सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:३५
वासिङटन डिसी 20:50

काँग्रेसको समावेशी प्रशिक्षण स्थगित

इनेप्लिज २०७२ वैशाख १७ गते १३:०७ मा प्रकाशित

congress_flagकाठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको समावेशी प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।

मुलुकमा आइपरेको भूकम्पको महाविपत्तिका कारण काँग्रेसका नेता तथा कार्यकर्तासमेत उद्धार कार्यमा लाग्नुपर्ने भएकाले प्रशिक्षण स्थगित गरिएको प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँले यही वैशाख १७ गते सुर्खेतमा, २३ गते लहानमा र २५ गते विराटनगरमा प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको थियो । प्रतिष्ठानले यसअघि पनि केही ठाउँमा प्रशिक्षण सम्पन्न गरिसकेको थियो ।

तीन ठाउँका लागि तोकिएको प्रशिक्षण अहिलेका लागि स्थगित गरिएको भए पनि चाँडै नै अनुकूल समय मिलाएर आयोजना गरिने प्रतिष्ठानका प्रमुख पौडेलले बताउनुभयो ।

हिउँदे अधिवेशन बोलाउन उपसभापति पौडेलको सुझाव

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले केही दिनका लागि मात्रै भए पनि हिउँदे अधिवेशन बोलाउँदा उपयुक्त हुने बताउनुभएको छ । उहाँले केही दिनका लागि मात्रै भए पनि हिउँदे अधिवेशन बोलाउन आफूहरुले प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएको बताउनुभयो ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय समाचार समितिलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभापति पौडेलले हिउँदे अधिवेशनका बारेमा प्रधानमन्त्री कोइरालाले चाँडै निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अधिवेशन बोलाउने जिम्मेवारी प्रधानमन्त्रीको भएकाले उहाँलाई आफूहरुले सुझाव मात्रै दिन सक्ने स्पष्ट पार्नुभयो । अन्य पार्टीका नेतासँग पनि प्रधानमन्त्री कोइरालाले हिउँदे अधिवेशन बोलाउने की नबोलाउने भन्नेबारेमा परामर्श गरिरहनुभएको उपसभापति पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसको अनुगमन समिति सक्रिय

भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि भइरहेका गतिविधिको अनुगमन गर्न नेपाली काँग्रेसद्वारा गठित अनुगमन समितिले भूकम्प प्रभावित सबै जिल्लामा अनुगमन समिति बनाउन निर्देशन दिएको छ ।

समितिले प्रभावित सबै जिल्लामा काँग्रेसका जिल्ला सभापतिको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएर उद्धार, राहत र पुनःस्थापनमा जुट्न आग्रह गरेको हो ।

पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको समितिले आज विज्ञप्ति जारी गर्दै पाल, पानी, खाद्यान्नलगायतका अत्यावश्यक वस्तु भूकम्प प्रभावित क्षेत्रमा पु¥याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

साथै विपत्को यस घडीमा धैर्यधारण गर्न पनि समितिले सबैलाई अनुरोध गरेको संयोजक देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिले आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक वस्तुको पर्याप्तता कतिको छ र के कसरी काम अगाडि बढिरहेको छ भन्नेबारेमा जानकारी लिएको समितिका सदस्य चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया