सोमबार, मंसिर १५ २०७७
काठमाडौं ००:५८
वासिङटन डिसी 14:13

न्याय प्रशासनलाई स्वच्छ निष्पक्ष बनाउनुपर्ने प्रधान न्यायाधीश साहको निर्देशन

इनेप्लिज २०७२ वैशाख २ गते १०:४२ मा प्रकाशित

ramkumarजनकपुरधाम, २ वैशाख । प्रधान न्यायाधीश रामकुमारप्रसाद साहले अदालतमा उपलब्ध स्रोतसाधनलाई अधिकतम उपयोग गरी सबै कर्मचारीले अनिवार्य रुपमा सूचना प्रविधिको प्रयोग गरी अदालतलाई ‘पोपुलर कोर्ट’ बनाउनुपर्ने बताउनुभएको छ ।

जिल्ला अदालत धनुषाको आज निरीक्षण गर्ने क्रममा प्रधान न्यायाधीशले समेत अनिवार्य रुपमा सूचना प्रविधिसम्बन्धी ज्ञान लिनुपर्नेमा जोड दिनुभयो । निर्देशनकै क्रममा प्रधान न्यायाधीश साहले सेवाग्राहीलाई बढीमा १५ दिनभित्र मुद्दा फैसलाको प्रतिलिपि अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

न्यायालयलाई स्वच्छ, निष्पक्ष एवम् आम जनताको सहज पहुँचको सम्बन्धमा पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीले जिल्ला अदालतमा कार्यरत न्यायाधीश एवम् स्रेस्तेदारलाई निर्देशन दिँदै अदालतमा कार्यरत कर्मचारीले सामूहिक रुपमा न्याय सम्पादनका क्रममा गर्नुपर्ने काम, सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार एवम् सबैले कम्प्युटरको ज्ञान लिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले जिल्ला अदालतको समग्र मुद्दा लगत र फछ्र्यौटको अवस्था, बिगोतर्फ कैद, जरिवाना असुली मुद्दा दर्ता प्रक्रिया, अभिलेख व्यवस्थापनको अवस्था एवम् पुरानो कामकारबाहीको सम्बन्धमा जानकारी गराउनुभएको थियो । २०७१ चैत मसान्तसम्म जिल्ला अदालत धनुषाले लक्ष्यका आधारमा ९७.४२ प्रतिशत मुद्दाको फछ्र्यौट गरेका छन् ।

गौशाला – यसअघि, प्रधान न्यायाधीश साहले मङ्गलबार साँझ गृह जिल्ला महोत्तरीमा निर्माणाधीन जिल्ला अदालतको अत्याधुनिक सुविधासहितका भवनको स्थगलगत निरीक्षण गर्नुभयो ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–५ मा निर्माणाधीन चार तलाको अत्याधुनिक भवनमा सयभन्दा बढी कोठा बनाइँदैछ । सो भवन अपाङ्गमैत्री, पूर्ण रुपेण वातानुकूलित र अगाडि तथा पछाडि दुवै तिरबाट सेवाग्राही आउनसक्ने व्यवस्थासहितको हुनेछ ।

डाँकेसिद्धबाबा जेभी काठमाडौँले १५ करोड ५५ लाख ९३ हजार रुपैयाँ लागतमा अत्याधुनिक अदालत भवन निर्माण गर्न लागेको हो । ठेकेदार कम्पनीले २०७१ साउन ११ गते सम्झौता गरेको सो भवन निर्माण २०७३ माघ १२ मा सम्पन्न गरिने सम्झौता भएको जिल्ला न्यायाधीश प्रकाश खरेलले बताउनुभयो ।

प्रधान न्यायाधीश साहले अत्याधुनिक अदालत भवनको स्थलगत निरीक्षण गर्नुका साथै महोत्तरी जिल्ला अदालतमा आयोजित एक कार्यक्रमबीच जिल्लाका न्यायक्षेत्रका गतिविधिबारे समेत जानकारी लिनुभई आवश्यक नीति निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया