मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०४:३४
वासिङटन डिसी 17:49

घाइतेलाई घरको चिन्ता

इनेप्लिज २०७२ वैशाख १८ गते ९:२२ मा प्रकाशित

10394859_956260411063001_2578311198677128736_nकास्की, १८ वैशाख । गोरखा घ्याल्चोककी ५० वर्षीया उमाया गुरुङको शरीर यतिबेला पोखराको बिरौटामा रहेको बालहितकारी परियोजनाको आवासगृहमा छ ।

शरीरका विभिन्न भागमा चोट । शौचालय जान पनि सहारा चाहिने अवस्था भूकम्पबाट जसोतसो बाँच्नुभएकी उहाँलाई थाहा छ । घ्याल्चोकमा अहिले उहाँको घर छैन । “ घर नभए पनि बुहारी नातिनीहरु सबै उतै छन्”, उहाँले भन्नुभयो, “उनीहरुले के गरे होलान् भनेर मन भने उतै गएको छ ।”

उहाँसँगै बालहितकारी परियोजनाको आश्रयमा रहेका अरु छ जनाको पीडा पनि उस्तै छ । टाउकोमा चोट लागे पनि बाँच्न पाएकामा खुसी देखिनु भएका घ्याल्चोककै सोमबहादुर गुरुङले थप्नुभयो, “घर छैन तर ज्यान छ भन्नुप¥यो, घर नभए पनि मन उतै छ ।”

भूकम्पबाट घाइते हुनुभएका उहाँहरुलाई तीन दिन अगाडि गाउँबाटै उद्धार गरिएपछि उपचारका लागि पोखरा ल्याइएको हो । पोखराका विभिन्न अस्पतालमा उपचारपछि उहाँहरुलाई आराम र हेरचाहका लागि अस्पतालले बालहितकारी परियोजनाको आवासगृहमा पठाएको हो ।

घाइतेहरुलाई चिकित्सकले बढीमा एक महिनासम्म पोखरामै बसेर उपचार गर्न आग्रह गरेको परियोजनाकी कर्मचारी मञ्जु पन्तले बताउनुभयो ।

गोरखाको भच्चेकका सोमबहादुर विकको अवस्था पनि उस्तै छ । उहाँको दाहिँने खुट्टा भाँच्चिएको छ । चार दिनअघि गाउँबाटै उद्धार गरी पश्चिमाञ्चल अस्पतालमा उपचार गराएर पोखराको रामघाटमा रहेको बौद्धअर्घौं सदनमा आश्रय लिई रहनुभएको छ । डाक्टरले उहाँलाई पनि करिब दुई हप्ता यतै बस्न सुझाएका छन् । तर, उहाँको मन भने यता छैन ।

“उहाँ हिजो नै उठेर घर जान्छु पो भन्दै हुनुहुन्थ्यो”, बौद्धअर्घौं सदनका स्वयम्सेवक कर्ण गुरुङले भन्नुभयो, “यहाँ आएका सबैले घरकैमात्र कुरा गर्छन् ।”

बौद्ध अर्घौं सदनमा गोरखाको बगुवा, खरिबोट, बोर्लाङ, भच्चेक, बारपाक, सौरेपानी, कासीगाउँलगायतका क्षेत्रका चार जनाले आश्रय लिएका छन् । उनीहरुलाई थप उपचारका आवश्यकता परेकाले त्यहाँ राखिएको हो । आश्रय लिएका धेरैको टाउको, खुट्टा र जीउमा चोट लागेको छ ।

बौद्धअर्घौं सदनमा डेढ महिनाकी छोरी च्यापेर बस्नु भएकी गोरखा बगुवाकी प्रतिमा बोहोराले आफ्नो घर र माइती दुवैतिर ओत लाग्ने ठाउँ नै नभएको दुःखेसो सुनाउनुभयो । माइतीमा सुत्केरी बस्न गएकै बेला आएको भूकम्पमा परी उहाँ घाइते हुनुभएको हो । “झलुङ्गोमा नानी सुताउँदै गर्दा आएको भूकम्पले सखापै बनायो तर घर कहिले फर्कौंजस्तो भने भइरहेको छ ।”

अस्पतालले घर फर्कन अनुमति दिएका र अर्घौं सदनमा आश्रय लिएकामध्ये केही भनेजस्तो होला भनेर घरतिरै फर्किएको सदनका स्वयम्सेवक कर्ण गुरुङले बताउनुभयो । “ थप हेरचाह र उपचार आवश्यक पर्नेहरु भने यहीँ हुनुहुन्छ”–उहाँले थप्नुभयो । विभिन्न दाताहरुले खाद्यान्न, लत्ताकपडा र नगदसमेत प्रदान गरेकाले त्यहाँ सुत्न र बस्नलाई समस्या नभएको उहाँको भनाइ छ ।

गोरखा बारपाककी ७२ वर्षीया केशरीमाया विकले भूकम्पको त्रासदी सम्झँदै भन्नुभयो, “घर सम्झँदा भने मनै चिरिन्छ ।”

भारतीय वायु सेनाको विमानबाट उद्धार गरिएकी गोरखा बारपाककी ७२ वर्षीया केशरीमाया विक अहिले पोखराको फिस्टेल अस्पतालमा आफूजस्तै भूकम्पपीडित माझ हुनुहुन्छ । घरका छ जनालाई केही पनि नभएको भने उहाँ खुसी नै हुुनुहुन्छ । घर भत्कँदा नालले घाँटीमा किचे पनि भाग्यले गर्दा आफू बाँचेको बताउने उहाँले भन्नुभयो, “अस्पताल आएपछि बाँच्छु भन्ने भयो तर अगुल्टाले हानेको कुकुर जस्तै हालत छ , उता फेरि भूकम्प आउने पो हो कि ? ”

उहाँजस्तै बारपाककै ७० वर्षीया हरिमाया विक भूकम्प आउँदा घरमै हुनुहुन्थ्यो । “अरुलाई केही भएन, म सुतेको थिएँ, घरको गारो मैमाथि ओइरियो”, आफ्नो प्लास्टर गरेको हात बलपूर्वक चलाउन खोज्दै उहाँले भन्नुभयो, “धन्न जोगिएछु भन्ने भएको छ, घरको चिन्ता भने लागिरहन्छ ।”

पश्चिमाञ्चल अस्पतालबाट भर्खरै घर फिर्ता हुनुभएका गोरखा जिल्ला गुम्दा–३ का जसबहादुर गुरुङ ११ वर्षीया छोरी वीणासहित अहिले पोखरामा हुनुहुन्छ । खेल्न गएकी छोरी छिमेकीको घर भत्कँदा पुरिएपछि जोगाउन खोज्दा आफूसमेत घाइते हुनु भएका उहाँले भन्नुभयो, “घर जान मन छ, घर सबै भत्किएको छ, जमिन चिरिएको छ तर पनि आफ्नै ठाउँ हो सक्दो छिटो उतै जानुपर्ला ।” उहाँका अनुसार १५० धुरी भएको गुम्दा गाउँमा एउटै पनि सग्ला घर छैनन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका १०५ जनामध्ये अहिले अस्पतालको श्ययामा ४९ जनामात्र बाँकी छन् । त्यसैगरी मणिपाल शिक्षण अस्पतालमा २५ जनाले उपचार गराइरहेका छन् भने गण्डकी मेडिकल कलेज, फेवा सिटी र फिस्टेल हस्पतालमा क्रमशः ४२, १४ र छ जना बिरामी रहेका कास्की जिल्ला दैवी प्रकोप उद्धार समितिका सचिव तथा कास्कीका स्थानीय विकास अधिकारी ताराप्रसाद अधिकारीले जनाउनुभयो ।

उद्धार जारी रहेकाले घाइते थपिने क्रम पनि निरन्तर रहेको उहाँको भनाइ छ । हिजोमात्र गोरखाका विभिन्न ठाउँबाट ल्याइएका १७ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि घर फर्कन नसक्नेलाई परोपकारी संस्थाको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया