सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०५:१४
वासिङटन डिसी 18:29

प्रधानमन्त्री कोइराला एसियाली–अफ्रिकी सम्मेलनको ६०औं वार्षिकोत्सव समारोहस्थल बाङडुङमा

इनेप्लिज २०७२ वैशाख ११ गते ३:०२ मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaइन्डोनेसिया (बाङडुङ) ११ वैशाख । प्रधानमन्त्री सुशील कोइराला ऐतिहासिक एसियाली–अफ्रिकी सम्मेलनको ६०औं वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन इन्डोनेसियाको राजधानी जाकर्ताबाट बाङडुङ आइपुग्नुभएको छ ।

इन्डोनेसिया सरकारको विशेष विमानद्वारा कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कोइराला यहाँ आइपुग्नुभएको हो ।

सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म इन्डोनेसियाको बाङडुङ सहरमा सम्पन्न पहिलो एसियाली अफ्रिकी देशहरूको सम्मेलनको ६० औँ वार्षिकोत्सव मनाउन एसिया तथा अफ्रिका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको यहाँ आउनेक्रम पनि जारी छ ।

जाकर्तामा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव विभिन्न तीन विषयमा घोषणापत्र जारी गर्दै समाप्त भएको थियो । सो समारोहमा भाग लिएका ती देशका नेताहरू ऐतिहासिक एसियाली–अफ्रिकी सम्मेलनको ६० आँै वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइरहनु भएको छ ।

यतिखेर बाङडुङवासी आफ्ना घर आगनमा जम्मा भएका विश्वका राजनेताहरूलाई सम्मान गर्न जुटिरहेका छन् । सडकका दायाँ बायाँ सहभागी देशका राष्ट्रिय झण्डा बोकी स्थानीयवासीले विशिष्ट अतिथिहरूलाई सत्कार गरिरहेका छन् ।

सो विशेष कार्यक्रम यहाँको समयअनुसार बिहान ९ बजेदेखि सुरु हुँदैछ । कार्यक्रमअनुसार राजनेता सो ६० आँै वार्षिकोत्सवको सम्झनामा आयोजना हुने ऐतिहासिक सडक हिडाइमा सहभागी हुनुहुनेछ । यसपछि सामूहिक फोटो खिचाउनु हुने कार्यक्रम रहेको छ ।

विश्व शान्तिका लागि एक मिनेट प्रार्थना विश्वका राजनेताहरूले गर्नुहुने छ । इन्डोनिसियाका राष्ट्रपति जुको विडोडोले समारोहलाई सङ्क्षिप्त सम्बोधन गर्नु हुने कार्यक्रम छ ।

सो समारोहमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट मन्त्रालयका सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्रा डा करविरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार प्रमुख अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, प्रधानमन्त्री कोइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, परराष्ट मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायत हुनुहुन्छ ।

सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म यहाँ बर्मा (म्यानमार), सिलोन(श्रीलङ्का), भारत, इन्डोनेसिया र पाकिस्तान गरी पाँचदेशले संयुक्त रुपमा पहिलो सम्मेलन गरेका थिए । यसै सम्मेलनले पारित गरेको १० बुँदे घोषणापत्रलाई बाङडुङ सम्मेलनका नामले विश्व परिचित रहेको छ । यो नै विश्व शान्ति र स्थिरताका लागि कोशेढुङ्गा सावित रहेको थियो ।

सो पहिलो सम्मेलनमा एसियाली अफ्रिकी गरी २९ देशको सहभागिता रहेको थियो । त्यतिखेर पनि ती देशका राजनेताहरूले विश्व शान्ति, सुरक्षा, आर्थिक विकास र विश्वका धेरै भागमा देखा परेका समस्याका विषयमा छलफल गरेका थिए ।

यतिखेर पनि तिनै कुराहरूलाई जोड दिएका राजनेताहरूले अहिले पनि तिनै कुरामा सङ्क्षिप्त विशेष समारोहमा जोड दिने अपेक्षा गरिएको छ ।

पश्चिमी समूह तथा पूर्वी समूहको अभिरुचि तथा विचारधारा बाझेकाले त्यस बेला समस्या सिर्जना गरेको शीतयुद्धलाई सोही सम्मेलनले समाप्त गरिदिएको थियो । यसै कारणले बाङडुङ सम्मेलन महत्वपूर्ण रहेको छ ।

पहिलो सम्मेलनमा चीनका तत्कालीन प्रधानमन्त्री चाउएनलाई, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, इण्डोनेसियाका राष्ट्रपति सुकार्नो , इजिप्टका राष्ट्रपति अब्दुलगमाल नासिर, गोल्डकोस्ट (घाना)का प्रधानमन्त्री क्वामे नुक्रुमा, भियतनामका राष्ट्रपति हो चि मिन लगायतका विश्वका अन्य राजनेताहरूको सहभागिता रहेको थियो ।

नेपालका तर्फबाट तत्कालीन राजा महेन्द्रसहित परराष्ट्र अड्डका प्रमुख शोभाजङ्गा थापा, प्रा यदुनाथ खनाल, नरेशमान सिंह र पद्मबहादुर खत्रीले भाग लिनुभएको थियो ।

प्रतिक्रिया