शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०२:५६
वासिङटन डिसी 16:11

बहुमतको आधारमा जारी हुने संविधान लागू हुन सक्दैन: प्रवक्ता शर्मा

इनेप्लिज २०७२ वैशाख ५ गते १५:१९ मा प्रकाशित

dinanathकाठमाडौँ, ५ वैशाख । एकीकृत नेकपा (माओवादी) ले बहुमतको आधारमा जारी हुने संविधान टिकाउ नहुने टिप्पणी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता दीनानाथ शर्माले संविधान सहमतिका आधारमा निर्माण हुने गरेको विश्व इतिहास रहेको उल्लेख गर्दै बहुमतको आधारमा जारी हुने संविधानले मुलुकको समस्या हल नगर्ने बताउनुभयो ।

बहुमतका आधारमा संविधान जारी त हुन सक्ने उल्लेख गर्दै प्रवक्ता शर्माले संविधान घोषणा भएको भोलिपल्टदेखि आउने प्रतिक्रिया सरकारले थेग्न नसक्ने बताउनुभयो ।

उहाँले बहुमत भएको ठूला दलले नै अहिलेको गतिरोधबाट निकास दिनुपर्ने उल्लेख गर्दै विगतमा आन्दोलनका उपलब्धि गुम्ने अवस्था आए आन्दोलनको विकल्प नहुने तर्क गर्नुभयो ।

प्रवक्ता शर्माले सङ्क्रमणकालीन राजनीतिमा न्यायालयले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने त्यस्तो नगरी विस्तृत शान्ति सम्झौताको मर्म विपरीत उभिएको र द्वन्द्व भड्काउन खोजेको आरोप लगाउनुभयो ।

एमाओवादी नेतृत्वको तीसदलीय मोर्चा सङ्घीय संविधान निर्माणमा एकताबद्ध भएकाले नटुट्ने उहाँको धारणा थियो । उहाँले आन्दोलनको समीक्षा गरेर अझ एकताबद्ध हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चामा बस्ने नबस्ने स्वतन्त्रता सम्बन्धित दलहरूमा भएकाले केही छुट्टिए पनि समस्या पर्नेछैन ।”

जनताको समस्यामा सरकार गम्भीर भएन

फरक प्रसङ्गमा प्रवक्ता शर्माले वर्तमान सरकार जनताका स्वास्थ्यमा गम्भीर नभएको आरोप लगाउनुभयो । जाजरकोटमा मौसमी फ्लूका कारण जनता पीडित भएपनि सरकारले उपचारको लागि कुनै पनि पहल नगरेको र अकालमा मृत्युवरण गर्न बाध्य भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया