आइतबार, मंसिर १४ २०७७
काठमाडौं २१:४६
वासिङटन डिसी 11:01

‘मोर्चामा बस्ने, नबस्नेबारे दाहालको भूमिकाले निर्धारण गर्छ’: अध्यक्ष यादव

इनेप्लिज २०७२ वैशाख २ गते १०:१८ मा प्रकाशित

Upendra-Yadavकाठमाडौँ, २ वैशाख । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी एनेकपा (माओवादी)नेतृत्वको मोर्चामा रहने वा नरहने भन्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अबको भूमिकाले निर्धारण गर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष यादवले तीस दलीय मोर्चामा पछिल्लो पटक देखिएको विवादको विषयमा स्पष्ट पार्दै तत्काल अर्को मोर्चा बनाएर जानेभन्दा पनि दाहाल आफ्नो मुद्दामा स्पष्ट हुन जरूरी छ भन्नुभयो ।

“दाहालले यता मधेसवादी दलहरूसँग आन्दोलन गर्नुपर्छ भन्ने अनि उता नेपाली काँग्रेस र नेकपा (एमाले) सँग अर्कै कुरा गर्ने गर्नुहुन्छ, उहाँको यो दोहोरो चरित्रले मोर्चामा विवाद हुँदै आएको हो”, उहाँले भन्नुभयो ।

मधेसी मोर्चाले राख्दै आएको नौ बँुदे प्रस्ताव विपरीत एमाओवादी जान खोजेको खण्डमा आफूहरूले तीस दलीय मोर्चा छोड्ने उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले सङ्घीयतालाई थाती राखेर संविधान जारी गर्नुको सट्टा आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुसलमान तथा सदियौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी सङ्घीय लोकतान्त्रिक संविधान जतिसक्दो चाँडो जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

यही वैशाख ६ गते बस्ने संविधानसभाको बैठकमा सहभागी हुने÷नहुनेबारे वैशाख ५ गते बस्ने मोर्चाको बैठकले निर्णय गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया