आइतबार, मंसिर १४ २०७७
काठमाडौं २१:५८
वासिङटन डिसी 11:13

मातातीर्थ औँशीको महत्व

इनेप्लिज २०७२ वैशाख ५ गते १२:३८ मा प्रकाशित

Ma-2-335x217आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँशी । आफूलाई जन्म दिने आमाको मुख हेर्ने अर्थात् आमाको मुखमा सुख कि दुःख आशा छ कि निराशा भनेर बुझ्ने दिन । भनिन्छ, अनुभवी र ज्ञानी मानिसले मानिसको मुखै हरेर स्वभाव, चरित्र र मनस्थिति बुझ्न सक्छन् । मनको दुःख अनुहारमा आउँछ नै । एउटा सन्तानले आमाको मुख हेर्नुको अर्थ आमाको मुहारमा दुःखका रेखा पर्न नदिनका लागि हो । आमाको मुहारमा सधैँ खुसी छावोस् भन्नका लागि हो । मातातीर्थ औँशी आमालाई सम्झने औँशी हो । हिउँद–बर्खा, काम–पेसाले गर्दा सधैँ आमाको पाउमा शिर राख्ने फुर्सद नहोला, तर राख्नै पर्ने हुन्छ । किनभने, सन्तानले आमाको सम्मान, सुरक्षा र रक्षा गर्दैन भने कसले गर्ने ? त्यसैले सन्तानले एउटा पर्वकै रुपमा आमालाई पूजा गरोस् भनेरै यो पर्व सुरुवात गरिएको हुन सक्छ । काठमाडौं उपत्यकाको पश्चिम दिशाातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा मातातीर्थ मन्दिर छ । त्यहाँ पुगेर हरेक हिन्दूधर्मावलम्बीले आमालाई सम्झने गर्छन् । मातातीर्थ सम्बन्धमा प्रचलित किंवदन्ती छ । किंवदन्ती भन्छ, भगवान विष्णुको सातौँ अवतारका रुपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यहाँ आइपुगे । यहाँका स्थानीयले अपरिचित र नौलो देखेर राममाथि आक्रमण गरे । राम र स्थानीयबीच घमासान युद्व भयो । युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल भएका थिए । त्यही बेला माता सिताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी भेटिएन । अनि, भगवान रामले गंगामाताको स्तुति गर्न थाले । मन्त्र जपेर जमिन बाण हाने । बाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात दर्शन पाइन् । दर्शन पाउँदा कुण्डमा रहेको ढुंगामा सीताको मूर्ति कोरिन पुग्यो । त्यतिबेला त्यहाँ घना वन थियो । गाई चराउन आएका गोठाला कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । तर, एउटा गोठालोको भने मुखमा हालेको रोटी मुखमा नपरी कुण्ड भएतिर मात्र जान थालेछ । कुण्डम हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ । तर, घर फर्कने बेला गोठालोले आमालाई पनि साथै लिएर जाने इच्छा राखे छ । तर, ती आमाले वर्षेनी वैशाख औँशीका दिन आफ्नो दर्शनका लागि त्यहीँ आउन भनिछन् । त्यसपछि त्यस ठाउँको नाम मातातीर्थ रहन पुगेछ । आजको दिन दिवंगत आमाको सम्झनामा थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुनेहरु भने आजकै दिन मातातीर्थ पुगेर आमालाई सम्झने गर्छन् । स्वस्थानी व्रतकथाअनुसार मातातीर्थमा सतीदेवीको अंग पतन भएर मातृलेश्वर महादेवको उत्पन्न भएको थियो । त्यसैले गर्दा पनि त्यहाँ गएर विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने अनुमान गरिएको छ ।

साभार:रातॊ पाटी

प्रतिक्रिया