शनिबार, मंसिर २० २०७७
काठमाडौं ०१:५१
वासिङटन डिसी 15:06

विपत्तिमा प्रभावकारी सेवा उपलब्ध नगराए कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

इनेप्लिज २०७२ वैशाख १४ गते ११:१८ मा प्रकाशित

sushil-koiralaकाठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा प्रभावकारी कर्तव्य निर्वाह नगर्ने जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सिंहदरबारमा आज आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सरकारले पीडितको राहत तथा उद्धारका विषयमा अगाडि सारेका काम कारबाहीका बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकारले जनतालाई उद्धार, राहत प्रदान गर्न हरसम्भव उपाय अवलम्बन गरेको छ । कोही कसैले कमजोरी गरे आवश्यक कारबाही हुन्छ ।”

प्रधानमन्त्री कोइरालाले सही र तथ्यपूर्ण सूचना दिन र आवश्यक सहयोग उपलब्ध गराउन सबैको उत्तिकै सहयोगको आवश्यकता रहेको र राष्ट्रिय विपत्तिको समयमा मुलुकको ध्यान भूकम्प पीडितको उद्धारमा लाग्न आग्रह गर्नुभयो ।

छिमेकी मित्रराष्ट्रले अत्यन्तै चासोका साथ नेपालको विपत्तिमा सहयोग गरेको र थप सहयोग उपलब्ध हुने चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले विपत्तिको समयमा गैरकानुनी काम गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

सरकारका सबै संयन्त्रहरु परिचालित भएको, गैरसरकारी निकाय, स्वयम्सेवी तथा अन्तर्राष्ट्रिय समुदायले पनि मानवीयताका आधारमा पीडामा परेका जनतालाई सहयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले सहयोग उपलब्ध गराउन कुनै समस्या आए आवश्यक बल प्रयोग गर्नसमेत निर्देशन दिइएको बताउनुभयो ।

सरकारले उद्धार, राहत तथा उपचारका लागि उपलब्ध सबै हेलिकोप्टर प्रयोग गरिएको, पिउने पानी, खाद्यान्न उपलब्ध गराउन सबै उपाय अवलम्बन गरिएको र विपत्तिको समयमा विवेक पु¥याएर एकापसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभयो ।

राहत, उद्धार तथा पुनःस्थापनामा कुनै कमजोरी नहोस् भनेर प्रभावकारी अनुगमन संयन्त्र बनाउने पक्षमा सरकार रहेको जानकारी गराउँदै प्रधानमन्त्रीले पहिलो प्राथमिकता के हो त्यसमा ध्यान दिइने विश्वास दिलाउनुभयो ।

सरकारको काम गर्ने शैलीमा केही कमजोरी भएको स्वीकार गर्दै प्रधानमन्त्री कोइरालाले सरकार एक्लैले केही गर्न नसक्ने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रह नराख्न र विपत्को समयमा सहयोग उपलब्ध गराउन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया