शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०६:५३
वासिङटन डिसी 20:08

भूकम्पको प्रभाव कम भएपछि काठमाडौँको जनजीवन सामान्य बन्दै

इनेप्लिज २०७२ वैशाख १६ गते ९:५४ मा प्रकाशित

banda-kulyoकाठमाडौँ, १६ वैशाख । शनिबार गएको विनाशकारी भूकम्पको प्रभाव कम भएपछि काठमाडौँमा विस्तारै त्रसित जनजीवन सामान्य बन्दै गएको छ ।

विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिपछि त्रसित भएका सर्वसाधारण आजदेखि नियमित आफ्नो दैनिक जीवनशैलीमा फर्किन थालेका छन् ।
शनिबार गएको भूकम्पका पराकम्प आउन कम हुँदै गएपछि सम्भावित खतराका कारण घरबाहिर खुलास्थान र चौरमा रात बिताउँदै आएका सर्वसाधारण आ–आफ्ना घरमा बस्न थालेका छन् ।

भूकम्पको डरले चाउचाउ, चिउरालगायत सुख्खा खानेकुरा खाएर खुलास्थान मै दिनरात बिताउन बाध्य सर्वसाधारण जनजीवन सामान्य बन्दै गएपछि आफ्नै घरमा खाना पकाएर खान थालेका छन् ।

भूकम्पपछि सुनसान देखिएको सडक तथा बस्तीमा चहलपहल बढ्न थालेको छ भने पसल पनि खुल्दैछन् । दैनिक आवश्यकताका खानेकुरा, पानी तथा अन्य आवश्यक सामग्रीको आपूर्ति पनि सहज हुन थालेको छ ।

सर्वसाधारण आफ्ना घरमा बस्न थालेपछि राजधानीमा सरकारलाई उद्धार र राहत कार्य अघि बढाउन सहज भएको छ । साथै, सरसफाई व्यवस्थापन, खानेकुरा, टेण्ट वितरण तथा स्वास्थ्य उपचारको समस्या समेत कम भएको छ ।

शनिबार गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म करिब पाँच हजारको मृत्यु भएको खबर प्राप्त भएको छ भने हजारौँ मानिस घरबारविहीन हुनुका साथै ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पको असर कम भएसँगै राजधानीबाट बाहिरिने यात्रुको चाप भने निकै बढेको छ । राजधानीमा खानेकुराको अभाव तथा सम्भावित महामारीको हल्लाका कारण भूकम्पपछि आ–आफ्ना घर प्रस्थान गर्ने सर्वसाधारणको घुइँचो लागेको छ ।

यात्रुको अत्यधिक चापका कारण प्रहरीलाई लाइन व्यवस्थित तुल्याउन तथा ट्राफिक प्रहरीलाई यातायातका साधनलाई आवतजावतलाई सहज तुल्याउन हम्मेहम्मे परेको छ ।

सरकारले निजी क्षेत्रका शैक्षिक संस्थाको सङ्गठन प्याब्सन, एन प्याब्सन र हिसानसँग समन्वय गरेर उनीहरुले उपलब्ध गराउने बसमा यात्रुलाई उपत्यका बाहिर पठाउने चाँजोपाँजो मिलाएको हो ।

ती संस्थाले पूर्व तथा पश्चिम क्षेत्र जाने यात्रुलाई काठमाडौँबाट पहिलो गन्तव्यका रुपमा नारायणगढसम्म पु¥याउने र त्यसपछि त्यहाँबाट अर्काे बसबाट सरकारले तोकेको अर्काे गन्तव्यस्थल लैजाने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया