शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १०:१९
वासिङटन डिसी 23:34

उत्तर कोरियाली नेताद्वारा रसियाको भ्रमण रद्द

इनेप्लिज २०७२ वैशाख १८ गते १०:२० मा प्रकाशित

kim-jong-unमस्को, १७ वैशाख । उत्तर कोरियाका उच्च नेता किम जोङ्ग उनले रसिया भ्रमणको आफ्नो पूर्व निर्धारित कार्यक्रम अकस्मात रद्द गर्नुभएको समाचार छ ।

यही मे ९ मा मस्कोमा हुन गइरहेको (विजय दिवस) ‘भिक्ट्री डे’ को उत्सवमा सहभागी हुन उहाँ रसिया जान लाग्नुभएको थियो ।

त्यसतर्फ जान लाग्नुभएका किमले अकस्मात सो भ्रमण रद्द गर्नुभएको क्रेम्लिनले बिहीबार जानकारी दिएको छ ।

आफ्नो देशभित्रको आन्तरिक कारणले उत्तर कोरियाली नेता किमले उक्त भ्रमण रद्द गर्नुभएको क्रेम्लिनका प्रवक्ता दमित्री पेस्कोभले जानकारी दिनुभएको छ ।

यद्यपि उत्तर कोरियाका तर्फबाट भने यस विषयमा कुनै जानकारी दिइएको छैन ।

किमको मस्को भ्रमण उत्तर कोरियाले गत जनवरीमा नै घोषणा गरेको थियो । प्रवक्ता पेस्कोभले भन्नुभयो– नेता किमले अकस्मात सो भ्रमण रद्द गर्न लाग्नुभएको जानकारी हामीले पनि कूटनीतिक स्रोतबाट पाएका छौँ ।

तर उत्तर कोरियाली नेताको भ्रमणका कारण विश्वका अन्य देशले रसियालाई धम्की दिएकोले उत्तर कोरियाली नेताले नै सो भ्रमण रद्द गरेको भनी आएका समाचारहरुको भने मस्कोले खण्डन गरेको छ ।

पेस्कोभले भन्नुभयो– उहाँको भ्रमण रद्द हुनुमा यो कारण पक्का पनि होइन ।

साथै नेता किमले आगामी केही समयमा नै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको कुनै पनि योजना भने नरहेको बताउनुभएको छ ।

प्रवक्ता पेस्कोभले मे ९ को सो समारोहमा विश्वका कम्तीमा पनि ३० देशका र विभिन्न अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रतिनिधिको सहभागिता रहने छ ।

दोस्रो विश्वयुद्धका क्रममा रसियाले जर्मनीका नाजीहरुको विरुद्धमा विजय हासिल गरेकोले मे ९ लाई रसियाले विजय दिवसका रुपमा मनाउने गर्दछ ।

यस अवसरमा उसले विश्वका कैयौँ देशका प्रतिनिधिलाई सहभागिताका लागि आमन्त्रण पनि गर्ने गर्छ ।

प्रतिक्रिया