निःशुल्क स्वास्थ्य जाँच

इनेप्लिज २०७२ वैशाख २० गते ६:५७ मा प्रकाशित

नेपालगन्ज, २० वैशाख । बाँके जिल्लाको कचनापुर गाविस–३ कचनापुर गाउँमा आज सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार नागरिकको स्वास्थ्य जाँच गरिएको छ ।

बाँके युनेस्को क्लबको सहयोग, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक सञ्जाल, महिला सञ्जाल र गाविसको कार्यालयद्वारा सो गाउँस्थित लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसमा सञ्चालित स्वास्थ्य शिविरमा नेपालगन्ज मेडिकल कलेजका चिकित्सकले निःशुल्क सेवा उपलब्ध गराएका थिए ।

शिविर आयोजनाका टोली नेता कलेजका जनसम्पर्क अधिकृत यमबहादुर खड्काका अनुसार, शिविरमा नेपालगन्ज शिक्षण अस्पतालका निर्देशक वरिष्ठ चिकित्सक डा एम किदवाई, डा कृष्णचन्द्र अधिकारी, डा कृष्णकान्त गुप्ता, डा मीरा कक्षपतिले बिरामीको जाँच गर्नुभएको थियो ।

शिविरमा बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले १३ जना स्वास्थ्यकर्मीसहित औषधि उपलब्ध गराएको थियो । सो गाविसका बासिन्दा पूर्व मन्त्री प्रेमबहादुर भण्डारी, नेपाली काँग्रेसका युवा नेता तप्त पौडेललगायतका नागरिक अगुवाले व्यवस्थापनमा सहयोग पु¥याएका थिए ।

सो शिविरमा जाँच गरिएका बिरामीमध्ये थप उपचार गर्नुपर्ने बिरामीलाई कलेजको कोहलपुर अस्पतालमा सिफारिस गरिएको छ । यसरी सिफारिस गरिएका बिरामीको उपचार खर्च रकममा छुट दिइने जनाइएको छ ।

स्त्री रोग विशेषज्ञ मीरा कक्षपतिका अनुसार शिविरमा आएका महिला बिरामीमध्ये अधिकांशमा पाठेघर तथा यौनरोगसम्बन्धी समस्या देखिएको छ ।

प्रतिक्रिया