शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २२:३९
वासिङटन डिसी 11:54

प्रधानमन्त्री कोइराला इन्डोनेसियाको जाकर्तामा आयोजना हुने नास्प सम्मेलनमा भाग लिन वैशाख ७ गते त्यसतर्फ जानुहुने

इनेप्लिज २०७२ वैशाख ५ गते ६:१० मा प्रकाशित

विष्णु नेपाल

Sushil Koirala_20140301085610_20140302034240काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकर्ता र बाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को १०औँ वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै यही वैशाख ७ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ भने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वार्षिकोत्सव बाङ्डुङ सहरमा वैशाख ११ गते आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै भाग लिँदै आएको छ ।

समारोहमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहने छ । एसियाली तथा अफ्रिकी मुलुकबीच साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्य ती दुवै सम्मेलनले राखेका छन् । दक्षिण–दक्षिण सहयोग सबलीकरण गरी सामूहिक चुनौती समाधान गर्न छलफलको अवसरका रुपमा सम्मेलनलाई लिइएको छ ।

ती दुवै सम्मेलनमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्राडा करविरनाथ योगी, परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार प्रमुख अर्जुनकान्त मैनाली, प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर कार्कीलगायतको सहभागिता रहने छ ।

सम्मेलनअन्तर्गत वरिष्ठ अधिकारीको बैठक वैशाख ६ गते जाकर्तामा सुरु हुनेछ । सोही बैठक भाग लिन परराष्ट्र मन्त्रालयका सचिव बैरागी र सहसचिव पोखरेल शुक्रबार त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहनुभएका पोखरेलले सम्मेलनमा एसिया र अफ्रिकी देशका बीचको सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझै कसरी बलियो बनाउँदै यस क्षेत्रका शान्ति र समृद्धि ल्याउने भन्ने विषयमा नै छलफल हुने जानकारी दिनुभयो ।

उहाँले नेपाल जस्तो अति कम विकसित एवम् भूपरिवेष्टित देशले भोग्नुपरेका समस्या एवम् एसिया र अफ्रिकी देशका साझा समस्या गरिबी, जलवायु परिवर्तनका असर, प्राकृतिक प्रकोपलगायतक क्षेत्रमा सम्मेलनमा प्राथमिकताका साथ उठाइने जानकारी दिनुभयो ।

यसपछि मन्त्रिस्तरीय बैठक वैशाख ७ गते जाकर्ता सहरमा आयोजना हुनेछ । वरिष्ठ अधिकारी तहमा छलफल भई अनुमोदन भएका विषयवस्तुलाई मन्त्रिस्तरीय बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यस बैठकमा नेपालका तर्फबाट मन्त्री पाण्डेले भाग लिनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पाण्डेले इन्डोनेसियाका आफ्ना समकक्षी एवम् बैठकमा भाग लिन आउनुभएका आफ्ना समकक्षीसित भेटघाट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वैशाख ९ र १० गते राष्ट्र तथा सरकार प्रमुखको सम्मेलन आयोजना हुने कार्यक्रम तय भएकोे छ । पहिला ेदिन सम्मेलनको शुभारम्भ सम्बोधन इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्नुहुनेछ भने सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । साथै सम्मेलनमा सहभागी अन्य राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आउनुभएका राष्ट्र तथा सरकार प्रमुखलाई भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

यसैगरी प्रधानमन्त्री कोइराला इन्डोनेसियाका राष्ट्रपतिले दिनुभएको रात्रिभोजमा सरिक हुुनुहुने छ । यसैगरी प्रधानमन्त्री कोइरालाले वैशाख १० गते सम्पन्न हुने सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन पनि प्रधानमन्त्री कोइरालाले सम्मेलनमा सहभागी हुन आउनुभएका आफ्ना समकक्षीलाई भेटघाट गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी एसियाली अफ्रिकी सम्मेलनको ६०औैँ वार्षिकोत्सव वैशाख ११ गते बाङ्डुङमा सहरमा आयोजना हुनेछ । सो सम्मेलनमा प्रधानमन्त्री कोइरालाको भाग लिनुहुने कार्यक्रम रहेको छ । सम्मेलनको वार्षिकोत्सवमा तीन प्रमुख दस्तावेज– बाङ्डुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनःर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी घोषणापत्र जारी गर्ने लक्ष्य राखिएको छ ।

एसियाली अफ्रिकी देशको भौगोलिक ऐक्यबद्धता, आफ्नो अखण्डता र स्वाधीनता सुदृढ तथा परस्पर सहयोगबाट शान्ति र समृद्धिको पथमा अग्रसर हुन चाहने एसियाली अफ्रिकी देशहरु बर्मा (म्यानमार), सिलोन (श्रीलङ्का), भारत, इण्डोनेसिया र पाकिस्तान गरी पाँच देशले संयुक्तरुपमा सन् १९५५ अप्रिलको १८ देखि २४ सम्म इण्डोनेसियाको बाङ्डुङमा सम्मेलन आह्वान गरेका थिए । सो सम्मेलनले नै दसबुँदे घोषणापत्र जारी गरेको थियो । यसबाट नै पञ्चशील सिद्धान्त एवम् असंलग्न आन्दोलनको सुरुवात भएको थियो ।

बाङ्डुङ सम्मेलन आयोजना भएको ५० वर्षपछि इण्डोनेसियाले नै एसियाली–अफ्रिकी सम्मेलनको स्वर्णमहोत्सव स्मृतिसभा आयोजना गरेको थियो । सन् २००५ को अप्रिल २२–२४ मा आयोजना भएको उक्त स्मृतिसभाले ‘नयाँ एसियाली अफ्रिकी रणनीतिक साझेदारी’ (नास्प) सिर्जना गरेको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै पहिलो एसियाली अफ्रिकी सम्मेलनमा तत्कालीन राजा महेन्द्र, परराष्ट्र अड्डका प्रमुख शोभाजङ्गा थापा, प्रा यदुनाथ खनाल, नरेशमान सिंह र पद्मबहादुर खत्रीले भाग लिनुभएको थियो । नेपालले सो सम्मेलनमा संयुक्त राष्ट्र सङ्घको सदस्यता पाउन बाँकी मुलुकले सदस्यता पाउनुपर्छ, बाङ्डुङ सम्मेलनको घोषणापत्र एवम् आदर्श संयुक्त राष्ट्र सङ्घको वडापत्र र विचारसित मिल्नुपर्छ, पञ्चशीलको सिद्धान्त स्वीकार गर्नुपर्छ र यसैका आधारमा आफ्ना परराष्ट्र नीति हुनुपर्छ जस्ता महत्वपूर्ण विषयलाई उठान गरेको थियो । यसपछिका सम्मेलनमा नेपालले विकासोन्मुख देशले भोग्नुपरेका साझा समस्यालाई उठाउँदै आएको छ ।

बाङ्डुङ सम्मेलनको लगत्तै सन् १९५५ डिसेम्बर १५ का दिन नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको थियो । बाङ्डुङ सम्मेलनको १०औँ वार्षिकोत्सव समारोहमा तत्कालीन युवराज वीरेन्द्र, ३०औँ वार्षिकोत्सवमा परराष्ट्र मन्त्रालयका सल्लाहकार प्रा यदुनाथ खनाल, ४०औँ वार्षिकोत्सवमा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री माधवकुमार नेपाल तथा स्वर्णजयन्ती मनाउँदा तत्कालीन राजा ज्ञानेन्द्रले भाग लिनुभएको थियो ।

प्रतिक्रिया