शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०७:०३
वासिङटन डिसी 20:18

भूकम्पको त्रासदी शारीरिक पीडाभन्दा चर्को

इनेप्लिज २०७२ वैशाख १५ गते १२:०७ मा प्रकाशित

नारायण अधिकारी

SAN4272चितवन, १५ वैशाख । विनासकारी भूकम्पका कारण घाइते भएका गोरखावासीहरु अस्पतालको श्ययामा पनि झस्किइरहेका छन् । आँखै अगाडि आफन्त, छिमेकी गुमाएका र रगत पसिना खर्चिएर जोडेको घर गुमाएका उनीहरु शारीरिक पीडाभन्दा भूकम्पका बेला देखेको तस्बिर आँखामा घुमिरहेको बताउँछन् ।

अधिकांश घाइतेले समयमा उद्धार नभएको पीडा पोखेका छन् । विनासकारी भूकम्पको केन्द्र परेको गोरखाका अधिकांश घरमा क्षति पुगेको छ । चितवनको भरतपुर अस्पतालमा ल्याइपु¥याइएका अधिकांश घाइतेले आफ्नो गाउँमा कुनै घर बस्नलायक नभएको बताएका छन् ।

घाइतेसँगै आएका आफन्तहरु नरोइ बोल्न सकेका छैनन् । गोरखा छोप्राक–५ का ३३ वर्षीय अर्जुन पोख्रेलको दुवै खुट्टामा गहिरो चोट छ । ढिलो गरी उद्धार भएको भन्दै उहाँले सिङ्गो बस्ती उजाड बनेको दुःखेसो पोख्नुभयो । सँगै आउनुभएका अर्जुनका बुबा सूर्यप्रसादले आफ्नै घरको गारोले किचिएका अर्जुनलाई उद्धार गरी ल्याएको बताउनुभयो ।

बस्ती उजाड हुँदा समेत सहयोग नपाएको उहाँको गुनासो छ । गाउँका कच्ची घर कुनै पनि नरहेको र घरमा किचिएकाहरुको समयमै उद्धार हुन नसकेको उहाँले गुनासो गर्नुभयो । गोरखाको धावा–४ चौताराका ३३ वर्षीय होमनाथ भट्ट दुई घरको बीचमा पूरै शरीर च्यापिएर गम्भीर घाइते हुनुहुन्छ ।

घाइते लिएर आउनुभएका दाजु सूर्य भट्टका अनुसार थाहा पाएअनुसार एक जना गाउँलेको मृत्यु भएको छ भने अनगिन्ती घाइते छन् । गाउँको १७० घर पूरै ध्वस्त भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मान्छे पुरिएका छन्, घर सबै भत्किएका छन्, पशु मरेका छन्, बाँचेकाहरुको बस्ने र खाने टुङ्गो छैन ।” धावा–३ कै ७२ वर्षीया सीता भट्टराई बोल्न सक्ने अवस्थामा हुनुहुन्न । दाहिने हातमा गम्भीर चोट लागेको उहाँको आँखाबाट आँशु बगिरहेको छ ।

गम्भीर भएका धेरैलाई पोखरा लगिएको घाइतेका आफन्तहरुले बताएका छन् । ताक्लुङ–५ का १७ वर्षीय विनोद तामाङ खाना खाँदाखाँदै घरले चेपेको बताउनुहुन्छ । उहाँको दाहिने हात भाँच्चिएको छ भने शरीरभरी घाउ छ । घाइतेका आफन्तका अनुसार जिल्लाभरको अवस्था नाजुक भए पनि उद्धार र राहत पुग्न सकेको छैन । गोरखा हंसपुर क्षेत्रका सबै घर भत्किएको होमनाथ दवाडीले बताउनुभयो ।

बालकदेखि वृद्धसम्म खुल्ला आकाशमुनि रात काट्न बाध्य भएको खरिबोटका गोपाल धितालले बताउनुभयो । घाइते लिएर आएकाहरुले बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, लाकुजस्ता क्षेत्रमा धेरै हताहत भएको सुनेको बताएका छन् ।

धादिङवासीको पीडा

धादिङबाट उपचारका लागि भरतपुर आइपुगेका भूकम्पबाट घाइते भएकाहरुको पीडा दर्दनाक छ । खाना खाँदाखाँदै घरले किचेर आमा र हजुरआमा गुमाउनुभएकी जीवनमाया तामाङ उहाँहरुलाई सम्झिएर अस्पतालको श्ययामा रोइरहनु भइको छ ।

सिमरामा बिवाह गरेर जानु भएकी २१ वर्षीया तामाङ धादिङको सतिदेवी–७ मा माइत गएकै बेला यो प्रलय भयो । यही वैशाख २७ गते बच्चा जन्मने समय चिकित्सकले दिएका छन् । “दायाँ खुट्टा भाँच्चिएको छ, पेटमा जन्मने बेलाको बच्चा छ, आमा र हजुरआमा आफ्नै आँखा अगाडि गुमाएँ,” रुँदै उहाँले दुःखेसो पोख्नुभयो ।

धादिङबँेसीबाट पाँच घन्टाको दूरीमा रहेकी तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । धादिङकै अर्की एक महिला काशीमाया आँखै अगाडि दुई छोरा गुमाएपछि अचेत हुनुहुन्छ । घरले च्यापिएर सिकिस्त उहाँको आजै शल्यक्रिया गरिएको छ ।

धादिङको कुम्पुर ५ पोखरी की ८५ वर्षीया फुलमायाँ मगर बोल्ने अवस्थामा हुनुहुन्न । भूकम्पले घर भत्काएपछि भाग्न नसक्दा किचिएर उहाँ घाइते हुनु भएको हो । चैनपुर ९ की १८ वर्षीया कोपिला शाक्यलाई भत्किएको घरको भग्नावशेप पन्छाएर उद्धार गरेर अस्पताल ल्याइएको छ ।

आमा रीताका अनुसार दुई वटा घरले च्यापिएकी छोरीलाई ढुङ्गा खोतलेर बल्लतल्ल निकालिएको हो । गाउँको अवस्था दर्दनाक रहेको घाइतेका आफन्तहरुले बताएका छन् । धादिङका पनि ग्रामीण क्षेत्रमा उद्धार हुन नसकेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । चितवनका अस्पतालहरुमा धादिङ, गोरखा, मकवानपुर, नुवाकोट, रसुवा, ललितपुरलगायतका जिल्लाबाट २३७ जना घाइते उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले बताउनुभएको छ ।

प्रतिक्रिया