बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०६:३६
वासिङटन डिसी 19:51

एनआरएनको अन्तिम सार्वजनिक बहस

इनेप्लिज २०७२ वैशाख १ गते ११:२४ मा प्रकाशित

brtnepal_20150413102007_570

टेक्सास,-एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा प्रत्यासी बनेका विभिन्न पदका उम्मेदवारहरुको अन्तिम चुनावी अभियानमा आफ्नो एजेण्डा समुदाय समक्ष प्रस्तुत गरेका छन् । नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले आइतबार डाल्लासमा आयोजना गरेको अन्तकृया कार्यक्रममा सहभागीहरुले आ-आफ्नो एजेण्डा, समुदायको आवश्यकता र एनआरएनको भूमिका लगायतका विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए ।

नेजाका अध्यक्ष गौतम दाहालको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन सदस्यहरूको व्यक्तिगत विवरण सार्वजनिक भएको भन्दै उम्मेदवारहरुले यस विषयमा सम्बन्धित पक्षसँग स्पष्ट जानकारी दिलाउन पहल गर्ने समेत बताएका थिए । एनआरएन अमेरिकाका १०,७७३ मतदाताको नामावली र व्यक्तिगत विवरणको सूचना चुहिएको भन्दै कानुन विपरीतको काम भएको उम्मेदवारहरुको आरोप छ । यसरी आपत्ति प्रकट गर्नेहरुमा अध्यक्षका प्रत्यासी दुर्गा दाहाल, डा. केशव पौडेल र नगेन्द्र पौडेल रहेका थिए । यसैगरी टेक्सास च्याप्टरका अध्यक्षका प्रत्यासी दिनेश शर्माले पनि यसप्रति गम्भीर आपत्ति जनाउनु भएको थियो ।

अन्तर्कृया कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्षका उम्मेदवार दुर्गा दाहालले एनआरएन अमेरिकामा युवाहरूको सहभागिता,भाषा र संस्कृतिको जगेर्ना गर्दै सबै तप्का र समूहका नागरिकहरुलाई एकतावद्ध गर्ने आफनो चाहना रहेको बताउनु भयो । दाहालको भनाई थियो– स्वयंसेवी संस्था भएको कारणले राजनीतिक वाद र प्रतिवाद भन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राख्नु भयो । दाहालको भनाई थियो–यसलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने,एनआरएन बैङ्क र अस्पतालको स्थापना गर्ने अवधारणाले काम गर्ने मेरो चाहना रहेको छ । यसैगरी दाहालले वित्तीय नीति बनाउनका लागि आवश्यक गृहकार्य गर्नुपर्ने बताउनु भयो ।

यसैगरी अर्का वक्ता तथा अध्यक्षका उम्मेदवार डा. केशव पौडेलले एनआरएन अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको बृहत्तर हितको लागि र एकतावद्ध एनआरएनको खाँचो रहेको भन्दै आफू त्यसको निम्ति क्रियाशील रहने बताउनु भयो । पौडेलको भनाई थियो –म जन्मभूमि र कर्मभूमिको बिचमा सेतुको काम गर्नेछु । पौडेलले अमेरिकामा सांस्कृतिक र सामाजिक आदानप्रदान गर्नेतर्फ केन्द्रित हुने बताउँदै नेपाली भाषालाई मान्यता दिलाउन पहल गर्ने बताउनु भयो । पौडेलको भनाई थियो – राजनीति र समाजसेवा एक सिक्काका दुई पाटा हुन, तर सामाजिक संस्थामा दलीय पक्षको हाबी हुनुहुन्न भन्ने मेरो मान्यता हो ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार नगेन्द्र पौडेलले नेपालीहरूको अवसर खोजी गर्ने सिलसिलामा नीतिगत तहमा लविङ्ग गर्ने आफ्नो सोच रहेको बताउनुभयो । सीप र क्षमताको रूपान्तरण गर्दै नेपाली समुदायको हितको लागि काम गर्नेछु पौडेलले भन्नुभयो– तथ्याङ्क विना ठोस काम गर्न चुनौती पूर्ण छ । एनआरएनको च्याप्टर मार्फत स्थानीय संघसंस्था समेतको सहभागितामा डाटावेस तयार पार्नेछु । पौडेलको भनाई थियो – स्पष्ट डाटावेस भएपछि सामूहिक लगानी र क्षमताको वृहत्तर सदुपयोग गर्न सकिन्छ । सामाजिक संस्थामा राजनीति हाबी नहुने भन्दै पौडेलले लगानी मैत्री नीति बनाउन पहल गर्ने बताउनु भयो ।

NEajainteraction3

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका सल्लाहकार अञ्जन श्रेष्ठले नेपालीहरूलाई एकतावद्ध बनाउन, मातृभूमिमा अधिकार सुनिश्चित गर्न र अमेरिकामा पाइने लाभको विषयमा केन्द्रित रहेर एनआरएनले काम गर्दै आएको स्पष्ट पार्नु भयो । कार्यक्रममा एनआरएन आईसीसी सदस्य पदमा उम्मेदवारी दिनु भएका सुनील शाहले नेपालीहरूको अधिकार रक्षार्थ पहल गर्ने र एनसीसी र आइसीसीका बिच समन्वय गरेर काम गर्ने आफ्नो सोच रहेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्ण पोखे्रेलले प्रवासी भूमिमा अवसरको खोजी गर्ने र मातृभूमिमा नेपालीत्वको भावना हुने खालको नीतिगत व्यवस्थामा आफ्नो विश्वास रहेको बताउनु भयो । यस्तै वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार शिव विष्टले एनआरएन अमेरिकामा प्रतिनिधिमूलक सहभागिता गराउन उम्मेदवारी दिएको बताउनु भयो ।

उपाध्यक्ष पदका उम्मेदवार रामसी पोख्रेलले स्थानीय संघसंस्थासँग सहकार्य गर्दै सबैको साझा संस्थाको रूपमा एनआरएनलाई अगाडि बढाउने धारणा राख्नु भयो । उहाँले टेक्सासमा कन्सुलेटको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गर्ने समेत आफ्नो योजना रहेको बताउनु भयो । अर्का उपाध्यक्षका उम्मेदवार डिल्ली भट्टराईले नयाँ पुस्ताको चुनौतीलाई सम्बोधन गर्ने र एनआरएन मार्केट प्लेस खोजी गर्ने धारणा राख्नु भयो । यसैगरी उपाध्यक्षका अर्का प्रत्यासी गोपेन्द्र भट्टराईले नयाँ पुस्तालाई आफ्नो भाषा,संस्कृतिका बारे जानकारी गराउन एनआरएनमार्फत आफूले पहल गर्ने बताउनुभयो ।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका स्थानीय वेद बस्नेतले आफू एनआरएनले घोषित गरेका नागरिकताको निरन्तरता, दोहोरो कर प्रणालीको अन्त्यमा केन्द्रित रहेको बताउनु भयो । बस्नेतले आर्थिक पारदर्शिता नै आफ्नो एजेण्डा भएको स्पष्ट पार्नुभयो ।

सचिवका उम्मेदवार नेत्र पाण्डेले एनआरएनको माध्यमबाट नेपाल र अमेरिकामा अवसर र लगानीको खोजी गर्ने बताउनु भयो । सहसचिव पदकी उम्मेदवार पुष्पलता भण्डारीले आफू एनआरएनलाई सामाजिक रूपमा नेपालीहरूको समन्वय गर्दै अवसर खोज्न लागिपर्ने बताउनु भयो । बोर्ड सदस्यका उम्मेदवार विनोद त्रिपाठीले एनआरएनमा बसेर सामाजिक सेवामा समर्पित हुने चाहना रहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रमका संयोजक एवं सोही क्षेत्रका क्षेत्रीय संयोजक विकासराज न्यौपानेले एनआरएनका सहभागी उम्मेदवारहरुलाई सहभागी गराएर डाल्लासमा यस किसिमको पहिलो कार्यक्रम गरेको भन्दै सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेजाका कार्यकारी सदस्य श्रीकृष्ण गौतम र सक्रिय सदस्य केदार तिमिल्सिनाको सक्रिय सहभागिता थियो ।

नेजाका सदस्य सुरेशचन्द्र पोख्रेलले सञ्चालन गर्नु भएको कार्यक्रममा नेजाका सल्लाहकार तथा वरिष्ठ पत्रकार तारा वरालले एनआरएनको कार्ययोजनाले समुदायमा आईपर्ने समस्याहरूको निराकरण गर्दै अमेरिकामा सम्भावनाको खोजी गर्न आग्रह गर्नु भयो । वरालले भन्नुभयो–हामीले अमेरिकामा मजबुत आधारशिला बनाउन सकेको खण्डमा नेपाल सरकारले प्रदान गर्ने सुविधाको बारेमा थप लविङ्ग गर्न सकिन्छ ।

कार्यक्रममा स्थानीय व्यक्तित्वहरुको सहयोगमा नेजाले सहभागीहरुलाई रात्रीभोज गराएको थियो । रात्रीभोजलाई स्थानीय समुदायका सामाजिक अभियन्ता एवं व्यवसायीहरु हरिवोल भण्डारी, कपिल अधिकारी, अमृत सापकोटा, रमेश सापकोटा, भरत अर्याल, कृष्ण लामिछाने, गौरी जोशी र विकास राज न्यौपानेले सहयोग गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा स्थानीय समुदायका प्रतिनिधि अतिथि वक्ताहरुले नेजाले समुदायको जल्दोबल्दो विषयलाई आफुहरुको सहरमा ल्याएर उम्मेदवारहरुसँग प्रत्यक्ष सवालजवाफ गराउने सह्राहनीय कार्य गरेको भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । यसरी शुभकामना व्यक्त गर्नेहरुमा नेपाली जनसम्पर्क समिति वेष्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिवोल भण्डारी,डालास च्याप्टरका अध्यक्ष ज्ञानेन्द्रराज कार्की,नेपलिज् सोसाइटी अफ टेक्सासका अध्यक्ष भुवन आचार्य,डालास एभरेष्ट लाईन्स क्लबका अध्यक्ष खेम वाँस्तोला, प्रवासी नेपाली मञ्चका सचिव कोमल ओझा,ईन्द्रेणाी सांस्कृतिक सङ्घका अध्यक्ष नेत्र पाण्डे र युनाईटेड नेवा युएसएका तर्फबाट मकर वज्राचार्य हुनुहुन्थ्यो ।

यसअघि स्थानीय नेप्लीज सोसाईटी अफ टेक्सासले स्थानीय च्याप्टरका उम्मेदवारहरुसँग अन्तर्कृया समेत गराएको थियो । समाजका अध्यक्ष भुवन आचार्यको सभापतित्वमा सम्पन्न च्याप्टर उम्मेदवारहरुसँगको अन्तरसम्वाद कार्यक्रममा नेजाका अध्यक्ष गौतम दाहाल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । समाजका तर्फबाट बाल जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा च्याप्टर उम्मेदवारहरुले आफ्नो धारणा राखेका थिए । यसरी धारणा राख्नु हुनेहरुमा टेक्सास राज्य च्याप्टरको लागि अध्यक्षमा उम्मेदवारी दिनु भएका दिनेश शर्माले एनआरएनको सदस्यहरूको व्यक्तिगत विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भएको थियो । शर्माका भनाई थियो,एनआरएनको ईकाईको धारणाले स्थानीय संस्थालाई प्रतिस्थापन नगर्ने र यसले समन्वयको काम गर्ने मेरो विश्वास छ । साथै ऊर्जाको क्षेत्रमा काम गर्ने र स्थानीय समुदायमा स्थानीय यातायातको सर्वसुलभको लागि पहल गर्ने बताउनु भयो ।

अर्का प्रत्यासी उत्तम लामिछानेले एनआरएनमा राजीतिक धु्रवीकरण रोक्ने, स्थानीय सङ्घ संस्थासँग सहकार्य गर्ने ,भाषा कक्षा सञ्चालन गर्ने र जनमानसमा एनआरएनप्रति विश्वास सृजना गर्ने बताउनु भयो । कार्यक्रममा उपाध्यक्षका उम्मेदवारहरु प्रदीप तिमिल्सिना र सन्तोष विष्टले पनि आ आफनो मन्तव्य राख्नु भएकोथियो ।

neajainteraction5

प्रतिक्रिया