नामको मात्र काम हुँदा विपत्ति आयो जाजरकोटमा

इनेप्लिज २०७२ वैशाख ७ गते १२:०१ मा प्रकाशित

jajarkot_mapजाजरकोट, ७ वैशाख । यहाँको टालेगाउँ गाविस खुला दिशामुक्त घोषणा हुँदा टालेगाउँ–३ का स्थानीयवासी उमाकान्त सिंहलाई लागेको थियो – अब गाउँमा कुनै किसिमका रोग फैलिँदैन । तर गएको वैशाख १ गते ठूलीआमा महिसरा सिंहको मौसमी रुघाखोकीका कारण ज्यान गएपछि उहाँ छाँगाबाट खसे जस्तै हुनुभयो ।

सरकारले समयमा उपचारको व्यवस्था नगर्दा मानिसले अकालमा ज्यान गुमाउनुपरेको उहाँको आरोप छ ।

मौसमी रुघाखोकी र स्वाइन फ्लुका कारण जाजरकोटमा अहिलेसम्म २५ जनाले ज्यान गुमाइसकेका छन् । चिकित्सकको भनाइमा जनचेतना र सरसफाइको अभाव, गरिबी, पछौटेपन, भौगोलिक विकटता, पौष्टिक आहारको कमी, अस्वस्थ्यकर बानी व्यवहार र फोहर पानीको उपभोग महामारी फैलिनुका मुख्य कारण हुन् ।

स्थानीयवासी अमृत गौतम भन्नुहुन्छ – स्वास्थ्य संस्थामा सधैँ औषधि र स्वास्थ्यकर्मीको अभाव रहनु त छँदैछ, रोग लाग्दा यहाँका मानिस स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीको बढी विश्वास गर्छन् ।

विसं २०६६ वैशाखमा जाजरकोट रोकायगाउँ–७ का रत्नबहादुर नेपालीको झाडापखाला लागेर ज्यान गयो । गाउँमा झाडापखालाका बिरामी थपिँदै गए । त्यसपछि अर्को गाउँ र अर्को गाविस हुँदै जिल्लाभर फैलिएको झाडापखालाले महामारीको रुप लियो र छिमेकी जिल्लालाई समेत प्रभावित बनायो । यसले हैजाको रुपसमेत लियो जसका कारण जाजरकोटमा मात्र ३०० बढी मानिसले अकालमा ज्यान गुमाए ।

झाडापखाला फैलनुको मुख्य कारण फोहर पानी पिउनु, खुला रुपमा दिसापिसाब गर्नु तथा सरसफाइमा ध्यान नदिनु रहेको निष्कर्ष निकाल्दै जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, युनिसेफ र रेडक्रसले सरसफाइलाई अभियानका रुपमा अघि बढाउन जिल्ला खानेपानी तथा स्वच्छता समूह (डिवास) मार्फत काम गर्न थाले ।

त्यतिबेलादेखि सुरु भएको सरसफाइ अभियानअन्तर्गत २०७० पुस १८ मा जाजरकोट भेरी अञ्चलको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको छ तर घोषणा कागजमै सीमित रहेको स्थानीय बासिन्दाको गुनासो छ ।

अहिले यहाँका गाउँमा निर्माण भएका शौचालयमा कुकुर र बाख्राका खोर तथा कतिपयमा दाउरा घाँस राख्ने प्रयोजनमा प्रयोग भएका छन् । सबैको घरमा शौचालय भएको र प्रयोग भइरहेको सरकारी तथ्याङ्कमा उल्लेख छ तर वास्तविकता अर्कै छ ।

“खुला दिसामुक्त त कागजमा मात्र हो,” नायकवाडा वडा नं ७ का जनकबहादुर शाहीले भन्नुभयो ।

खुला दिसापिसाबका कारण सङ्क्रमण छिट्टै फैलने डा दीपक पुनको भनाइ छ । विसं २०६६ मा झाडापखालाबाट आमा रति कार्कीलाई गुमाएकी मजकोट–७ की सरिता सरसफाइको अभाव, खुला दिसापिसाब र दूषित खानेपानीको प्रयोगले गाउँमा झाडापखाला फैलिएको कुरा बुझेपछि घर–घरमा चर्पी बनाउने अभियानमा जुट्नुभएको थियो ।

जिल्ला विकास समितिको एक तथ्याङ्कमा जाजरकोटका ३० हजार ३४० घरधुरीमध्ये २७ हजार ११५ घरमा पक्की, दुई हजार ६०७ घरमा कच्ची र ६१८ घरमा कच्ची चर्पी बनिसकेको देखाइएको छ । तर कतिपय ठाउँमा खानेपानी अभावका कारण चर्पी भए पनि प्रयोग नै नहुने, प्रयोग भए पनि अत्यन्त फोहर रहेको, कतिपयको बानी, व्यवहारमा अझै परिवर्तन नआएका कारण पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियानका मुख्य बाधक रहेको यार्सन नेपालका प्रमुख सहदेव बस्नेत बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “दिसा लुकाउने अभियान मात्र चालियो तर पूर्ण सरसफाइयुक्त जिल्ला बन्न आवश्यक पर्ने पूर्वाधार विकासका लागि कसैले चासो दिएको छैन । यसैको मार अहिले जिल्लावासी भोग्दैछन् ।”

यहाँको जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयको तथ्याङ्कमा ८५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको आपूर्ति भइसकेको उल्लेख गरिएको छ । अहिले पनि जिल्लाका अधिकांश बासिन्दा नाउला, कुवा, धारा र खोलाको पानी खान बाध्य भएको पजारुका प्रेमबहादुर चलाउनेले बताउनुभयो ।

जिल्ला विकास समितिको वस्तुगत प्रोफाइल २०६७ का अनुसार जिल्लाका ३० गाविसका २७० वडामा झन्डै ९०० बस्ती छन् । तीमध्ये अधिकांश कृषि र पशुपालन व्यवसायमा संलग्न छन् । अधिकांश घरको तल्लो तलामा गाईभैँसी बाँध्ने र माथिल्लो तलामा मानिस बस्ने चलन छ, जसले गर्दा फोहर बढ्ने सम्भावना रहन्छ ।

रोकाय गाउँका शिक्षक भीमराज सिंहले भन्नुभयो – “धेरैले खाना खानुअघि र चर्पी गइसकेपछि साबुन पानीले हात धुने गर्दैनन् । यसका कारण किटाणु सजिलै मानिसको शरीरभित्र प्रवेश गर्छन् अनि विभिन्न रोग सर्ने गर्दछ ।”

मानव विकास सूचकांक र गरिबी मापन स्तरमा निकै पछि रहेकाले जाजरकोटवासीको रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको स्वास्थ्यकर्मीले बताएका छन् । यहाँ उत्पादन गरिएको अन्नले तीन महिना पनि खान नपुग्ने हुँदा अन्न आयात गरी खानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया