शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०१:३२
वासिङटन डिसी 14:47

कांग्रेसमा देउवा र कोइरालापक्षबीच झडप, एक दर्जन नेता कार्यकर्ता घाइते

इनेप्लिज २०७२ वैशाख ७ गते १५:२८ मा प्रकाशित

koirala-deubaमहेन्द्रनगर, ६ वैशाख । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको स्थापना दिवसमा देउवा र कोइरालापक्षबीच कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा झडप भएको छ । स्थापना दिवसमा विद्यार्थी संघले कञ्चनपुरमा एउटै स्थानमा छुट्टाछुट्टै कार्यक्रम समेत आयोजना गरेका छन् । संस्थापन र देउवा पक्षीय नेविसंघले सुरक्षाकर्मीको घेरामा काँग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा आइतबार बिहान छुट्टाछुट्टै रुपमा संगठनको स्थापना दिवस मनाएका हुन् । कार्यक्रम सुरु हुन पूर्व दुबै पक्षका विद्यार्थी नेताहरुबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार स्थापना दिवस मनाउन पार्टी कार्यालय पुगेका देउवा पक्षीय विद्यार्थीलाई संस्थापन पक्षले अवरोध गरेपछि हातहालाहालको अवस्था सिर्जना भएको हो । संस्थापन पक्षका केही विद्यार्थी नेताले देउवा पक्षको माईन्युट र ह्याण्डमाईक खोस्ने प्रयास गरेपछि दुबै पक्षका विद्यार्थीहरु हात हालाहालको अवस्थामा पुगेका प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रत्यक्षदर्शी स्रोतका अनुसार देउवा पक्षीय बिक्रम नेगी, गोरख रौले तथा संस्थापन पक्षीय प्रकाश थापा, काँग्रेस महासमिति सदस्य गोपाल गुरुङलगायतबीच धक्कामुक्की भएको थियो । प्रहरी अगाडी भएपनि कांग्रेसका जिल्लास्तरीय नेताहरुबीच नै झडप भएको हो । झडपमा परी एक दर्जन नेता कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अहिले स्थिती सामान्य बनेको छ । पार्टी कार्यालय परिसरमा संस्थापन पक्ष र देउवा पक्षीय विद्यार्थी नेताबीच कार्यक्रमका बारेमा विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो । पार्टी कार्यालयमा प्रहरी परिचालन भएपछि देउवा पक्ष पार्टी कार्यालयको सभाकक्षबाट बाहिरिएको थियो ।

प्रतिक्रिया