मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १७:१६
वासिङटन डिसी 06:31

प्रधानमन्त्री घाइतेको अवस्था बुझ्न सैनिक अस्पतालमा

इनेप्लिज २०७२ वैशाख १६ गते ११:३० मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaकाठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न आज छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल पुग्नुभएको छ ।

शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३६३ जनाको उपचार सो अस्पतालमा भइरहेको छ ।

प्रधानमन्त्री कोइरालाले घाइतेको अवस्था बुझ्दै “नआत्तिनुस्, धैर्य गर्नुस, राम्रो उपचार हुन्छ” भनी घाइतेप्रति सहानुभूति व्यक्त गर्नुभयो ।

सो क्रममा प्रधानसेनापति गौरवशम्शेर जवराले घाइतेको उद्धार तथा उपचारमा सेनाले गरिरहेका विभिन्न प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।

विनाशकारी भूकम्पबाट काभ्रे, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लाबाट सेनाले हालसम्म उद्धार गरी ७११ घाइते ल्याएकामा त्यसमध्ये अहिले ३६३ जनाको सो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले हालसम्म दुई दर्जनभन्दा बढी घाइतेको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

भूकम्पबाट अस्पतालमा समेत केही क्षति भएकाले उद्धार गरी ल्याइएका सम्पूर्ण घाइतेको उपचार हाल अस्पताल परिसरमा टेन्टमा राखेर भइरहेको सहायक रथी ब्रजेन्द्र श्रीवास्तवले राससलाई जानकारी दिनुभयो ।

उद्धार गरी ल्याइएका घाइतेको उपचारका लागि नेपाली सेनाबाहेक इजरायल, भारत, चीनलगायतका मुलुकले पनि छुट्टै एकाइ स्थापना गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया