सावधान ! विनाशकारी भूकम्पले महामारी निम्त्याउन सक्छ
कालिका खड्का
काठमाडौँ, १५ वैशाख । विनाशकारी भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपनि खुल्ला स्थानमा दिनरात काट्दै आएकाले स्वस्थ रहनका लागि सावधान हुनुपर्ने जरुरी छ ।
विनाशकारी भूकम्पका कारण ३५ जिल्लाका मानिसहरु त्रासले घरमा बस्न सकिरहेका छैनन् । ग्रामीण क्षेत्रका अधिकांश घर भत्किएका छन् । कैयौँ मानिसको मृत्यु भएको छ । हजारौँ पशुपन्छी मरेका छन् ।
भूकम्पबाट मरेका जीवजन्तु तथा मानिसका शव सडेर झाडापखालाले महामारीको रुप लिन सक्ने खतरा भएकाले ख्याल राख्नुपर्छ । भूकम्पको त्रासले आश्रय लिँदै खुल्लाचौर, सड्क, खोला किनार, बारीको बसाईका क्रममा जथाभावी फोहोर, दिशापिसाव गर्नाले र हात सफा नगरीकन खानेकुरा खानाले पनि मानिसहरुमा रोग लाग्न सक्छ ।
काठमाडौँ उपत्यकाकै दशरथ रङ्गशाला, टुँडिखेल (सैनिक मञ्च), खुल्ला मञ्च, विभिन्न नदीका किनार, विद्यालय, क्याम्पसलगायतका स्थानमा भूकम्प पीडितहरु आश्रय लिइ बसिरहेका छन् । उनीहरुले हात धुनका लागि समेत पानीको अभाव भएको बताएका छन् ।
खुल्ला मञ्चमा तीन दिनेदेखि बस्दै आउनुभएका सीतादेवी अधिकारीले भन्नुभयो, “पिउनका लागि त पानी छैन, हात धुने त कुरै छैन, शौचालय गएर सफा गर्ने पानी छैन ।”
घुम्ती शौचालयको अभाव र अस्थायी शौचालयहरु पनि भरिएका कारण जथाभावी दिशापिसाव गर्नाले वातावरण प्रदुषित भइ झाडापखाला लाग्न सक्ने खतरा शहरदेखि ग्रामीण क्षेत्रसम्म छ ।
इपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले भूकम्पपछि जीवजन्तु सड्ने, जथाभावी दिशापिसाबका कारणले झाडापखालाजस्ता अन्य रोगको महामारी फैलिने भएकाले सावधान रहनुपर्ने बताउनुभयो ।
डा मरासिनीले रोगबाट बच्नका लागि विभिन्न पाँच उपायहरु बताउनुभएको छ ।
पहिलो: सफा पानीको प्रयोग गर्नुपर्छ । पानी सफा र उमालेर मात्र पिउने वा पानीमा पीयुश वा झोल चक्की हालेर मात्र प्रयोग गर्नुपर्छ ।
दोस्रो: खाद्य पदार्थ तातो र ताजा मात्रै खानुपर्छ । बासी खाना खानाले झाडापखाला लाग्न सक्छ ।
तेस्रो: हात सफा राख्ने । खानेकुरा खानुभन्दा अगाडि सावुन पानीले हात धुनुपर्छ । यदि सावुन पानीको व्यवस्था नभएमा चम्चाको प्रयोग गर्नुपर्छ ।
चौथोः बसेको शिविर वा खाली स्थान वरपर सफा राख्नुपर्छ । जथाभावी फोहोर नफाल्ने । बृद्धबृद्धा, बालबालिका र सुत्केरी वा गर्भवती महिला भए अझ ध्यान दिनु पर्छ ।
पाँचौँ: खुल्ला स्थानमा दिशापिसाव गर्नु हुँदैन । त्यसले गर्दा दुगन्ध फैलिएर रोग फैलिन सक्छ ।
यी माथि उल्लेख गरिएका उपायहरु अपनाए रोगको महामारीबाट बच्न सकिने डा मरासिनीको भनाई छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया