पानीका कारण भूकम्प पीडितको जनजीवन प्रभावित, साँझबाट मौसममा सुधार आउने

इनेप्लिज २०७२ वैशाख १७ गते २:४८ मा प्रकाशित

earth-quake51-650x431काठमाडौँ, १७ वैशाख । उपत्यकासहित आसपासका जिल्लामा गएरातिदेखि नै निरन्तर वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

शनिबार र आइतबारको विनाशकारी भूकम्पका कारण घरबारविहीन भएर खाली स्थान र बारीको पाटामा दिनरात बिताइरहेका भूकम्प पीडितहरूले निरन्तर पानीका कारण थप पीडा भोग्नुपरेको अवस्था छ ।
मौसमविद् बरुण पौडेलले काठमाडौँ उपत्यका र पश्चिममा पोखरा र पूर्वमा ताप्लेजुङलगायतका क्षेत्रसम्म पानी परिरहेको र आज बेलुकादेखि विस्तारै मौसममा सुधार आउने र पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने बताउनुभयो ।

उहाँका अनुसार न्यूनचापीय क्षेत्रको विकाससँगै क्युमोलोनिम्स बादलको प्रभावका कारण मौसम बदली भई आज दिउँसो देशका मध्य तथा पूर्वी भेगमा मेघ गर्जनसहित वर्षा हुन सक्छ । ठूलो वर्षा नभए पनि सिमसिम पानी दिनभरी नै आउने र बेलुकादेखि सुधार हँुदै जाने अनुमान छ ।
भारतको उत्तराखण्डबाट गत सोमबार राति सुरु भएको वायु मङ्गलबार बिहान नेपालको पश्चिमी भेगबाट प्रवेश गरी अहिले मध्यभेगमा आइपुगेकाले काठमाडौँ र आसपासका जिल्लामा असर परेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

पानीसँग भूकम्पको सम्बन्ध संयोग मात्रै

बादलले आकास मडारिएर पानी पर्दा भूकम्पको त्रासदीमा रहेका जनतामा पानी पर्नाले पुनः भूकम्प आउने हो कि भन्ने त्रास छ भने डराउनेपर्ने अवस्था छैन, भूकम्प र पानी पर्नुको कुनै सम्बन्ध नरहेको मौसमविद्ले बताएका छन् ।

मौसम जमिनमाथिको वायुमण्डलसँग सम्बन्धित भएको र भूकम्प जमिनमुनिको २०÷३० मिटर तलको भूगर्भिक तरङ्गसँग जोडिएकाले दुईको कुनै आपसमा सम्बन्ध नभएको जानकारी भूकम्पविद् डिल्लीराम तिवारीले दिनुभयो ।

मौसमविद् बरुण पौडेलले पनि मौसम र भूकम्प फरक विषय भएकाले यिनको कुनै सम्बन्ध नहुने भएकाले यसबाट त्रसित नहुन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया