बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १२:२१
वासिङटन डिसी 01:36

घरेलु मैदानमा झापा–११ पराजित

इनेप्लिज २०७२ वैशाख ९ गते १३:१७ मा प्रकाशित

लक्ष्मी काफ्ले
aaajaबिर्तामोड, ९ बैशाख । जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा विभागीय टोली एपीएफसँग झापा–११ पराजित भएको छ । घरेलु मैदान बिर्ताबजारस्थित डोमालाल रंगशालामा ‘होम’ अन्तरगत आफ्नो तेस्रो खेल खेलेको झापा ११ एपीएफसँग १–० गोलअन्तरले पराजित भएको हो ।

अंक तालिकाको शीर्षस्थानमा रहेको झापा पराजयसँगै दोस्रो स्थानमा झरेको छ । झापाको १३ अंक रहेको छ भने एपीएफ १४ अंकसहित पहिलोे स्थानमा उक्लिएको छ । स्ट्राईकर कर्ण लिम्बूबिना मैदान उत्रिएको झापा ११ ले एपीएफसँग दर्शकको अपेक्षाअनुरुप खेल देखाउन सकेन । घरेलु दर्शकको भरपुर साथ पाएको झापा अन्ततः पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको इञ्ज्यूरी समयमा गोल भएको थियो । खेल सकिन ४ मिनेट बाँकी छँदा एपीएफका प्रविन सान्ताङले शानदार गोल गरे । स्ट्राईकर रञ्जन विष्टबिनै मैदान उत्रिएको एपीएफले उत्कृष्ट प्रदर्शन गर्यो । खेलको म्यान अफ द म्याच एपीएफका रमेश दंगाल घोषित भए ।

खेलमा म्याच रेफ्रि लव खत्रीले पाँचजना खेलाडीलाई पहेंलो कार्ड देखाए । झापाका दिलेन लोक्ताम र गणेश खड्का, एपीएफका गोलरक्षक अमृत चौधरी, हेमन गुरुङ र नविन कर्णले पहेंलो कार्ड पाए ।

खेलपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै झापा ११ का प्रशिक्षक भगिरथ आले मामाले स्ट्राईकर कर्णको अभाव महसूस भएको प्रतिक्रिया दिएका छन् । उता एपीएफका प्रशिक्षक कृष्ण थापाले झापाको मैदानमा खेल्न एपीएफलाई दवाव भएको बताउँदै भाग्यवश आफ्नो टोलीले जितेको बताए । ‘झापा–११ राम्रो टोली हो,’ थापाले भने– ‘हामीले कम्तिमा बराबरीका लागि आजको खेल खेलेका थियौं । तर भाग्यवश हामीले जित्यौं, टोलीबाट म खुशी छु ।’

होम अन्तरगत झापाले अब अर्को खेल वैशाख १२ गते मोरङ फुटबल क्लवसँग सोही मैदानमा खेल्नेछ ।

प्रतिक्रिया