शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १९:२७
वासिङटन डिसी 08:42

सबैको प्रतिष्ठा कायम हुनेगरी संविधान निर्माण हुनुपर्छ: उपाध्यक्ष ज्ञवाली

इनेप्लिज २०७२ वैशाख ११ गते १३:२० मा प्रकाशित

Yuvaraj-Gywaliकाठमाडौँ, ११ वैशाख । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको नयाँ संविधान विविध धर्म, संस्कृति, जातजाति, भाषाभाषीको उचित सम्मान प्रतिष्ठा कायम हुने गरी निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ वर्ष एवम् लोकतन्त्र दिवसको अवसर पारी होस्टेहैंसे बचत तथा ऋण सहकारी संस्था, खड्का गाउँ काठमाडौँद्वारा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले भौगोलिकताका आधारमा पनि हिमाल, पहाड र तराईलाई समेट्ने संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका माध्यमबाट गाउँगाउँमा बचत सङ्कलन गरी जनताको जीवनस्तर माथि उठाउने काम भएकामा जोड दिँदै उहाँले विकास निर्माणका कार्यमा जनता स्वयम् जागरुक हुनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एवम् सभासद् ध्यानगोविन्द रञ्जितले सडक, खानेपानी, ढललगायतको विकास निर्माणका काममा स्थानीयवासी सक्रिय बनेमा आवश्यक बजेटका लागि सरकारको ढोका घच्घच्याउन आफूहरुलाई सहज हुने बताउनुभयो ।

स्थानीय सद्भावना नगरटोल सुधार समितिका अध्यक्ष जङ्गबहादुर आलेले पुरानो नैकाप क्षेत्रमा विद्यमान खानेपानी, ढल र सडकका समस्यालाई सबैको सक्रियतामा समाधान गर्नुपर्ने बताउनुभयो ।

गृहिणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभा गौतमले महिलाको सहभागितामा सञ्चालित सहकारी संस्थालाई अघि बढाउन पुरुष वर्गले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया