शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०८:३५
वासिङटन डिसी 21:50

मन्त्री रिजाल र उहाँका पत्नीले मृत्युपछि शरीरका अंग दान दिने घोषणा

इनेप्लिज २०७२ वैशाख १ गते १४:५२ मा प्रकाशित

minendra-rijal

काठमाडौँ, १ वैशाख । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र उहाँका पत्नी दुर्गा रिजालले शरीरका काम लाग्नेजति अङ्ग दान दिने जानकारी दिनुभएको छ ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य फाउन्डेसनद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित छैठौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको शुभारम्भ गर्दै उहाँहरुले भन्नुभयो – “हामी शरीरका काम लाग्नेजति अङ्ग दान दिन प्रतिबद्ध छौँ ।”

चिकित्सकका अनुसार मृत्युपछि मानव अङ्गहरु खासगरी आँखा, मिर्गाैला, कलेजोलगायतका अङ्ग दोस्रो व्यक्तिलाई काम लाग्न सक्छ । नेपालमा मानव अङ्ग आँखा र मिर्गाैला प्रत्यारोपण कार्य सफलतापूर्वक अगाडि बढिरहेको छ । अङ्ग दानसम्बन्धी ऐन परिमार्जन नहुँदा कलेजो प्रत्यारोपण कार्य हुन सकिरहेको छैन ।

उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मिर्गाैलाका सबै उपचार नेपालमा सम्भव हुन थालेको बताउँदै अब मिर्गाैलाको रोग लाग्न नै नदिन जनचेतनाका कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री सिंह र मन्त्री डा रिजालले चिकित्सक, कलाकार र मिर्गाैला प्रत्यारोपण गरेकाहरुबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो ।

सो प्रतियोगितामा दुवैतर्फबाट चार–चार गोल भएको थियो । प्रतियोगिताको टिम क्याप्टेन मन्त्री डा रिजाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ तथा मिर्गाैला रोग विशेषज्ञ डा पुकार श्रेष्ठ र डा राजेश वर्माले उपकप्तानको नेतृत्व प्रदान गर्नुभएको थियो ।

यसैगरी, ४० वर्षमाथिका पुरुष मिर्गाैला प्रत्यारोपितका बीच सम्पन्न भएका एकसय तथा २०० मिटर दौड प्रतियोगितामा विष्णुलाल श्रेष्ठ, प्रेमरत्न मानन्धर र विनोद श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए ।

यसैगरी, सोही मिटरको ४० वर्षमुनि महिलातर्फ गीता श्रेष्ठ प्रथम, वसन्ती लामा द्वितीय र धनु गुरुङले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

यसैगरी, ब्याडमिन्टनतर्फ प्रेमरत्न मानन्धर, सदाशिव भण्डारी र विष्णुलाल श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने महिलातर्फ वसन्ती लामा र धनु गुरुङले क्रमशः प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए ।

विजयीलाई सचिव शान्तबहादुर श्रेष्ठ र फाउन्डेसनका अध्यक्ष आनीछोइङ डोल्माले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा फाउन्डेसनका सद्भावना दूत एवम् एसियाली खेलकुद प्रतियोगिताका काँस्यपदक विजेता विमला तामाङलाई रु २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया