संयमता अपनाऔ ! होशियार रहौँ अनि सहयोगी बनौ !!!

इनेप्लिज २०७२ वैशाख १४ गते ०:०९ मा प्रकाशित

basant shrestha 1

गत शनिबार अप्रिल महिनाको २५ तारिख नेपालमा आएको महाभूकम्प कुनै अनपेक्षित थिएन | बर्षौ पहिला देखि अपेक्षित गरिएको भनौ पूर्वानुमान गरिएको यो भूकम्प कत्रो मापन र कहिले आउने भन्ने निश्चित मात्र भने थिएन | त्यस दिनको एघार बजेर छपन्न मिनेटमा आएको  ७.८ रेक्टर स्केलको महाभूकम्प ले यो पंक्ति लेख्दा सम्म करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइ सकेका छन् भने २९ जिल्लामा यसको प्रत्यक्ष प्रभावले देशलाई संकटकालीन घोषणा गरिसकिएको छ |

अहिले सम्म साना साना भूकम्पको झड्काले ७८ को गन्ती पुर्याएको छ भने ६.७ छ को ठुलो झड्का काठमाण्डौमा भर्खरै महशुस गरिएकोछ | एकपटक ठुलो भूकम्प गए पछी धेरै हप्ता सम्म पनि सानो ठुलो झड्का महशुस भै रहने भूकम्प विदहरुको भनाई छ |

बिगत थुप्रै बर्ष पहिला देखि हिमालय क्षेत्रमा भूकम्प आउने कुरा भुगर्भबिद तथा भुकम्पबिद हरुले पूर्वानुमान गरिसेककै थिए | भर्खरै यो भूकम्प आउन भन्दा एकहप्ता अघिमात्र पनि यहि भूकम्प सम्बन्धि पचास जना भुगर्भबिद तथा भुकम्पबिद हरुको एउटा अन्तराष्ट्रिय सम्मेलन नेपालमा सम्पन्न पनि भएको थियो | नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने दुई सय पांच बर्षमा पांच पटक ठुल ठुलो भूकम्प गएको ईतिहास छ | अहिले सम्म सानो ठुलो अहिलेको भूकम्प समेत गरि जम्मा तेईस पटक भूकम्प गइसकेकोछ | भुगर्भबिद हरुले नेपालको हिमालय क्षेत्रलाई भूकम्प जोखिम क्षेत्रको रुपमा पहिले देखि नै औल्याउदै आएका हुन् | यसको मुख्य कारण भारत र तिब्बत बिचको तेकतोनिक प्लेटमा हुने घर्षण नै हो | भनिन्छ भारत तर्फको प्लेट उत्तर तर्फ बढ्दै जाँदा तिब्बती प्लेट संगको संघर्षले बिचको भाग नेपाल भूकम्पको चपेटामा पर्न गएको देखिन्छ | त्यसैले हिमालय क्षेत्र भनिने यो क्षेत्रम समय समयमा भूकम्पको झट्का लागिरहन्छ |

गत शनिबारको मह भूकम्पले अहिले पुरै नेपाल कोलाहलमय र त्रासदीको बाताबरण बनेको छ | आपतकालीन बस्ने, खाने र पिउने पानि को समस्याले ठुलो बिकराल परिश्थिति सिर्जना भएको छ | पर्यटनको ठुलो भण्डार मानिएको नेपाली कला र संस्कृतिक सम्पदाको धरोहर भक्तपुरको दर्बार स्क्वाएरका दरबारहरु, बसन्तपुरको ठुल ठुलो मन्दिरहरु अनि ललितपुरको कृष्ण मन्दिर समेत अरु देबालयको पूर्ण ध्वस्त भएको छ |

जिउ ज्यानको र धनको मात्र सुरक्षाको चिन्ता होइन खाने र पिउने पानीको समेत उचित व्यवस्था छैन | भूकम्पको सुरक्षाको लागि न्युनतम केहि पुर्ब तयारि समेत भएको देखिदैन | तसर्थ धेरै पहिला देखि नेपाललाई भूकम्प जोखिम मुलुकमा राखिए पनि र यस्तो भूकम्पको पूर्वानुमान गरिए पनि अहिले नेपालमा पिडितहरुको लागि सिर्फ एउटा आपतकालीन बास बस्ने टहरा समेत पनि निर्दिष्ट व्यवस्था गर्न नसक्नु सरकारको लज्जाजनक स्थिति हो |

भबन निर्माणको लागि “भूकम्प प्रतिरोधी भबन निर्माण आचार संहिता” सिर्फ नक्सामा मात्र देखाएर भबन निर्माण गर्दा सरकारको उचित अनुगमन नहुदा अहिले भर्खर बनाएका थुप्रै घरहरु भत्केका छन् कि त चर्केर भत्काउनु पर्ने अवस्था भएकोछ | काठमाण्डौको कपन क्षेत्रमा त थुप्रै घरहरु जमिन मुनि भासिएको अवस्थामा छन् | यसको मतलब घर निर्माण गर्दा जमिनको राम्रो संग माटो परिक्षण नगर्नु नै हो | अर्को अहम प्रश्न हो नेपालमा भूकम्पको पूर्वानुमान भै सके पछी ठुलो भूकम्प कुनै पनि समयमा आउन सक्ने सम्भाबना भए पछी नेपालको संस्कृतिक धरोहरहरुको जिर्ण स्थितिमा रहेका देबालय र मन्दिर तथा भबन हरुको जिर्णोद्वार गर्नु पर्छ या पर्दैन ?

यदि भूकम्प प्रतिरोधात्मक तरिका अनुसार समय मै जिर्णोद्वार गरिएको भए गोर्खा दरबार ,भक्तपुरको दरबार , कृष्ण मन्दिरको मन्दिरहरु, हनुमान ढोका स्थित मन्दिरहरु, जनकपुरको मन्दिर क्षति हुन् बाट बच्न सक्ने सम्भावना हुन्थ्यो होला | तर त्यस तर्फ सरकारले ध्यानै दिएन र त्यसको लागि कुनै आपतकालीन योजना हरु पनि बनाउन सकेन | यसरि आपतकालीन सुरक्षाको न्युनतम व्यवस्था पनि गर्न नसक्नु सरकारको लाचारीपन, अदुरदर्शिता र अव्यवस्थित सरकारी संयन्त्र रहेको प्रष्ट हुन्छ | भूकम्प प्रतिरोध योजनाको लागि सिर्फ सभा समारोह र गोष्ठीले मात्र समस्याको समाधान हुन् सक्दैन यदि ब्यबहारिक रुपमा कार्यान्वयन गर्न सकेको भए यति ठुलो धन जनको क्षति हुदैन थियो कि | तर अहिलेको समय सरकारको कमजोडी मात्र औल्याउने अबश्था चैं पटक्क होइन | यस बाट पाठ सिकेर भविष्यको लागि उचित व्यवस्था गर्न सक्नु पर्द्छ |

यस्तो राष्ट्रिय दैबी प्रकोपको दुखद अवस्थामा हामीले जहाँ रहे पनि के कसरि र कस्तो सहयोग गर्न सकिन्छ भनेर गर्नु नै आज हाम्रो दायित्व हो | सहयोग सानो ठुलो हुदैन एउटा नेपाली ले अर्को नेपाली लाई जुनसुकै स्तरको सहयोग गरे पनि अमुल्य हुनेछ | तसर्थ यस विषम परिस्थितिमा परि दिबंगत हुनु भएका सबैको चिर शान्तिको कामना गर्दै, स्वास्थ उपचार गराई रहनु भएकाको सिघ्र स्वास्थ लाभको कामना पनि गर्दछु | पिडित परिवार र भूकम्प ग्रस्त क्षेत्रमा रहनु हुने सबैले धैर्य धारण गर्दै होशियारी पुर्बक र समयता अपनाउनका साथै हामी सबैले आ-आफ्नो क्षेत्र बाट जुनसुकै प्रकारको सक्दो सहयोग गर्नु नै आजको परम कर्तब्य हो |

……………………………………………………………..अस्तु !

प्रतिक्रिया