बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०३:०७
वासिङटन डिसी 16:22

प्रम कोइराला इन्डोनेसियाको जाकर्ता र वाङ्डुङमा हुने नास्प वार्षिकोत्सवमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुहुने

इनेप्लिज २०७२ वैशाख ६ गते १४:५३ मा प्रकाशित

Sushil Koirala_20140301085610_20140302034240काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकर्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सवमा भागलिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै भोली अपराह्न त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

‘‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ बार्षिकोत्सव वाङ्डुङ शहरमा वैशाख ११ गते आयोजना हुनेछ ।

नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै सक्रिय रुपमा भाग लिँदै आएको छ । यसै सम्मेलनले जन्मदिएको पञ्चशीलको सिद्धान्तले विश्वमा शीतयुद्धको अन्त्य गरिदिइ शान्ति, समृद्धि, सहअस्तित्व र असंलग्नतामा नयाँ उचाइ थप गरेका कारण वाङ्डुङ सम्मेलनलाई ऐतिहासिक सम्मेलनका रुपमा लिइन्छ । एसिया र अफ्रिका महादेशका बीचको आपसी सम्बन्ध थप विस्तार एवम् अभिवृद्धिका लागि सम्मेलनले सेतुका रुपमा काम गरेको थियो ।

सम्मेलनअन्तर्गत मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार र सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास बैरागी वैशाख ४ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

सम्मेलनअन्तर्गत वरिष्ठ अधिकारीहरुको बैठक आजदेखि जाकर्तामा सुरु भएको छ । सो बैठकमा परराष्ट्र मन्त्रालयका कामु सचिव बैरागी र सहसचिव एवम् प्रवक्ता ताराप्रसाद पोखरेलले भाग लिइरहनुभएको छ ।

सो बैठकले छलफल गरी अनुमोदन गरेका कार्यसूची (एजेण्डा ) माथि भोलिदेखि नै सुरु हुने मन्त्रिस्तरीय बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

सो मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट मन्त्री पाण्डेले भाग लिनुहुनेछ । ती दुवै बैठकका कार्यसूचिमा खासगरी विकासोन्मुख देशले भोग्नुपरेका समस्या, प्राकृतिक विपद, आतङ्कवाद, जलवायु परिवर्तन, दिगो आर्थिक एवम् सामाजिक विकास, गरिबी निवारण, सहस्राब्दी विकास लक्ष्य, महिला सशक्तिकरणलगायत बुँदा रहेका परराष्ट्र मन्त्री पाण्डेले जानकारी दिनुभयो ।

समारोहमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहनेछ । एसियाली तथा अफ्रिकी मुलुकबीच साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्य ती दुवै सम्मेलनले राखेका छन् ।

दक्षिण–दक्षिण सहयोग सबलीकरण गरी सामूहिक चुनौती समाधान गर्न छलफलको अवसरको रुपमा सम्मेलनलाई लिइएको छ ।
ती दुवै सम्मेलनमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्रा डा करविरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायतको सहभागिता रहनेछ ।

यही वैशाख ९ र १० गते राष्ट्र तथा सरकार प्रमुखहरुको सम्मेलन आयोजना हुने कार्यक्रम तय भएकोे छ । पहिलो दिन सम्मेलनको शुभारम्भ सम्बोधन इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्नुहुनेछ भने सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । साथै सम्मेलनमा सहभागी अन्य राष्ट्र तथा सरकार प्रमुखहरुले सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ । सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आउनु भएका राष्ट्र तथा सरकार प्रमुखहरुसंग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

यसैगरी, प्रधानमन्त्री कोइरालाले इन्डोनेसियाका राष्ट्रपतिले दिनुहुने रात्रिभोजमा पनि सरिक हुुनुहुनेछ । प्रधानमन्त्री कोइरालाले वैशाख १० गते सम्पन्न हुने सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सो दिन पनि प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आउनु भएका आफ्ना समकक्षीहरुसंग भेटघाट गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एसियाली अफ्रिकी सम्मेलनको ६० औैँ वार्षिकोत्सव वैशाख ११ गते बाङडुङ शहरमा आयोजना हुनेछ । सो सम्मेलनमा प्रधानमन्त्री कोइरालाले भाग लिनुहुने कार्यक्रम रहेको छ । सम्मेलनको वार्षिकोत्सवमा तीन प्रमुख दस्तावेज– बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्य राखिएको छ ।

एसियाली अफ्रिकी देशहरुको भौगोलिक ऐक्यबद्धता, आफ्नो अखण्डता र स्वाधिनता सुदृढ तथा परस्पर सहयोगबाट शान्ति र समृद्धिको पथमा अग्रसर हुन चाहने एसियाली अफ्रिकी देशहरु बर्मा (म्यान्मार), सिलोन (श्रीलंका), भारत, इण्डोनेसिया र पाकिस्तान गरी पाँचदेशले संयुक्त रुपमा सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म इण्डोनेसियाको बाङडुङमा सम्मेलन आह्वान गरेका थिए । सो सम्मेलनले नै दसबुँदे घोषणापत्र जारी गरेको थियो ।

वाङडुङ सम्मेलन आयोजना भएको ५० वर्षपछि इण्डोनेसियाले नै एसियाली–अफ्रिकी सम्मेलनको स्वर्णमहोत्सव स्मृतिसभा आयोजना गरेको थियो । सन् २००५ को अप्रिल २२–२४ मा आयोजना भएको उक्त स्मृतिसभाले ‘नयाँ एसियाली अफ्रिकी रणनीतिक साझेदारी’ (नास्प) सिर्जना गरेको थियो ।

प्रतिक्रिया