‘पाँगामा भएको क्षतिबारे सरकारलाई अहिलेसम्म थाहै छैन’

इनेप्लिज २०७२ वैशाख १८ गते ९:४५ मा प्रकाशित

kirtipur-1काठमाडौँ, १८ वैशाख । विनाशकारी भूकम्प गएको एक हप्ता हुँदासमेत सरकारका तर्फबाट कोही पनि नआएको भन्दै कीर्तिपुर नगरपालिका–९ पाँगाका स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।

“भूकम्पका कारण यहाँ १८ जनाको मृत्यु भएको छ, करिब ४० प्रतिशत पुराना घर ध्वस्त भएका छन्, त्यत्तिकै सङ्ख्यामा घर चर्किएका छन् तर हप्ता दिन बितिसक्दासमेत पाँगामा भएको क्षतिबारे सरकारलाई थाहै छैन”, भूकम्पपीडित स्थानीयवासी माधव महर्जनले दुखेसो गर्नुभयो । भूकम्पबाट पाँगामा ७५ जना घाइते भएका छ् ।

“कीर्तिपुर बजारमा कम क्षति भएका कारण कीर्तिपुरभित्र पर्ने अन्य क्षेत्रमा कुनै क्षति भएको छैन भन्ने सरकारले बुझिरहेको छ” उहाँले भन्नुभयो, “चुनावको समयमा त नेताहरू पटक पटक भोट माग्न आउने गर्थे, अहिले यत्रो विपत् पर्दा सहयोगका लागि कोही देखा परेको छैन ।”

भूकम्पपीडित स्थानीयवासी नन्दकुमारी महर्जनका अनुसार पाँगामा मात्र होइन, पाण्डेछाप, थापागाउँ, लङ्गोल र गाम्चालगायत क्षेत्रमा सरकारका तर्फबाट कोही गएको छैन । उहाँका अनुसार अहिलेसम्म सरकारका तर्फबाटै सहयोग नभए पनि विभिन्न निजी सङ्घसंस्थाबाट भने पाँगामा सहयोगको राहत बढ्दै गएको छ । आज बिहान मात्र पाँगामा करिब १५ बोरा चामल, पाँच बोरा आलु, चिउरा, चाउचाउ, पानी, दालमोठ, नुुन, तेललगायत सामग्री राहतस्वरूप वितरण गरिएको स्थानीयवासी विकास महर्जनले बताउनुभयो ।

पाँगामा बिहीबार मात्र विभिन्न सङ्घसंस्थामार्फत १० बोरा चामल, ७० बाकस चाउचाउ, ६५ केजी चिउरालगायत सामग्री वितरण गरिएको थियो । विकासका अनुसार पाँगामा भत्किएका घरलाई व्यवस्थित गर्ने कार्य अहिलेसम्म सुरु भएको छैन । विकासले भन्नुभयो, “हामीलाई सरकारले त कुनै चासो देखाएन देखाएन, नेपाली सञ्चारमाध्यमले पनि वास्ता गरेन, कहाँ बस्ने के खाने, यत्तिकै अलपत्रमा परेका छौँ ।” उहाँले अहिलेसम्म प्राप्त भएको राहत समान रूपमा वितरण भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया