बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १६:१७
वासिङटन डिसी 05:32

एघार जिल्लाका २० लाख अति प्रभावित पीडितलाई सघाउन अहोरात्र खट्ने प्रतिबद्धता

इनेप्लिज २०७२ वैशाख १५ गते १२:१० मा प्रकाशित

Bhukampa-Chitwan1-650x488काठमाडौंँ १५ वैशाख । प्रतिकूल मौसमका कारण भूकम्पबाट बढी प्रभावित पहाडी भेगमा उद्धार तथा राहतका काम चुनौतीपूर्ण बनेको बताउँदै नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले पीडितलाई सघाउन अन्तर्राष्ट्रिय समुदायले अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आज अपराह्न ललितपुरस्थित उक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घका मानवीय समन्वयकर्ता जेम्स म्याकगोल्डरिकले नेपाल सरकारसँग मिलेर उद्धार तथा राहतका काममा राष्ट्रसङ्घीय टोली लागिरहेको जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित ३९ जिल्लाका ८० लाखमध्ये ११ जिल्लाका २० लाख अति प्रभावित भएको जानकारी दिँदै उहाँले आवास, स्वास्थ्य, सुरक्षा र खाद्य पहिलो प्राथमिकता भएको बताउनुभयो । “ती जिल्लाका १४ लाख सर्वसाधारणलाई तत्काल खाद्य सहयोग आवश्यक भएको छ,”– सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षणपछिको वस्तुस्थिति प्रस्तुत गर्दै उहाँले भन्नुभयो ।

मानवीय सहायता तथा उद्धारका काम द्रुत गतिमा अघि बढाउन राष्ट्र सङ्घले एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराएको जानकारी दिँदै उहाँले अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । भूकम्पबाट घरवारविहीन भएकाहरूलाई मनसुन प्रारम्भ हुनुअगावै व्यवस्थित वासको व्यवस्था गर्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै उहाँले गुणस्तरीय त्रिपालको प्रबन्ध गर्न राष्ट्रसङ्घ लागिपरेको बताउनुभयो ।

नेपाल सरकारले रेडक्रसलगायत सामाजिक सङ्घसंस्था, स्थानीय बासिन्दा र नागरिक समाजको सहयोगमा गरेका खोजी, उद्धार तथा राहतका कार्यक्रमको सराहना गर्दै मानवीय समन्वयकर्ता गोल्डरिकले स्थानीय विकास अधिकारी र प्रजिअले आफ्ना घरपरिवारको समस्या भए पनि कार्यस्थलमा खटेर काम गर्नु प्रशंसनीय भएको बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले अन्तर्राष्ट्रिय समुदायबाट प्रदान गरिएका राहत तथा उद्धारका सामान ल्याउन प्रारम्भमा केही कठिनाइ भए पनि बितेका २४ घन्टामा धेरै सुधार भएकाले हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । “चौबिसै घन्टा विमानस्थल सञ्चालनमा छ, मालसामान र बन्दोबस्तीका सामग्री ढुवानीमा समस्या नहुनेमा हामी विश्वस्त छौँ,”– विमानस्थलको सुदृढ अवस्थाबारे स्पष्ट गर्दै उहाँले भन्नुभयो ।

नेपालमा कार्यरत अन्तर्राष्ट्रिय दातृनिकायका साथै बहुपक्षीय एवम् द्विपक्षीय निकायको बुधबार बैठक हुने र थप सहायता घोषणा हुने जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया