शान्ति प्रक्रिया र संविधानका बाँकी काम नयाँ वर्षमा सम्पन्न गरिनेः उपप्रम सिंह
काठमाडौं, ३ वैशाख । उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रिया र संविधान निर्माणका बाँकी काम नयाँ वर्ष २०७२ सालमा सम्पन्न गरिने बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय दलित विभागद्वारा पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवनमा आज आयोजित सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नयाँ आउने संविधान दलित, महिला तथा पिछडिएको वर्ग मैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।
वर्तमान सरकारले यसअघिका सरकारबाट गठन गर्न नसकिएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानविन आयोग गठन गरेर देशमा शान्ति प्रक्रियाको स्थायित्वका लागि कामको थालनी गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “यी आयोगहरूले आफ्नो काम सफलतापूर्वक सम्पन्न गरी देशको दिगो शान्ति प्रक्रियालाई सफल बनाउने छन् । शान्ति प्रक्रियाका अपूरा कामलाई पूरा गरी देशलाई नयाँ संविधान दिनु राष्ट्रको वर्तमान आवश्यकता हो ।”
देशमा नयाँ संविधान जारी गरी विभिन्न चरणका सङ्घर्षका साथै दोस्रो लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत गरिने उल्लेख गर्दै उहाँले संविधान निर्माण प्रक्रियालाई अधिकतम सहमतिका आधारमा निष्कर्षमा पुर्याइने बताउनुभयो ।
उक्त अवसरमा उपप्रधानमन्त्री सिंहले दलित आयोगका तर्फबाट बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य बिजुल विश्वकर्मा, राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपाली र सदस्यहरू कोपिला विक, विकासकुमार रोक्का, उद्योग व्यवसायी हरि सेन्चुरीलगायतलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दलित तथा विपन्न वर्गको समग्र उन्नयनबाट नै लोकतन्त्र बलियो हुन सक्ने बताउनुभयो ।
दलित तथा पिछडिएको वर्गको उत्थान गर्ने किसिमको नयाँ संविधान वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उहाँले नयाँ वर्ष २०७२ साल संविधान वर्षका रुपमा रहनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस केन्द्रीय दलित विभागका प्रमुख जीवन परियारले काँग्रेसले आफ्नो स्थापनाकालदेखि छुवाछूतको अन्त्यका कुरालाई उठाउँदै आएको बताउनुभयो ।
कानुनीरुपमा छुवाछुत अन्त्य भए पनि यसको व्यावहारिक कार्यान्वयन प्रभावकारी हुन नसकेकोमा उहाँको जोड थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपाली, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य विजुल विश्वकर्मालगायतले लोकतान्त्रिक संविधानका माध्यमबाट देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन नयाँ वर्ष सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया