलो चरणमा सवारी साधनको आवतजावत हुने सडकखण्डमा रहेका त्यस्ता घर भत्काउने तयारी गरिएको छ ।
सडकखण्डमा रहेका त्यस्ता घर जुनसुकै बेला भत्किन सक्ने र तारन्तार आइरहेको भूकम्पको सानो झट्काले पनि ढल्नसक्ने अवस्थामा छन् । ती घरका कारण बाटो हिँड्नेको जीउज्यान त खतरामा छँदैछन्, सो खण्डको यातायात सेवासमेत अवरुद्ध हुने अवस्थामा छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार उपत्यकामा मात्रै एक हजार ९९५ घर पूर्णरुपमा क्षति पुगेका छन् भने तीन हजार २६९ घर आंशिक क्षति पुगेको छ ।
यसअनुसार काठमाडौँमा एक हजार ४७२, भक्तपुरमा ४२८ र ललितपुरमा ९५ घर पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै काठमाडौँमा एक हजार ५५९, भक्तपुरमा ७९९ र ललितपुरमा ९२१ गरी तीन हजार २६९ घर आंशिक क्षति पुगेको छ ।
यो प्रारम्भिक विवरण भए पनि यसभन्दा बढी घर उपत्यकामा भत्किएको प्रहरीको अनुमान छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया