बुधबार, मंसिर १० २०७७
काठमाडौं २०:१२
वासिङटन डिसी 09:27

धरहराको टुप्पामा रहेका तीन जना कसरी बाँचे ?

इनेप्लिज २०७२ वैशाख १३ गते १२:२५ मा प्रकाशित

 

dharahara

काठमाडौंमा भुकम्पको कम्पन सुरु भएको पाँच सेकेण्डमै धराहरा ढलेको थियो । भुकम्पको ठूलो कम्पन भने दुई मिनेटभन्दा बढी समयसम्म महसुस गरिएको थियो । भुकम्पले धराहरा पूर्ण रुपमा ध्वस्त बनेको छ ।

‘भुकम्प आउनासाथ धराहरा लच्कन सुरु भयो ।’ प्रत्यक्षदर्शी नविन थापाले भने, ‘भुकम्प सुरु भएको पाँच सेकेण्डमै धराहरा ढलिहाल्यो ।’ केही समय घुमेपछि धराहरा ढलेको उनले बताए । ‘म धराहरा अगाडि नै थिएँ, धराहरा यता, उता लच्किरहेको थियो । कता ढल्ने भन्ने थाहै भएन, शहिदगेटतिर भागे । धन्न बाँचियो’, उनले भने । धराहरा टेकुतिर ढलेको छ । टेकुतिर धलेपछि धराहरासँगै भएको रेष्टुरेण्टमा भने कुनै क्षति पुगेन ।

भुकम्प जानुपूर्व धराहरा चढ्नको लागि दुई सय जनाले टिकट लिएका थिए । जसमा अधिकाशंको मृत्यु भएको छ । धराहरा टेकुतिर पल्टिएकाले बाटो हिँड्ने मानिसहरुको समेत मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

‘धराहरा चढ्ने विदेशी पर्यटकहरु समेत थिए । सायद उनीहरुको पनि मृत्यु भए होला’, थापाले भने । धराहरामा रहेका केही मानिसहरु मात्र बाँचेको उनले बताए । अचम्मको कुरा त के छ, भने धराहराको टुप्पामा रहेका तीन जना बाँच्न सफल भएका छन् । उनीहरु जालीमा अड्किएर बाँच्न सफल भएको पुनले जानकारी दिए ।

घाइतेहरुको अवस्था पनि गम्भीर रहेको उनले बताए । उनका अनुसार अधिकांश घाइतेहरुको दाँत खसेको, अनुहारमा गम्भीर चोट लागेको, हात खुट्टाहरु भाँचिएको अवस्थामा रहेका छन् ।

11160445_669349116502275_907988222_n

भुकम्प गएको ४० मिनेट पछि मात्र पुग्यो प्रशासन

धराहरा ढलेको करिव ४० मिनेट पछि मात्रै प्रशासन उद्दारको लागि घटनास्थलमा पुगेको पुनले जानकारी दिए । ‘हामीहरुले नै यहाँका घाइतेहरुलाई उद्दार गरेका हौँ । प्रशासन त धेरै पछि आएको हो’, उनले भने । घाइतेहरुलाई आफूहरुले नै उठाएर, कपडामा पोको पारी बीर हस्पिटलसम्म लगेको पनि उनले जनाए । नेपाली सेना, नेपाल प्रहरी, सर्वसाधरण लगायतले घाइतेहरुको उद्दार गरेका थिए ।

प्रतिक्रिया