राजनीतिसंगै बाख्रापालन

इनेप्लिज २०७२ वैशाख ९ गते ८:५८ मा प्रकाशित

goat1काँकडभिट्टा (झापा), ९ वैशाख । जीवनको रहरलाग्दो समय राजनीतिमा बिताएकी एनेकपा (माओवादी)का कार्यकर्ता पनिता ढकालले दुई वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन सुरु गर्नुभएको छ ।

युवालक्षित पशु विकास कार्यव्रmम अन्तर्गत रु दुई लाख सरकारी अनुदान लिएर उहाँले मेचीनगर–११ स्थित पुरानो भन्सारमा ‘पूर्वोदय कृषि फार्म’ सञ्चालन गर्नुभएको छ । करिब ६ लाख रुपैयाँ लगानी गरेको उक्त फार्ममा यतिबेला ३० वटा खसीबाख्रा पालिएका छन् ।

उर्लाबारी र महुलीबाट रु ६ लाखमा उन्नत् जातका बाख्राका पाठापाठी खरिद गरी उहाँले व्यावसायिकरुपमा बाख्रापालन सुरु गर्नु भएको हो । उहाँको खोरमा खरी, जमुनापारी, बारबेरी, तराई उन्नत् जातका बाख्रा रहेका छन् ।

“सबै बाख्राको पशु बिमासमेत गरेकी छु” ढकालले भन्नुभयो । बाख्रा मरेमा ९० प्रतिशत रकम बिमा कम्पनीले उपलब्ध गराउने उहाँले बताउनुभयो । ढकालको अधिकांश समय बाख्राको स्याहार सुसारमा बित्ने गरेको छ ।

मेचीनगर—८ माइती घर भएकी ढकालले २०५७ सालदेखि विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । एनेकपा (माओवादी) झापा जिल्ला कमिटीका पूर्व जिल्ला सदस्य ढकाल अहिले अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी क्षेत्र नम्बर–१ को क्षेत्रीय संयोजक समेत हुनुहुन्छ । उहाँले एक कट्ठा जग्गामा खोर तथा १५ कट्ठामा घाँसखेती गर्नुभएको छ ।

“बाख्रापालनले घर व्यवहार धान्न सजिलो भएको छ” उहाँले भन्नुभयो । वार्षिक रूपमा रु दुई लाख आम्दानी गर्ने गरेको ढकालको भनाइ छ ।

प्रतिक्रिया