बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:३२
वासिङटन डिसी 13:47

सहमति हुन नसके नियम र अभ्यासअनुरुप अगाडि बढ्ने: अध्यक्ष नेम्बाङ

इनेप्लिज २०७२ वैशाख ३ गते १४:२८ मा प्रकाशित

Rss_Images_1429183587722_RS-KTM-NSP-3काठमाडौँ, ३ वैशाख । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधान निर्माण गर्न दलहरूबीच सहमति हुन नसकेमा संविधानसभाको नियम र अभ्यासअनुरुप अगाडि बढ्ने बताउनुभएको छ ।

दलहरूबीच सहमति भएमा सोहीअनुसार कार्यतालिका बन्ने र सहमति हुन नसकेमा भिन्न तरिकाले कार्यतालिका बनाएर अगाडि बढ्ने बताउँदै अध्यक्ष नेम्बाङले भन्नुभयो, “कुन मितिमा संविधान बन्छ भन्ने कुराको हिसाब किताब मेरो खल्तिमा राखेको छु ।”

नेपाल सद्भावना पार्टीको रजत जयन्तीका अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेम्बाङले दलहरूलाई धेरै अविश्वास गर्नु ठीक नभएको बताउँदै यही आउने वैशाख ६ गतेसम्म सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी अध्यक्ष अनिलकुमार झाले एकीकृत नेपालभित्र सम्पन्न मधेस र अधिकारसम्पन्न मधेस हुनेपर्नेमा जोड दिँदै मधेसबिनाको नेपाल र नेपालबिनाको मधेसको परिकल्पना हुन नसक्ने बताउनुभयो ।

चियापान कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेपालका लागि भारतीय राजदूत रञ्जीत रे, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण तथा विजयकुमार गच्छदारलगायत संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगपति र व्यापारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया