बिहीबार, वैशाख ९ २०७८
काठमाडौं ०१:४३
वासिङटन डिसी 15:58

विश्व शान्तिको अभियानलाई अगाडि बढाउनु पर्छ: राष्ट्रपति डा यादव

इनेप्लिज २०७२ वैशाख ६ गते १५:४६ मा प्रकाशित

Rambaran-Yadavकाठमाडौँ, ६ वैशाख । राष्ट्रपति डा रामवरण यादवले विश्व शान्तिको अभियानलाई सार्थक ढङ्गले अगाडि बढाउनु नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ ।

एसिया अफ्रिका जनएकता सङ्गठनका प्रतिनिधिहरुसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँले नेपालले अँगाल्दै आएको परराष्ट्र नीतिले विश्व शान्तिलाई बढावा दिएको र सहयोग पुगेको उल्लेख गर्नु भयो ।

‘साठी वर्षपछि बाङ्डुङ दृष्टिकोण र नयाँ चुनौतीको सामना’ विषयक जनस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधि तथा पर्यवेक्षकसँग राष्ट्रपति डा यादवले नेपालको परराष्ट्र नीति पञ्चशील, संयुक्त राष्ट्रसङ्घको बडापत्र र असंलग्न आन्दोलन र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तमा आधारित रहेको चर्चा गर्नु भएको थियो । सम्मेलन शनिबारदेखि राजधानीमा सुरु भएको छ ।

विश्व शान्तिको अभियानलाई जनस्तरीय सम्मेलनले नयाँ गतिदिने विश्वास उहाँले व्यक्त गर्नुभएको एसिया अफ्रिका जनएकता सङ्गठन नेपालका उपाध्यक्ष हिरण्यलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बाङ्डुङ सम्मेलनको नेपाल सक्रिय र आरम्भ देखिकै सदस्य रहेका सन्दर्भ जोड्दै राष्ट्रपति डा यादवले असंलग्न आन्दोलनको मूल मर्म र भावनालाई आत्मसात् गर्दै अगाडि बढेको तथा परस्परको सम्बन्ध र द्विपक्षीय तथा बहुपक्षीय लाभलाई आत्मसात् गरेको उल्लेख गर्नुभएको थियो ।

दुई ध्रुवमा विभक्त विश्व समुदायलाई बाङ्डुङ सम्मेलनले एकता, मैत्री र सद्भावको दिशामा अगाडि बढाउन बाङ्डुङ सम्मेलनले मार्ग प्रशस्त गरेको स्मरणसमेत राष्ट्रपति डा यादवले गर्नुभएको थियो ।

राष्ट्रपतिले सम्मेलनको सफलताको कामना गर्दै जारी हुने काठमाडौँ घोषणापत्रले जनस्तरमा सम्मेलनको महत्व र उपादेयता बढाउन थप बल पुग्ने अपेक्षा गर्नुभएको थियो ।

सो अवसरमा अफ्रो–एसियाली जनएकता सङ्गठन नेपालका अध्यक्ष एवम् नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले बाङ्डुङ सम्मेलनको ६०औँ वर्षका अवसरमा जनस्तरको सम्मेलनको उद्देश्य र यसले जारी गर्ने काठमाडौँ घोषणापत्रका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले सम्मेलनले अगाडि सारेका प्रावधानलाई जनस्तरमा पु¥याउने र विश्व शान्ति र समृद्धिको अभियानलाई अगाडि बढाउन सहयोग पु¥याउनेमा जोड दिनुभएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

एसिया अफ्रिका जनएकता सङ्गठनका अध्यक्ष डा हागिगीले सङ्गठनले अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमिका र सम्मेलनको उपादेयताका बारेमा जानकारी गराउनुभएको थियो ।

सन् १९५५ मा भएको बाङ्डुङ सम्मेलन सकिएलगत्तै सन् १९५८ मा जनस्तरमा एसिया–अफ्रिका जनएकता सङ्गठनको गठन भएको थियो । सम्मेलनपछि सरकारी र जनस्तरमा गरी दुईवटा सङ्गठन हाल क्रियाशील रहेका छन् ।

सरकारीस्तरको सम्मेलन ६० वर्षपछि इन्डोनेसियाको राजधानी बाङ्डुङमा सुरु भएको छ भने जनस्तरको सम्मेलन काठमाडौँमा भइरहेको छ । जनस्तरमा रहेको सङ्गठनमा विश्वका ८० भन्दा बढी मुलुक सदस्य रहेका छन् भने त्यसमा सबै राजनीतिक दल, नागरिक समाज आबद्ध रहेका छन् । शान्तिका लागि नागरिकको अभियानलाई संस्थागत रुपमा अगाडि बढाउने संस्थाको प्रमुख उद्देश्य रहेको छ ।

जनस्तरको सम्मेलन आज काठमाडौँ घोषणापत्र जारी गरेर सम्पन्न हुनेछ । बाङ्डुङ सम्मेलनको ६०औँ वर्षगाँठको सम्बन्धमा प्रस्तुत गरिने कार्यसूचीलाई थप बलियो बनाउने गरी सुझाव सङ्कलन गर्न काठमाडौँमा सम्मेलनको आयोजना गरिएको हो ।

सङ्गठनको सान्दर्भिकतालाई अझ मजबुत तुल्याउने र समसामयिक विषयलाई उजागर गर्ने यो सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

एसिया अफ्रिका जनएकता सङ्गठनमा प्रमुख राजनीतिक दल, नागरिक समाज, पूर्व कूटनीतिज्ञहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया