भूकम्पले दलित बस्तीका सबै घर भत्के

इनेप्लिज २०७२ वैशाख २० गते ४:५३ मा प्रकाशित

लक्ष्मीप्रसाद सापकोटा

police-342x256फलेवास (पर्वत), २० वैशाख । विनाशकारी भूकम्पका कारण सिङ्गो दलित बस्तीका सबै घर भत्केपछि तिलहार¬–३ गिज्यानका भूकम्पपीडित भोकभोकै दिन काट्न बाध्य भएका छन् ।

उनीहरुले कतैबाट राहत पाएका छैनन् । “घरमा भत्कँदा अन्नपात कामै नलाग्ने गरी पुरियो”–पीडित सीता नेपालीले भन्नुभयो–“अहिलेसम्म ऐँचोपँैचो गरेर खाएकी थिएँ, अब भोकै बस्नुको विकल्प छैन, राहतका नाममा अहिलेसम्म टाउको पनि नओतिने पालबाहेक केही पाउन सकिएको छैन ।”

घरधुरीमा क्षति भएपछि पीडित घरबारविहीन बनेर खुला आकाशमुनि बस्न बाध्य भएको भए पनि उनीहरुका लागि आवश्यक पालसमेत उपलब्ध हुन नसकेको बताइएको छ । स्थानीय बजारमा समेत पालको मौज्दात नभएकाले समस्या हुँदा साना खालका पाल वितरण गरिएको छ । साना पालले पानी पर्दा र घामसमेत छेक्न नसक्दा कष्टकर रुपमा बस्नुपरेको पीडित बताउँछन् ।

विनाशकारी भूकम्पबाट सबैभन्दा बढी क्षति दलित बस्तीमा परेको छ । दलितका २० घरमध्ये तीन घरमा मात्रै क्षति पुगेको छैन । सबैका घर भत्केका छन्, अन्नपात पुरिएको छ । अरूको घरमा ज्याला मजदुरी गरेर खाने उनीहरुको घर नै गुमेपछि बिलखबन्दमा छन् । दलित बस्तीका अधिकांश सक्ने उमेरका युवा श्रम गर्न अन्यत्र जाने भएकाले गाउँमा वृद्धवृद्धा र महिला मात्रै भएको र उनीहरु पनि ज्याला मजदुरी गरेर खाने भएकाले घर भत्किने तथा अन्न पुरिँदा समस्यामा परेको स्थानीयवासी चन्द्रबहादुर विकले बताउनुभयो ।

हामी दैनिक रुपमा मजदुरी गरेर खाने भएकाले घर नै नभएपछि झनै समस्या भएको छ । “दलितको बस्ने बास र खाने अन्न नभएकाले जीवन धेरै पीडादायी भएको छ”–स्थानीयवासी दलित अगुवा विकले भन्नुभयो–“जो होचो उसकै मुखमा घोचो जस्तै दैवले पनि हामीलाई नै हेपेको छ ।” गाउँ भूकम्पले सकिएपछि साना बालबालिकासमेत नराम्रोसँग प्रभावित बनेका छन् । घर भत्किएपछि त्यहाँ खानेकुरा नभएको र अभिभावक दिनभरि मजदुरीमा जाने गरेकाले उनीहरु मानसिक रुपमा समेत त्रासमा बस्ने गरेका छन् । भूकम्पले घर भत्किएर अन्न पुरिएपछि स्थानीयवासीले पैँचो खोजेर खाने गरेका छन् ।

पकुवा, रानीपानी, बर्राचौर, पिलटारीलगायत गाविसमा सिङ्गो दलित बस्ती नै ध्वस्त भएको छ । घरबारविहीन भएका पीडित परिवार पाँच दिनपछि आफँै घर निर्माणमा जुटेका छन् ।

भूकम्पबाट सबैभन्दा बढी क्षति भएको तिलहार–३ गिज्यानको सिङ्गो बस्तीमा तीन चार घर मात्रै बस्न लायक छन् भने बाँकी सबै घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । गिज्यान गाउँका ३०० घरधुरीमध्ये २५० भन्दा बढीमा क्षति पुगेको छ । अहिले स्थानीयवासी पाँच÷सातको समूह बनाएर भत्किएका संरचना हटाउने तथा अस्थायी घर बनाएर बस्न थालेका छन् । “मैले पनि पूरै भत्केको घरको एउटा तला फालेर टिनको छाप लगाएको छु”–कलाकार गणेश जिसीले भन्नुभयो–“पालमुनि बस्नुभन्दा टिनको छाप्रो बनाएर भए पनि रात काट्नुप¥यो ।”

