शनिबार, मंसिर २० २०७७
काठमाडौं १७:१२
वासिङटन डिसी 06:27

खुला आकाशमुनि बसाइ: सरकारको राहत महसुस नभएको गुनासो

इनेप्लिज २०७२ वैशाख १४ गते १२:१७ मा प्रकाशित

कालिका खड्का / सुशील दर्नाल

960_earthquake_day-31

काठमाडौँ, १४ वैशाख । विनाशकारी महाभूकम्पको त्रासले सहरका विभिन्न खुला आकाशमुनि दिनरात काटेका नेपाली नागरिकले सरकारको राहत महसुस गर्न नपाएको गुनासो गरेका छन् ।

शनिबारदेखि गएको भूकम्पको त्रासले घरमा बस्न नसकी आआफ्नो आसपासका खाली स्थानमा बस्दै आएका नागरिकले सरकारी राहत नाममा ओतका लागि पाल र पिउने पानीसमेत नपाएको बताएका हुन् । भूकम्प पुनः आइरहने त्रासले खुलामञ्चमा तीन दिनदेखि बस्दै आउनुभएकी रेनु श्रेष्ठले भन्नुभयो, “खै तीन दिनसम्म सरकारी राहतको नाममा पिउने पानीसम्म त पाएका छैनौँ, बस्नका लागि पालको त कुरै छाडौँ ।”
जनतामा चिन्ता र त्रास फैलँदा पनि सरकारले सहयोग नगरेको खुलामञ्चमा बस्दै आएकी हिमा भुजेलले पनि दुःखेसो गर्नुभयो ।

“फेरि भूकम्प आउला जस्तो लाग्छ, घरमा बस्न सक्ने अवस्था छैन, राति हावाहुरी र पानीले भिजेर बिरामी पर्न लागिसकियो”, भृकुटीमण्डपको उद्यानमा बसिरहनुभएकी सरस्वती गौतमले गुनासो गर्नुभयो ।

भूकम्पको त्रासले सुरक्षाका लागि सिंहदरबारभित्र पूर्वी ढोकातर्फ बस्नुभएकी वसन्ता कार्कीले “सिंहदरबारभित्र बस्नेहरुले त एउटा पालसम्म पाएका छैनन् भने अरुले के राहत पाउलान् ?” प्रश्नको शैलीमा आक्रोश व्यक्त गर्नुभयो ।

भारतीय राजदूतावासका पूर्वकर्मचारी अजयकुमार दासले आफूहरु खुलामञ्चमा दिनरात बसेको तीन दिन बितिसक्दा पनि सरकार छ भन्ने अनुभव गर्न नपाएको सुनाउनुभयो ।

सुत्केरी, वृद्धवद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी र बालबालिका पनि खुला चौरमा बसेका छन् । भूकम्पपीडितलाई पानीले झन् पीडा दिएको छ ।

गृह मन्त्रालयका अनुसार वास्तविक पीडित पहिचान गरी पाल, खाद्य सामग्रीलगायत वितरण गर्न कुनै कसर बाँकी नरहेको जनाएको छ भने आजै भारत सरकारको सहयोगबाट प्राप्त खाजास्वरुप खाद्यान्न नेपाली सेनाले बाँडेको छ ।

अव्यवस्थित सहरीकरणका कारण मानिस काठमाडौँ उपत्यकामा खाली ठाउँ खोज्दै हिँडेका छन् । खाली ठाउँ खोज्ने क्रममा आफू बसेको स्थानबाट निकै टाढा टाढासम्म आश्रय खोज्दै हिँडेका छन् ।

कहाँ कहाँ आश्रय
राष्ट्रपति निवासभित्रको प्राङ्गणमा पनि पालमा मानिस बसेका छन् । त्यहाँ बस्नेलाई खाजा, पानी दुई पटक दिइरहेको बताइएको छ ।
त्यस्तै अन्य समयमा सर्वसाधारणका लागि सहज पहुँच नभएका स्थान नारायणहिटी दरबार, सिंहदरबार, टुँडिखेल (सैनिक मञ्च), संविधानसभा भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र) भित्र मानिसलाई बस्ने व्यवस्था गरिएको छ ।

अन्य बेला शुल्क तिरेर प्रवेश गर्नुपर्ने दशरथ रङ्गशाला, भृकटीमण्डपलगायत स्थानमा र अन्य बेला प्रवेश निशेष गरिएका स्थानमा पनि सर्वसाधारणका लागि बस्न खुला गरिएको छ ।

भूकम्पको त्रासले मानिस मठमन्दिर, विद्यालय, क्याम्पस, नदी किनारका दुवै किनार, गाडी, चौरलगायत स्थानमा बसेका छन् । खुला ठाउँमा बस्दा हावापानीको त्रासले मानिसलाई झन् पीडित र दुःखित बनाएको छ ।

खाद्य सामग्रीको मूल्य वृद्धि
भूकम्प आएपछि अतिआवश्यक खाद्य सामग्री पानी, चाउचाउ, बिस्कुट, लेज, कुरकुरे, जुसलगायत मूल्यवृद्धि गरिएको सेवाग्राहीको गुनासो छ । भृकुटीमण्डपभित्रको पार्कमा बस्नुभएका सुजन निरौलाले आफूले रु १५ पर्ने पानीलाई रु ३० तिरेर किन्नुपरेको तथा रु १५ पर्ने चाउचाउ रु २५ तिरेर किनेको बताउनुभयो । त्यस्तै रु १० पर्ने बिस्कुटलाई रु १५, रु २५ पर्ने लेजलाई रु ३५, रु २५ पर्ने जुसलाई रु ३५ निरेर किन्नुपरेको गुनासो आएको छ ।

शौचालयको समस्या
भूकम्पका कारण विभिन्न स्थानमा खुला ठाउँमा बस्दै आएका मानिसलाई शौचालय नभएका कारण समस्या भएको छ ।

घुम्ती शौचालय नभएको अभाव र अस्थायी शौचालय केही भए पनि पानीको समस्याका कारण त्यसबाट दुर्गन्ध फैलिएर बिरामी हुन सक्ने खतरा बढेको मानिसको गुनासो छ ।

खुलामञ्चमा बस्दै आउनुभएकी मीरा श्रेष्ठले मानिसहरुको चाप, जथाभाबी दिसापिसाब गर्नाले रोग फैलने खतरा भएको र त्यहाँ पनि सजिलैसँग बस्ने सक्ने अवस्था नभएको बताउनुभयो ।

प्रतिक्रिया