बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १८:३२
वासिङटन डिसी 07:47

२५५९औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस भूकम्पपीडितको सहयोगमा केन्द्रित गरी मनाइँदै

इनेप्लिज २०७२ वैशाख २० गते ११:२४ मा प्रकाशित

buddha2

लुम्बिनी (रुपन्देही), २० वैशाख । यस पटकको २५५९औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस–२०७२ भूकम्पपीडितको सहयोगमा केन्द्रित गर्दै मनाइने भएको छ ।

सरकारले २५५९औँ बुद्ध जयन्तीलाई विनाशकारी भूकम्पमा परेका आमनागरिकको मङ्गल कामना गर्दै बौद्ध परम्पराअनुसार पूजाआजा गरी मनाइने भएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले भोलि बुद्ध पूर्णिमाका दिन भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा भिक्षु, भिक्षुणी, लामा गुरु तथा आनीहरुबाट महापरित्राण एवम् प्रणिधान पाठ गर्ने र साँझ २५५९ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

उहाँका अनुसार यस पटकको बुद्ध जयन्ती गत वर्षहरुमा जस्तो विशेष औपचारिक कार्यक्रम नगरी लुम्बिनीस्थित अखण्ड शान्ति दीपबाट दीप प्रज्वलन गरी शान्ति पदयात्रासँगै मायादेवी मन्दिरको परिक्रमा र सामूहिक प्रार्थना गरिने छ । साथै मायादेवी मन्दिर परिसरमा सामूहिक ध्यान तथा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

साथै, बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विनियोजित बजेट रकममध्येको ठूलो हिस्सा भूकम्पपीडितको उद्धार कार्यमा लगाउने निर्णयसमेत भएको कोषले जनाएको छ । रासस

प्रतिक्रिया