विनाशकारी भूकम्पबाट ४०० जनाको मृत्यु, उद्धारमा ढिलाइ हेलिकप्टर कुर्दाकुर्दै घाइतेको मृत्यु

इनेप्लिज २०७२ वैशाख १५ गते १२:१२ मा प्रकाशित

vukampa-kavreगोरखाबजार, १५ वैशाख । बारपाक केन्द्रबिन्दु रहेर गत शनिबार बिहान ११ः५६ बजे गएको विनाशकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको छ ।

सयौँ अरुको मृत्यु भएको अनुमान छ । जिल्लाका ६५ हजार ९३७ घरधुरीमध्ये करिब ९० प्रतिशत घर भत्केको प्रअिज उद्धव तिमल्सिनाले जानकारी दिनुभयो । सदरमुकामको पाटेचौर, ढाँड, पस्लाङ, बाह्रकिलोलगायत क्षेत्रमा पनि कच्ची र पक्की घर भत्केको छ ।

बारपाक केन्द्रबिन्दु भएर गएको पहिलो ७.८ रिक्टर स्केलको भूकम्पमा परी बारपाकका सबैभन्दा धेरै १०२ जनाको मृत्यु भएको छ । सोही गाविसका मात्र एक सयभन्दा धेरैको मृत्यु भएको अनुमान छ । त्यहाँ उद्धारको काम भइरहेको छ । सो गाविसको एकै ठाउँमा रहेका १२७४ घरधुरीमध्ये करिब एक दर्जन कंक्रिट ढलान गरिएका बाहेक सबै घर पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै अन्य वडामा रहेका करिब ४०० घर पनि पूर्ण रुपमा नष्ट भएको स्थानीयवासी हरि घलेले बताउनुभयो । वडा १, २, ७ र ८ मा अहिले उद्धार टोलीले शव निकाल्न सुरु गरेको छ ।

उद्धारमा ढिलाइ भएपछि घाइतेको मृत्यु भएको छ । सौरपानी र आरुआर्वाङमा एक एक घाइतेको आज मृत्यु भएको हो । हेलिकप्टरको पर्खाइमा रहेका घाइतेको समयमै उद्धार हुन नसक्दा उनीहरुको निधन भएको हो । बारपाक, थुमी, लापु, सिम्जुङ, सौरपानी, लाप्राक, केरौँजा, उहिया, गुम्दा, मुच्चोक र मान्बु गाविसमा जनधनको क्षति भएको छ । अहिलेसम्म प्राप्त जानकारीअनुसार थुमीमा २६, मान्बुमा २३, लापुमा २१, सिम्जुङमा ७१, मुच्चोकमा १४ र सौरपानीमा १२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै लाप्राकमा १५ भन्दा बढीको मृत्यु भएको छ ।

गुम्दा, केरौँजा, कासीगाउँ र उहियाँमा डाँडै पहिरिएको र बस्ती पुरिएको र गाउँ सबै भत्केका कारण कति जना मरेका छन् भन्ने यकिन गर्न नसकिएको प्रजिअ तिमल्सिनाले बताउनुभयो । ती गाविसका सबै घर ध्वस्त भएको छ । उद्धारमा ढिलाइ हुँदा घरभित्र चेपिएका घाइतेको उपचार गर्न सकिएको छैन । लाप्राकमा रहेका २५ घाइतेलाई उद्धार गर्न सकिएको छैन । सडक नपुगेको उक्त गाविसमा हेलिकप्टरले घाइतेको उद्धार गर्ने प्रजिअ तिमल्सिनाको भनाइ छ । अहिले एउटा हेलिकप्टरले पाँच घाइतेलाई उद्धार गरी पोखरा पु¥याएको छ । चारदिनदेखि उक्त क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर अवतरण हुन सकेको थिएन ।

कासीगाउँ, केरौँजा, गुम्दा, उहिया र लाप्राक गाउँबाट जङ्गलमा गोठालो गएका र बाटो हिँडिरहेकाहरु पनि हराइरहेका छन् । धेरै डाँडा पहिरिएको, जताततै बाटो अवरुद्ध भएको र टेलिफोन अवरुद्ध भएका कारण सयौँको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । बारपाकबाहेक दुर्घटनाग्रस्त अन्य गाउँमा चेपिएका, पुरिएकाहरुलाई आज चौथो दिनसम्म पनि उद्धार गर्न सकिएको छैन । राहत सामग्री वितरणमा ढिलाइ भएपछि गाउँमा रहेका स्थानीयवासी भोकभोकै खुला आकाशमुनि बस्न बाध्य छन् ।

आज छ हेलिकप्टरले घाइतेको उद्धार गरिरहेको छ । भारतीय वायु सेवा निगमको हेलिकप्टर अवतरण गर्न नसकेर फर्केको छ । गोरखाको हरमटारीस्थित रङ्गशालामा अवतरण गर्न नसकेपछि पोखरा फर्किएको हो । रङ्गशालामा धुलो बढी उडेका कारण देखाएर हेलिकप्टर फर्केको हो । उक्त हेलिकप्टर पुनः गोरखा आउने तयारीमा रहेको प्रजिअ तिमल्सिनाले बताउनुभयो । हेलिकप्टरले सौरपानी, मान्बु, लाप्राक, केरौँजा, घ्याच्चोक, सिर्दिवासलगायत ठाउँबाट घाइतेको उद्धार गरिरहेको छ । केही घाइतेलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ । अन्य घाइतेलाई कास्की, काठमाडौँ र चितवनका अस्पतालमा उपचार गरिएको हो ।

हेलिकप्टर पुगेको गाउँमा राहत सामग्री लगिएको छ । भूकम्पले गर्दा पानीको स्रोत हराएपछि उत्तरी गोरखाको गाउँमा पिउने पानीको अभाव देखिएको छ । पैदलमार्ग पहिराले भत्केपछि एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । राहत सामग्री नपाएपछि स्थानीयवासी आक्रोशित छन् । राहत सङ्कलन भए पनि प्रभावकारी रुपमा वितरण भएको छैन ।

प्रतिक्रिया