मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:३६
वासिङटन डिसी 09:51

नाइजेरियामा बोको हरामको क्षेत्र सामबिसाबाट थप दुइसय चौँतीस महिला तथा बालबालिका मुक्त

इनेप्लिज २०७२ वैशाख १९ गते ११:०६ मा प्रकाशित

 

NNअबुजा, १९ वैशाख । नाइजेरियाका सेनाले बोको हरामको बलियो नियन्त्रण रहेको सामबिसा वनबाट थप २३४ महिला तथा बालबालिका मुक्त गरेको जानकारी सेनाले शुक्रबार दिएको छ ।

प्रतिरक्षा मुख्यालयले एक विज्ञप्ति जारी गरी यी बन्धकलाई सामबिसाको कावुरी तथा कोन्डुगाबाट बिहीबार उद्धार गरिएको जानकारी दिएको छ ।

गत दुई दिनमा सेनाले करिब ५०० महिला तथा बालबालिकालाई उद्धार गरिसकेको थियो ।

सेनाले मुक्त भएका महिला तथा बालबालिकालाई छानविन केन्द्रमा राखिएको जानकारी दिएको छ ।

सेनाले हाल सामबिसा वनको अनेकौँ स्थानमा आक्रमण गरिरहेको छ र नागरिक बन्धक उद्धार गर्ने तथा आतङ्कवादीको शिविर तथा अन्य सुविधा नष्ट गर्ने कार्यमा उनीहरू केन्द्रित रहेको जानकारी दिएको छ ।

सेनाले यस साताको आरम्भमा सयौँ बन्धक मुक्त गरेपछि थप बन्धक मुक्त गर्ने दृढता व्यक्त गरेको छ ।

सेनाले बिहीबार सामबिसाबाट १६० बन्धक का साथै २०० बालिका तथा ९३ महिला उद्धार गरेको जानकारी दिएको थियो ।

उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्याले लडाकूले आम अपहरणको रणनीति लिएको स्पट भएको छ । एमनेस्टी इन्टरनेसनलले गत वर्षको आरम्भदेखि उनीहरूले दुई हजार महिला तथा बालिका अपहरण गरेको आरोप लगाएको थियो ।

पूर्व महिला बन्धकहरूले उनीहरूलाई बलपूर्वक श्रम गर्न लगाउनुका साथै उनीहरूमाथि यौन तथा मानसिक दुव्र्यवहार भएको र उनीहरूलाई सङ्घर्षमा समेत प्रयोग गरिएको बताएका छन् ।

लडाकूहरूले केही महिला तथा बालिकालाई अज्ञात स्थलमा लडाकूहरूको निगरानीमा देखाइएको फोटो सार्वजनिक गर्ने गरेका थिए ।

सन् २०१४ को अप्रिलमा उत्तरपूर्वी चिबोक नगरको विद्यालयबाट अपहरण गरिएका २१९ बालिकामध्ये कुनै रिहा भए वा भएनन् भन्ने सम्बन्धमा स्पष्ट भएको छैन ।

सेनाले मुक्त भएका बन्धकका विषयमा उनीहरूको पहिचान स्थापना गर्न सोधपुछ गरिरहेको जानकारी दिएको छ ।

चिबोकबाट आमरूपमा अपहरणपछि विश्वभरबाट विरोध भएको थियो भने त्यसका कारण राष्ट्रपति गुडलक जोनाथन हराएका बालिकाको खोजीका लागि अन्तर्राट्रिय सहयोग लिन बाध्य हुनुभएको थियो ।

चिबोकका बालिका रिहा गर्न तथा बोको हरामको विद्रोह अन्त्य गर्न पर्याप्त काम नगरेको भनी जोनाथनको कडा आलोचना भएको थियो भने उक्त विद्रोहमा १३ हजार व्यक्तिको ज्यान जानाका साथै १५ लाख व्यक्ति विस्थापित भएका थिए ।

मार्च महिनामा भएको राष्ट्रपति पदको निर्वाचनमा जोनाथन पूर्व सैनिक शासक मोहमदु बुहारीबाट पराजित हुनु पनि बोको हरामको विस्तारित विद्रोहको कारण भएको धेरै विश्लेषकले विश्वास गरेका छन् ।

बुहारीले मे २९ देखि पदभार वहन गर्नुहुनेछ र उहाँले लडाकूलाई नियन्त्रण गर्ने बचन दिनुभएको छ । बोको हरामले मुलुकको उत्तरपूर्वी भागमा इस्लामी राज्य स्थापना गर्न चाहेको छ । रासस/एएफपी

प्रतिक्रिया