नयाँ वर्ष साँझमा बुद्धिसागर र पविताले थर्काए ब्रानफोर्ड

इनेप्लिज २०७२ वैशाख ७ गते २२:२० मा प्रकाशित

ct pic 6
ब्रानफोर्ड । पछिल्लो समय नेपाली बस्तीका रुपमा विकसित न्यूयोर्कसँगैको शहर कनेक्टिकट ब्रानफोर्डका नेपालीले एक भव्य कार्यक्रमबीच गायक बुद्धिसागर बस्याल र स्थानीय गायिका पविता परियारको साथमा नयाँ वर्ष २०७२ मनाएका छन् । न्यूयोर्कबाट छोटो दूरीको कनेक्टिकट ब्रानफोर्डमा सोसाइटी अफ नेप्लिज इन अमेरिकाद्वारा आयोजित नयाँ वर्ष २०७२ कार्यक्रमका प्रमुख अतिथिमा भने स्थानीय अमेरिकी प्रशासन प्रमुख फष्र्ट सेलेक्ट म्यान जिमी क्यासग्रोभलाई निम्त्याइएका थिए ।
गत अप्रिल १९ तारिख आइतबार साँझ मनाइएको नयाँ वर्ष कार्यक्रममा कनेक्टिकट टाउनका फष्र्ट सेलेक्ट म्यान जिमी क्यासग्रोभको साथमा सेकेण्ड सेलेक्टम्यान ब्रुस स्टर्म र स्थानीय पब्लिक स्कुलका सुपरिटेन्डेन्ट ह्यामलेट हर्नान्डिजसमेत नेपाली नयाँ वर्ष मनाउने उद्देश्यले अतिथिका रुपमा सहभागी भएका थिए ।
न्यूयोर्कदेखि झण्डै डेढ घण्टाको मोटर बाटोको दूरी तय गर्दै स्थानीय संघसंस्थाका प्रतिनिधि, समाजसेवी, कलाकार, पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नेपाली कन्सुलेट न्यूयोर्कका उपवाणिज्य दूत प्रविण भट्टराईसमेत नयाँ वर्ष मनाउन विशेष अतिथिका रुपमा ब्रानफोर्ड पुगेका थिए ।
नयाँ वर्ष २०७२ को औपचारिक कार्यक्रमअन्तर्गत संस्थाका उपाध्यक्ष रामचन्द्र रेग्मीले नयाँ वर्षको शुभकामना मन्तव्य राख्दै आरम्भ गरिएको कार्यक्रममा क्यानडादेखि कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन सहभागी गायक बुद्धिसागर बस्याल तथा न्यूयोर्कबाट कार्यक्रममा सहभागी गायिका पविता परियारका झण्डै दर्जन गीतहरुले प्रवासी नयाँ वर्ष कार्यक्रमलाई हर्षोल्लासका साथ मनाउन मद्दत गरेको थियो ।
नेपाली नयाँ वर्ष कार्यक्रममा सहभागी प्रमुख अतिथि प्रथम सेलेक्ट म्यान जिमी क्यासग्रोभ, सेकेण्ड सेलेक्ट म्यान ब्रुस स्टर्म, ब्रानफोर्ड पब्लिक स्कुल सुपरिटेण्डेन्ट ह्यामलेट हर्नाण्डिज, नेकोन अध्यक्ष घनश्याम खड्का, संस्थाका पूर्वअध्यक्ष गौरेश्वर शर्मा र नेपाली कन्सुलेटका उपवाणिज्य दूत प्रविण भट्टराईले संस्थाको क्रियाकलापको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार रामचन्द्र श्रेष्ठले राखेका थिए ।
झण्डै ३ सय ब्रानफोर्डबासी नेपालीबीच आयोजित कार्यक्रममा प्रमुख अतिथि जिमी क्यासग्रोभले संस्थाद्वारा प्रोत्साहनस्वरुप उपलब्ध १ सय ५० अमेरिकी डलर र प्रमाणपत्र ब्रानफोर्डबाट यस वर्ष हाइस्कुल पास गर्ने ६ जना नेपाली विद्यार्थीलाई वितरण गरियो । सोसाइटी अफ नेप्लिज इन अमेरिकाले गतवर्ष नेपाली भाषा कक्षासमेत सञ्चालन गरेको थियो भने नेपालको प्राकृतिक विपत्तिमा समेत सहयोग उपलब्ध गराउँदै आएको छ ।
संस्थाका सभापति रामहरि भण्डारीको सभापतित्वमा सम्पन्न भव्य नेपाली नयाँ वर्ष कार्यक्रममा जाङ्बुको डिजेले मध्यरातसम्म नेपालीलाई नचाएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भण्डारीले संस्थाको वार्षिक क्रियाकलापसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाको महासचिव विजय अधिकारीले गरेका थिए ।

प्रतिक्रिया