यहाँका करिब पाँच हजार घरधुरी क्षतिग्रस्त बनेको अनुमान गरिएको छ । हालसम्मको प्राप्त तथ्याङ्कअनुसार जिल्लाका करिब एक हजार घरधुरी पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने तीन हजारभन्दा बढी घरधुरीमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राहत सामग्री लिएर एमाले गाउँ गाउँमा
महाभूकम्पका कारण जिल्लामा धेरै भौतिक संरचना क्षति भएपछि सर्वसाधारणलाई चर्केको घाउमा मलहम लगाउनका लागि नेकपा (एमाले) पर्वत गाउँ अभियानमा जुटेको छ । अभियानअन्तर्गत एमालेका पोलिटब्यूरो सदस्य तथा जिविसका पूर्वसभापति गणेश तिमिल्सिना र जिल्ला अध्यक्ष पदम गिरीले शनिबार भूकम्पपीडित समुदायमा त्रिपाल वितरण गर्नुभयो । भूकम्पले घरबास उठाएको तिलाहार–९ थामार्जुङमा पोलिटब्युरो सदस्य तिमिल्सिना र जिल्ला अध्यक्ष गिरीले १८ परिवारका लागि पहिलो चरणमा त्रिपाल बाँड्नुभएको हो ।

उहाँहरुका अनुसार जिल्लाका झन्डै ३०० भन्दा बढी पूर्ण रुपमा क्षतिग्रस्त घरधुरीका लागि त्रिपालको व्यवस्थापन हुँदैछ । “त्रिपाल नेपालमा सकिएको भएर भारतबाट आयात हुँदैछ”– तिमिल्सिनाले भन्नुभयो–“त्रिपाल आएपछि राहतस्वरुप वितरण हुनेछ ।” एमालेको उक्त अभियानमा गोनेसा नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । पहिलो चरणअन्तर्गत ६० थान त्रिपाल उपलब्ध भएको छ ।
जिल्लाका पदाधिकारीदेखि गाउँ तहसम्मका कार्यकर्ता उद्धारमा लागिरहेको बताउँदै गिरीले सरकारका तर्फबाट क्षतिग्रस्त घरमा यथेष्ट राहत उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो ।

जिल्लामा मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ । भूकम्पका कारण झन्डै चार हजार घर भत्केको विवरण प्राप्त भएको छ । बत्तीस हजार घरमध्ये गाउँघरमा रहेका ५० प्रतिशतभन्दा बढी घरमा सानोठूलो क्षति पुगेको अनुमान गरिएको छ । अहिलेसम्म झन्डै ७०० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र दुई हजार २०० घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सङ्घसंस्था गोरखामा
भूकम्पका कारण घरबारविहीन पर्वतका धेरै बस्तीका बासिन्दा भोकभोकै दिनरात काट्न बाध्य भैरहेका बेला यहाँका एक दर्जन सङ्घसंस्थाले गोरखा पुगेर राहत वितरण गरेका छन् ।
कुस्माका लायन्स क्लब, सुनचाँदी व्यवसायी सङ्घ तथा जेसिसको अगुवाइमा गोरखाका भूकम्पपीडितलाई गोरखामा पुगेरै राहत वितरण गरिएको हो ।

गोरखाको रोहटेपानी गाविसमा पुगेको टोलीले त्यहाँका ५० परिवारलाई विभिन्न खाले राहतका सामग्री वितरण गरेको छ । रोहटेपानीमा करिब रु तीन लाख बराबरको राहत वितरण गरिएको लायन्स क्लब अफ ३२५ वि वान नेपालका डिस्ट्रिक एडभाइजर काशीकुमार जोशीले जानकारी दिनुभयो । पीडित परिवारलाई त्रिपाल, बाल्टिन, चामल, दाल, चिनी, चियापत्ती, साबुनलगायत सामग्री बितरण गरिएको थियो । रोहटेपानी गाविसका पीडित परिवारले सरकारीस्तरवाट पर्याप्त राहत नपाएको गुनासोसमेत गरे ।

प्रतिक्रिया